१४० सिट क्षमताको जहाजले मान्छे र सामान दुवै ओसार्ने

|

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि मन्त्री बनेर पहिलोपटक पोखरा आएका उनले विमानस्थलको प्रगतिबारे जानकारी लिए।

बुधबार बिहान ७ बजे पोखरा विमानस्थल ओर्लेका उनी सिधै निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरीक्षणका लागि पुगेका थिए। विमानस्थल आयोजनाको तर्फबाट आयोजना प्रमुख विनेश मुनान्कर्मीले भौतिक तथा वित्तीय प्रगतिको बारेमा जानकारी गराएका थिए।

‘हामी सोचेको भन्दा धेरै नै अगाडि कामको प्रगति सक्दैछौँ त्यसैले सम्झौता समयभन्दा अगावै पोखरा विमानस्थल जहाज उडाउन तयार हुन्छ,’ मुनान्कर्मीले भने, ‘अहिलेसम्म सबै गरेर ४५ प्रतिशत प्रगती भएको छ।’  जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको उनले बताए।  

विदेशी लगानी भित्र्याउन पनि राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सक्नुपर्ने पर्यटनमन्त्री भट्टराईको भनाइ थियो। ‘अहिले हामीलाई विभिन्न देशका लगानीकर्ताहरूसँग छलफल गर्दा यो आयोजना किन बनेन त्यो किन बनेन भनेर सोधिन्छ।

कति आयोजनाहरू काम नभएर लड्किरहेका छन्,’ उनले भने, ‘यस्ता आयोजना समयमै सम्पन्न भए लगानीकर्ताहरू नेपालमा लगानीमैत्री वातावरण छ भनेर पनि आउँछन्। त्यसैले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणमा ढिला गर्न हुँदैन।’

संघ, प्रदेश र स्थानीय तह सबैले समन्वय गरेर विमानस्थल निर्माणको उचित वातावरण कायम राख्नुपर्ने उनको भनाइ छ। सन २०२२ मा सम्पन्न गर्नेगरी चिनियाँ कम्पनी सिएएमसीले निर्माण गरिरहेको यो विमानस्थल ६ महिनाअगावै सम्पन्न हुने आयोजनाले जनाएको छ। झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन विमानस्थलको काम ६ महिना अगावै निर्माण सम्पन्न हुने आयोजना प्रमुखले जानकारी गराए।

रवीन्द्र अधिकारीकै जत्तिको चासो छ

तत्कालीन रवीन्द्र अधिकारीले पोखरा एयरपोर्टलाई दिएको जत्तिकै चासो आफूमा पनि भएको उनले संकेत गरे। ‘रबिन्द्र अधिकारीले निकै चासो दिएको एयरपोर्ट हो। अन्य माननीयज्यूहरूले पनि पटकपटक उठाउँदै आएको विषय हो यो।

राष्ट्रिय गौरवको आयोजना भएकोले हाम्रो मन्त्रालयले निकै चासोको साथ हेरिरहेको छ’ उनले भने। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति राम्रो रहेको र आफू सन्तुष्ट रहेको पनि बताए। 

‘यसको प्रगतिहरू राम्रो छ। त्यसकारण आयोजना प्रमुख, कर्मचारीहरू, चिनियाँ मित्रहरू प्रतिष्ठाको विषय बनाएर यसमा जसरी काम गरिरहनुभएको छ उहाँहरूलाई पनि नेपाल सरकारको तर्फबा म धन्यावाद दिन चाहन्छु।’

जनतालाई नांगेझार पारेर ठूला आयोजना बन्दैनन्

आयोजनाका विषयमा त्यहाँका स्थानीयहरूले मुआब्जा र एयरपोर्ट भन्दा तलका क्षेत्रमा सिँचाइ सुविधा नपुर्‍याइदिएको भन्दै मन्त्रीसामु गुनासो पनि राखे। ‘आयोजनाका विषयमा सिँचाइका, मुआब्जाका समस्या छन्।

कतिपय कुरा आयोजनाको जिम्माको कुरा हैन तर पनि भइरहेका छन्। समस्यालाई हामी जनतालाई चित्त बुझाएर हल गर्ने प्रयास गर्नेछौँ,’ उनले भने, ‘मुआब्जा नदिएर जनतालाई एकदमै नांगेझार बनाएर, खालीखुट्टा, नांगो आङ बनाएर ठूला आयोजना बन्दैनन्। जनताको कुरा सम्बोधन गर्नुपर्छ र गरिन्छ नै।’

स्थानीयले मुआब्जा थोरै भएको, अझै थप गर्नुपर्ने जग्गाको मुआब्जा पहिलेभन्दा धेरै दिनुपर्ने लगायतका माग राख्दै आएका छन्।

