नौ वर्षमा ३९ मानिस र ११ हात्तीको मृत्यु

|

भद्रपुर (झापा) : भारतीय सीमावर्ती नाकासँग जोडिएका झापाका विभिन्न स्थानका नागरिकले जंगली हात्तीको आक्रमणबाट जन तथा धनको क्षति ब्यहोर्दै आएका छन्। यस्ता क्षति कम गर्न उनीहरुले घर तथा बालीनाली लगाइएको ठाउँमा विद्युतीय बार (विद्युत छाडिएको नाङ्गो तार) राख्दै आएका छन्।

नेपालको प्रचलित कानुनले विद्युतीय बार राख्न गैरकानुनी भएको बताउँछ। तर, यस क्षेत्रमा डिभिजन वन कार्यालय, प्रहरी, प्रशासन र विद्युतीय प्राधिकरणको स्वीकृतबिना हात्ती प्रभावित क्षेत्रका बासिन्दाले विद्युतीय बार लगाउँदै आएका छन्। यसमा सम्बन्धित निकायले पनि चासो देखाएको छैन। 

सुरक्षाका लागि यसरी राखिएका विद्युतीय बार नै उनीहरुको काल बन्दै आएको छ। यस्ता बारमा परी जंगली हात्ती मात्र होइन मान्छेले नै ज्यान गुमाउँदै आएका छन्। 

विद्युतीय बारमा परी हात्ती र मान्छेले ज्यान गुमाएका केही घटना विवरण 

घटना १ :  २०७६ साउन ३१ मा जंगली हात्ती नियन्त्रणमा लागि घर वरिपरि लगाइएको विद्युतीय बारमा परी पूर्वी झापाको मेचीनगर नगरपालिका–९ माथिल्लो मागुरमाडीका ६० वर्षीय गङ्गा थपलियाले ज्यान गयो। आफ्नै घरपछाडि खेतमा जंगली हात्ती नियन्त्रणका लागि लगाइएको विद्युतीय बारमा थपलियालाई करेन्ट लागेको थियो।

करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थपलिया परिवारले घर वरिपरि विद्युतीय बार लगाउन सम्बन्धित निकायबाट स्वीकृति लिएका थिएनन्।

घटना २ : २०७६ असार १४ मा हल्दिबारी–३ रनकाली सामुदायिक वनमा राखिएको विद्युतीय बारमा परी करिब तीन हात्ती मर्‍यो।

हुलाकी राजमार्गसँगै जोडिएको साबिक दक्षिणी झापाको जलथल गाविस–१ पर्ने रनकाली सामुदायिक वन उपभोक्ता समूहले जङ्गल नजिकैको बस्तीमा दिनहुँ रैथाने जंगली हात्ती निस्किन थालेपछि त्यसबाट बच्न वन वरिपरि आठअघि विद्युतीय तरबारको रूपमा अर्थिन करेन्ट लगाउँदै आइरहेको समूहका सदस्य योगेन्द्र लिम्बुले जानकारी दिए।

‘करेन्ट लगाउँदा जङ्गल नजिकैको बस्ती सुरक्षित छ, उनले भने, ‘त्यही भएर वनमा साँझ परेपछि अर्थिन करेन्ट लगाउँदै आएको छौं। तर, रनकाली सामुदायिक वनले विद्युतीय धराप लगाउन अनुमति लिएको छैन। अहिले पनि वनमा विद्युतीय धराप लगाएको स्थानीय बताउँछन्। त्यस क्षेत्रमा रहेका अधिकांश वनमा विद्युतीय धराप लगाइएको छ। 

घटना ३ : २०७५ कात्तिक ९ मा जंगली हात्तीबाट आजित भएपछि राखिएको विद्युतीय बारमा परी उत्तरी झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडाकी २५ वर्षीया अनु लिम्बूको मृत्यु भएको थियो। उनलाई उद्धार गर्न जाने अर्को एक महिला समेत घाइते भएकी थिइन्।
 
अनुका श्रीमान् भक्तबहादुर सेर्मा लिम्बूले घर वरीपरी विद्युतीय बार राखेका थिए। घरबाट बाहिर निस्किएकी अनुको सोही बारमा परी करेन्ट लागी मृत्यु भएको थियो। सोही घटनामा अनुकी बहिनी सुस्मिता पनि करेन्ट लागेर घाइते भएकी थिइन्। उनको स्वास्थ्यमा सुधार आएको प्रहरी कार्यालय झापाले जनाएको छ।

