|
फाइल फाेटाे

काठमाडौं : उद्योगी व्यवसायीका साथै संसदका प्रतिपक्ष दल र विज्ञहरूले मात्रै नभई सत्तारूढ दलका प्रतिनिधिहरूले आर्थिक अवस्था कमजोर भएको, अपेक्षित सुधार नभएको, सरकारले आवश्‍यक कदम चाल्न नसेकको वा व्यावसायिक वातावरण सिर्जना हुन नसकेको विषय दोहोर्‍याउन थालेपछि अर्थमन्त्री डा. युवराज खतिडाले आश्‍चर्य प्रकट गरेका छन्।

उनले आयातदर घटेको सन्दर्भ, निर्यातदर बढेको सन्दर्भ, आर्थिक वृद्धि सात प्रतिशत पुगेकोमा, आर्थिक क्रियाकलाप नबढेको तर्क र वातावरण भएन भन्ने तर्क आएको भन्दै आश्‍चर्य प्रकट गरेका हुन्। 

'साथीहरू भन्नुहुन्छ व्यावसयिक वातावरण बिग्रियो कि?  म भन्छु कसरी बिग्रियो' अर्थमन्त्री खतिवडाले भने।  उनले मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा कसरी आर्थिक क्रियाकलाप भएन भन्ने सन्दर्भमा केही प्रश्‍नसमेत तेर्साएका छन्।

१.आयत वृद्धिदर कसरी घट्यो?

अर्थमन्त्री खतिवडाले गत वर्ष आयातको वृद्धिदर घटेको कारणले देशभित्र आर्थिक क्रियाकलाप बढेको र आयात प्रतिस्थापन गर्न सहयोग पुगेको दाबी गरे। '२५ प्रतिशतको आयात वृद्धिदर रहेको थियो, गत वर्ष जम्मा १४ प्रतिशत मात्रै वृद्धिदर भयो' अर्थमन्त्री खतिवडाले भने, 'केही वस्तुको आयात प्रतिस्थापन गरेकै कारण गत घटेको होला'

गत आर्थिक वर्षमा १४ खर्ब १८ अर्ब रुपैयाँ सामान विदेशी बजारबाट आयात भएकोमा १३ खर्ब २१ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा नै देखिन्छ। आर्थिक वर्ष ०७४/७५ को तुलनामा आयातदर १४ प्रतिशत बढी छ।

निर्यातदर कसरी बढ्यो?

अर्थमन्त्री खतिवडाले व्यावसायिक वातावरण नभएको अवस्थामा निर्यात बढ्न नसक्ने तर्क गर्दै गत आर्थिक वर्षमा निर्यात अहिलेसम्मकै बढी भएको र आयातको तुलनामा निर्यातदर एक दशकपछि बढी देखिएको कारण व्यावसायिक वातावरण भएको बताए।

'पछिल्लो एक दशकमा गत आर्थिक वर्षमा आयातको वृद्धिदर भन्दा निर्यातको वृद्धिदर बढी रहेको छ' अर्थमन्त्री खतिवडाले भने, 'आर्थिक वर्ष ०७४/७५ मा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले मात्रै निर्यात बढेको थियो। आर्थिक वर्ष ०७५/७६ मा १९ प्रतिशतको वृद्धिदर भयो यसले व्यावसायिक वातावरण छ भन्ने देखाउँदैन र? 

गत आर्थिक वर्षमा निर्यातबाट सरकारले विदेशी बजार ७७ अर्ब १० करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। पछिल्लो एक दशकदेखि सरकारले एक खर्ब रुपैयाँको सामान विदेशी बजारमा पुर्‍याउने लक्ष्य निर्धारण गरे पनि अहिलेसम्म पूरा गर्न  सकेको छैन।

विज्ञहरू आयात हुने अंकको तुलनामा निर्यात हुने अंक अत्यन्तै न्यून भएको अवस्थामा शतप्रतिशत वृद्धि हुँदासमेत प्रभाव कम देखिने स्थिति रहेको बताउँछन्। 

निजी क्षेत्रमा कर्जा बढ्यो 

गत आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा २१ प्रतिशतले वृद्धि हुनुले व्यावसायिक वातावरण भएको दाबी खतिवडाको छ। उनले यति धेरै कर्जाको माग हुँदा आर्थिक वातावरणको विकास भएको देखिने बताए।
'निजी क्षेत्रतर्फको कर्जाको माग २१ प्रतिशतले बढेको छ, वातावरण भएन भन्ने हो भने निजी क्षेत्रतर्फ कर्जाको उपयोग कहाँ भयो त?' अर्थमन्त्री खतिवडाले भने। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार  निजी क्षेत्रमा प्रवाहित कर्जा १८.२ प्रतिशतले बढेको छ। अघिल्लो  वर्षको सोही अवधिमा यस्तो कर्जा १९.९ प्रतिशतले बढेको थियो।

निजी क्षेत्र  प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा १६.४ प्रतिशतले, विकास बैंकहरूको ३३.४ प्रतिशतले र वित्त कम्पनीहरूको १८ प्रतिशतले बढेको छ । 

२०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। ०७५ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.४ प्रतिशत र १४.७ प्रतिशत रहेको थियो ।
तरलता अभाव कसरी भयो?

अर्थमन्त्री खतिवडाले बैंकमा धेरै रकम जम्मा भएर बस्नु ब्‍याज नपाउनु जस्ता कारणले गर्दा लगानीको वातावरण नभएको संकेत गर्नेमा त्यसको उल्टो  भएकोले लगानीको वातावरण भएको बताउँछन्।

उनले सरकारको लागि यस्तो विषय सकरात्मक चिन्ताको विषय भएको बताए। 'अत्यधिक बढी कर्जाको माग भयो हामीसँग आर्थिक क्रियाकलाप विस्तार भएजसरी लगानी गर्न पुग्‍ने पैसा भएन यस विषयमा हामी चिन्तित छौँ तर यो सकारात्मक चिन्ताको विषय हो' खतिवडाले भने। 

कम्पनी दर्ता कसरी बढ्यो?

कम्पनी रजिष्टार कार्यालयमा गत आर्थिक वर्षमा अहिलेसम्मकै बढी कम्पनी दर्ता भएकोले मुलुकभित्र पर्याप्त आर्थिक सम्‍भावना देखिएको दाबी गरे। खतिवडाको अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै कम्पनी दर्ता भएका छन्।

तर, लगानीको विषयमा रेकर्ड राख्ने उद्योग विभागको, लगानी बोर्ड र नेपाल राष्ट्र बैंकको तथ्यांक भने सकारात्मक देखिँदैन यी तीनवटै निकायमा भएको लगानी प्रतिबद्धता वा स्वीकृति अघिल्लो आर्थिक वर्षको तुलनामा कम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.