‘जब पोखरामा जहाज उड्न, अवतरण गर्न सुरु हुन्छ के यस्तै सडकले, यस्तै शहरले हामीले भनेको विजनेश गर्छ त ? भनेर अन्तरमन्त्रालय बैठक बसेर  छलफल अगाडी बढाईसकेका छौँ,’ उनले भने, ‘आज देखि नै यहाँका प्रदेश सरकार, स्थानीय सरकारले यस बारे सोच्नुपर्छ।

जब यहाँबाट अन्तराष्ट्रिय फ्लाईट सुरु हुन्छ हाइस्टाण्डर्डमा टुरिस्ट आउँछन्। त्यसैले उनीहरूले के खोज्ने, कति दिन बस्ने, जति बसाउन सकियो। फाइदा यहाँ हुन्छ।’ यहाँ फ्लाइट गर्न चाहने एयरलाएन्सका विषयमा क्यानले काम गरिरहेको उनको भनाइ छ। उनले विमानस्थल निर्माण भइसकेपछि चिनियाँ कम्पनीका सबै कामदारलाई पोखरामा रथमा राखेर घुमाउन पनि आग्रह गरे।

मान्छे मात्र बोक्ने हैन मालसामान बोक्नुपर्‍यो

‘हाम्रो इमिग्रेसनले गौतम बुद्ध र पोखराको लागि तयारी गरेका छौँ। जनशक्तिहरू लिने, तालिम दिनेकाम भइरहेको छ। आवश्यक इक्वीपमेन्टको बन्दोबस्तीको काम भइरहेको छ। रुटहरू लिने प्रक्रिया भइरहेको छ,’ उनले भने, ‘विदेशी एयरलाइन्सहरूलाई यहाँ नियमित गराउन ल्याण्डिङ चार्ज, पार्किङ चार्ज सुविधाहरू दिनुपर्छ हामी बनाउँछौँ। धेरै प्याकेजहरू हामी बनाउछौँ।’

 

उनले पोखरा विमानस्थलबाट जहाज यात्रु मात्र बोकेर उडेर फाइदा नहुने बताए। ‘यात्रु बोक्ने मात्र हैन विजनेश पनि गर्नुपर्छ। यो सेवा पनि हो र विजनेश पनि हो। यहाँबाट कार्गो हुन सक्छ,’ उनले भने, ‘कार्गोका निम्ति मालसामान चाहियो।

प्लेनले मान्छे मात्रै बोक्छ कि मालसामान पनि बोक्छ यहाँका जनप्रतिनिधिहरूलाई म सोध्न चाहन्छु । माल बोकेर जानुपर्‍यो। मान्छे मात्र बोकेर प्लेन फाइदामा हुँदैन। थुप्रै दुनियाँका एयरपोर्ट कार्गाेले मात्र पनि चलेका छन्।’  उनले काठमाडौँको एयरपोर्टको लोडलाई क्रमश बाहिर ल्याउन खोजेको पनि बताए।

पोखराबाट १४० सिटे जहाज मात्र उड्नेछन्

पोखरा विमानस्थलबाट कति क्षमताको जहाजले उडान भर्ने विषयमा भइरहेको अड्कलबाजीलाई नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्रष्टपारे। ‘पोखरा एयरपोर्टमा ठूला जहाजहरू ल्याण्ड गर्न सकिँदैन।

यहाँको रनवे २५०० मिटरको मात्र हो,’ उनले भने, ‘यहाँ मेक्सीमम ल्याण्ड गर्न सक्नेभनेको एयरबस ३२० टाइपको सम्म हुन्छ की भन्ने हाम्रो अध्ययन छ। १४०÷१५० सिट क्षमताको जहाजको उडान हो। सम्भवत नेपालमा राष्ट्रिय गौरबका आयोजनामा छिटो सम्पन्न हुने पोखरा विमानस्थल नै हुन्छ होला।’

कनेन्टिङ रोडहरू बनाउन पर्‍यो अर्थमन्त्री

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विमानस्थलको मात्र प्रगति राम्रो भएर नहुने बताएका छन्। उनले विमानस्थल जोडने दायाँ बायाँका  सडकहरू तत्कालै बनाउन सुरु गर्नुपर्ने सुझाब संघीय सरकारका पर्यटन मन्त्रीलाई दिए। ‘एयरपोर्टलाई मुटु मान्दा यो मात्रै बनेर हुँदैन,’ उनले भने, ‘कनेक्टीभिटी सडकहरू बन्नुपर्‍यो ।

पोखरा छिर्ने कोत्रेसम्म, एयरपोर्टबाट निस्केर जाने पोखराका पृथ्वीचोक हुँदै जाने सबैठाउँमा चारलेनको सडक बनाउनुपर्‍यो।’ उनले राष्ट्रिय गौरवको आयोजना पोखरामै बनिरहँदा प्रदेश सरकारसँग समन्वय नभएको भन्दै गुनासो पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.