घटना ४ : २०७५ भदौ ६ मा झापाको पूर्व–उत्तरमा रहेको मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको विद्युतीय बारमै परी मृत्यु भयो। बाहुनडाँगीमा जंगली हात्ती निस्किएपछि हात्ती धपाउन जाँदा हात्ती नियन्त्रणका लागि थापिएको विद्युतीय बारमा उनलाई करेन्ट लागेको थियो। 

घटना ५ : २०७४ असोज ९ मा विद्युतीय बारमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिका–१० का ७१ वर्षीय डम्बरबहादुर लिम्बुको ज्यान गयो। जंगली हात्ती रोक्न घर वरिपरि लगाइएको विद्युतीय बारमा करेन्ट लागेर घाइते भएका लिम्बुको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

घटना ६ : २०७४ चैत १७ मा घर वरिपरि लगाइएको विद्युतीय बारमा परी हल्दिबारी गाउँपालिका–३ की ६० बर्षीया छविमाया खड्काको पनि मृत्यु भयो। 

घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी कार्यालय झापाले जनाएको छ। 

घटना ७ : २०७२ असोज १४ मा जंगली हात्ती धपाउने क्रममा करेन्ट लाग्दा बाह्रदशी गाउँपालिका साबिक राजगढ–३ बुट्टाबारीका ५७ वर्षीय कृष्ण नेम्बाङको मृत्यु भयो। 

गाउँमा जंगली हात्ती पसेको थाहा पाएपछि नेम्बाङले हात्ती धपाउन विद्युतीय साइरन बजाउँदा करेन्ट लागेर घाइते भएका थिए। नेम्बाङको मनमोहन अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो।

घटना ८ : २०७० असार २१ मा विद्युतीय बारमा परी झापा र इलामको सीमामा पर्ने इरौटार–८ का टीकाराम रिजालको घर नजिकै खेतमा पोथी हात्ती मर्‍यो। 

भारतबाट आउने हात्ती र रैथाने हात्तीबाट बच्न विद्युतीय बार लगाउने गरिन्छ। 

विद्युतीय बार राख्न कानुनीविपरीत

जंगली हात्तीबाट बच्न सामुदायिक वन र घर वरिपरि विद्युतीय बार लगाउन नपाइने डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउँछन्। नेपालको प्रचलित कानुनअनुसार हात्ती नियन्त्रणको नाममा तारमा करेन्ट प्रवाह गर्ने अधिकार कसैलाई नरहेको घिमिरे बताउँछन्।

‘विद्युतीय बार नराख्न सामुदायिक वन र त्यस आसपास क्षेत्रका बासिन्दालाई जानकारी गराइसकेका छौं,’ प्रमुख घिमिरेले भने, ‘त्यही पनि उनीहरूले कानुनलाई हातमा लिएर विद्युतीय बार राखेको सूचना पाएका छौं।’

उनले यस विषयमा प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखहरूको मासिक बैठकमा समेत कुरा राखिसकेको तर विद्युतीय बार राख्ने क्रम नियन्त्रण हुन नसकेको उनको भनाइ छ। विद्युतीय बार मानव र जंगली हात्ती दुवैको लागि ुकालु भएको घिमिरे बताउँछन्।

‘प्रहरी र विद्युत प्राधिकरणलाई बार राख्ने कामलाई नियन्त्रण गर्न डिभिजन वनले पत्राचार गरिसकेको छ,’ उनले भने, ‘सम्बन्धित निकायले नै चासो नदेखाएपछि कसरी नियन्त्रण हुन्छ? अहिले हात्ती नियन्त्रणका लागि जलथलमा सौर्य विद्युतीय तारबार जडान कार्य भइरहेको छ, त्यो सञ्चालनमा आएपछि वनमा लगाइएको विद्युतीय धराप हटाइने योजना नै हो।’

मानव र हात्ती दुवैको क्षति

२०६७ सालदेखि अहिलेसम्म विद्युतीय बारमा परी ३९ जना मानिस र छावासहित ११ वटा जंगली हात्तीको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका विष्णुलाल घिमिरेले जानकारी दिए। 

कार्यालंयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६८/६९ मा जंगली हात्तीको आक्रमणबाट झापामा नौ जनाको मृत्यु, १० जना सख्त घाइते र चार जना सामान्य घाइते भएका छन्। त्यस वर्ष सरकारले जिल्लामा १८ लाख ३० हजार १६० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको थियो।

आर्थिक वर्ष २०६९/७० मा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु, पाँच जना सख्त घाइते, १४ जनाको घरगोठमा क्षति, ३३ जनाको घर गोठ अन्नबालीमा क्षति भएको थियो। त्यसबापत २५ लाख ४ हजार २ सय २२ रुपैयाँ क्षतिपूर्ति दिइएको छ। आर्थिक वर्ष २०७०/७१ मा हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु, एक जना सख्त घाइते, दुई जना सामान्य घाइते, चौपाया क्षति एक, दुई जनाको घरगोठमा क्षति, ४८ जनाको घर गोठ अन्नबालीमा क्षति भएको थियो। त्यसबापत १८ लाख ५३ हजार ७ सय रुपैयाँ क्षतिपूर्ति दिइएको छ।

यस्तै, आर्थिक वर्ष २०७१/७२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, ६जना सख्त घाइते, १३ जनाको घरगोठमा क्षति, २६४ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो। त्यसबापत ३७ लाख ४ हजार ९ सय २७ रुपैयाँ क्षतिपूर्ति दिइएको छ। आर्थिक वर्ष २०७२/७३ मा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु, एक जना सख्त र एक जना सामान्य घाइते, १७ जनाको घरगोठमा क्षति, ८९४ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो। त्यसबापत ९५ लाख ९६ हजार २१० रुपैयाँ क्षतिपूर्ति दिइएको छ। 

आर्थिक वर्ष २०७३/७४ मा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु, आठ जना सख्त घाइते, दुई जना सामान्य घाइते, आठ जनाको घरगोठमा क्षति, ४९ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो। त्यसबापत ३९ लाख ९४ हजार २०५ रुपैयाँ क्षतिपूर्ति दिइएको छ। त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु, चार जना सख्त घाइते, तीनजना सामान्य घाइते, १० जनाको चौयापा क्षति, ८० जनाको घरगोठमा क्षति, १६७ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो। त्यसबापत ८० लाख ८९ हजार १ सय ९० रुपैयाँ क्षतिपूर्ति दिइएको छ। 

यसरी नै आर्थिक वर्ष २०७५/७६ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना सख्त घाइते, एक जनाको चौपाया क्षति, १४ जनाको घरगोठमा क्षति, ५२९ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो। त्यसबापत ६५ लाख १४ हजार २१३ रुपैयाँ क्षतिपूर्ति दिइएको डिभिजन वन कार्यालय झापाका अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए।  

हात्तीको उपद्रो रोक्न सौर्य तारबार

प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत डा. मनिषराज पाण्डे मानव र जंगली हात्तीबीचको द्वन्द्व रोक्न सौर्य विद्युतीय तारबार प्रभावकारी उपाय भएको बताउँछन्। केही वर्षअघि पूर्वी नाका काँकडभिट्टादेखि बाहुनडाँगीसम्म जडान गरिएको सौर्य विद्युतीय तारबारका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्ती नियन्त्रण भएको छ। 

झापामा रहेका एक दर्जन रैथाने हात्ती नियन्त्रणका लागि दक्षिणी झापाको जलथलको जङ्गलमा सौर्य विद्युतीय तारबार जडानको काम धमाधम भइरहेको छ। आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको विद्युतीय तारबारको काम ललितपुरको न्यु क्रिएशन इम्पेक्स प्रालिले चार करोड ७४ लाख रुपैयाँमा ठेक्का लिएको हो।

न्यु क्रिएशन इम्पेक्सले भारतको फेन्ज गार्ड नामक कम्पनीसँगको सहकार्यमा गत असारको दोस्रो साताबाट तारबारको काम सुरु गरेको छ। तारबार जडानका लागि निर्माण कम्पनीले भारतबाट चार जना प्राविधिक ल्याएको छ।

‘जङ्गल वरिपरि धमाधम सोलार फेन्सिङ लगाइँदैछ,’ न्यु क्रिएशन इम्पेक्सका निर्देशक विजय श्रेष्ठले भने, ‘४५ देखि ६० डिग्रीमा ढल्काएर हामी तारबार राख्छौँ।’ जङ्गल वरिपरि ४० किलोमिटर तारबार जडान गरिँदैछ, त्यसमध्ये २५ किलोमिटर तारबारको काम सकिसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए। आवतजावत गर्नका लागि विभिन्न स्थानमा ३० वटा गेटसमेत बनाइनेछ। ६ फिट अग्लो पिलरमा तीन वटा तार जडान गरिन्छ। १५ मिटरको फरकमा पिलर राखिनेछ। 

सौर्य विद्युतीय तारबारले मान्छेलाई करेन्ट नलाग्ने तर हात्तीलाई भने दुई मिटर पर नै झड्का दिने बताइएको छ। तीन वटा तारमा आठ हजार भोल्टेज करेन्ट प्रवाह हुनेछ। जलथल जङ्गल जैविक विविधताका हिसाबले दक्षिण एसियाकै उत्कृष्ट जङ्गलमा पर्छ। ६ हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गललाई २२ वटा सामुदायिक वन उपभोक्ता समूहको जिम्मामा दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.