|

भद्रपुर (झापा) : खुला घाँसे मैदान‚ मैदान वरिपरि सयौ‌ं मान्छेको घुइँचो। मैदानको मध्यभागमा बसेका एक र दुई नम्बर टाँस गरिएका दुई जना मान्छेलाई हेरेर चिच्याइरहेका थिए। 

यस्तो दृश्य देखेर बटुवाहरु पनि मैदानतर्फ तानिए। उनीहरु पनि उक्त दृश्य देखेर छक्क परे। आखिर ती दुई मान्छे हात हल्याउँदै के गरिरहेका छन्? वरिपरि रहेका मानिसहरू ती दुई मान्छेलाई हेरेर किन चिच्चाइरहेका छन्? 

मैदानमा देखिएको दृश्य एउटा खेल हो। तर, त्यो खेल सामान्य खेलजस्तो भने होइन। धार्मिक आस्था र परम्परासँग जोडिएको बिषहरि खेल हो। बिषहरि खेलमा सर्पको विष राखिएको हुन्छ। 

यो खेल नेपाल राष्ट्रिय धामी झाँक्री बिजुवा वैद्य सङ्घ केन्द्रीय समिति झापाले मनषा (नाग) देवी पूजाको अवसरमा वर्षमा एक पटक झापामा आयोजना गर्दछ। भद्रपुर नगरपालिका–४ स्थित बोक्तोबारीको खुला घाँसे मैदानमा शनिवार दिउँसो आयोजित बिषहरि खेलमा जिल्लाभरिका डेढ सयभन्दा बढी धामी झाँक्रीको सहभागिता रहेको थियो। 

यस खेलमा आदिवासी–जनजाति (राजवंशी, सन्थाल, यादव) सहभागी हुन्छन्। खेल सुरु हुनअघि आयोजकका तर्फबाट मैदानको बीच भागमा केराको पत्तालाई बेरेर त्यसभित्र सर्पको विष राखिदिएको हुन्छ। त्यसपछि सर्पको बिषलाई गोलो घेराबन्दीमा राखेर आयोजकका तीन जना धामी झाँक्रीले आ–आफ्नो मन्त्रतन्त्र लगाएर त्यसलाई बाध्छन्। अनि सुरु हुन्छ बिषहरि खेला। 

खेलमा जिल्लाका विभिन्न स्थानीय तह गरी १४ वटा धामी झाँक्री समूहले भाग लिएको आयोजकका धामी देवचरण राजवंशीले जानकारी दिए। ‘१४ वटा समूहले आ–आफ्नो मन्त्रतन्त्र प्रयोग गरी सर्पको विष राखिएको गोलो घेराबन्दीमा प्रवेश गर्न खोज्छन्,’ उनले भने, ‘त्यसमध्ये तीन जना मात्र त्यस गोलो घेराभित्र जान सक्छ।’

बिषहरि पत्ता खेलमा छनोट भएका तीन जनामध्ये एकको हातमा सर्पको विष लगाइन्छ। त्यो विष हातमै रहन्छ, त्यसलाई शरीरभरि फैलिन नदिन मन्त्रले बाँधेर राखिने अध्यक्ष राजवंशीले बताए। उनले थपे,  ‘हो यो कुरा कसैले पत्याउँदैन तर यही नै सत्य–यथार्थ हो।’

खेलमा सहभागी तीन जनामध्ये आयोजना दुई जना मात्र प्रवेश गरे। एक जना स्वास्थ्यका कारण बाहिरिए। दिउँसो साढे २ बजेदेखि सुरु भएको बिषहरि खेलको गोलो घेराबन्दीमा रहेका ती दुई मान्छेलाई मन्त्रबाटै घेरा बाहिर निकाल्न मैदानमा छरिएर रहेका धामी झाँक्रीहरूले मन्त्रतन्त्र जप्दै बसे। 

आयोजकले लगाएको मन्त्रलाई चिर्दै बाहिर रहेका धामी झाँक्रीले दुवै जनालाई बाहिर निकालेर आफूतिर तान्नुपर्ने हुन्छ। जुन धामी झाँक्रीको समूहले तान्छन्‚ ती समूह नै विजेता हुन्छन्।

तान्ने क्रममा ती दुई व्यक्ति घाँसे मैदानमा सर्पजस्तै घस्रिने समेत गर्दछन्। उनीहरूसामु पुग्ने बाहिर बसेका अन्य समूहका धामी झाँक्री पनि उनीहरू जस्तै घस्रिन्छन्। मैदाननजिकै मनसा देवीको मुर्ति समेत राखिएको थियो। 

करिब साढे २ घण्टासम्म कुनै धामी झाँक्रीको समूहले घेरा तोडाएर दुई जनालाई बाहिर निकाल्न नसकेपछि आयोजकका धामी देवचरण राजवंशी, बिषलाल गणेश र लखनराज राजवंशीले गोलो घेराबन्दीमा लगाएको मन्त्र फुकुवा गरिदिए। विष राखिएको घेराबन्दी फुकुवा भएपछि दुवै जना सजिलै बाहिर निस्किए। यसअघि उनीहरू निस्किने प्रयास गरे पनि मन्त्रका कारण निस्किन नसकेको आयोजकले बताए। 

घेरा बाहिर निस्केका दुवै जनालाई आफूतिर तान्न खेलमा सहभागी धामी समूहका व्यक्तिहरूले मन्त्र लगाएर तान्न प्रयास गरे। करिब १५ मिनेटको प्रयासपछि भट्टा गाउँ धामी समूहको मन्त्रले एक नम्बरका हरेन रावंशीलाई तानेका थिए। त्यस्तै‚ दुई नम्बरका कामेश्वर यादवलाई जुरोपानीको जादुलालको समूहले तानेका थिए। ती समूहलाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

उक्त कार्यक्रममा दुई जना बालबालिकालाई शिव पार्वती भगवानको रूपमा सजाइएको थियो। बालक शिवको घाँटीमा सक्कली गोमन सर्प बेरेर राखिएको थियो। दाँत समेत नफालिएको सर्प घाँटीमा राख्न गौरादह नगरपालिका जुरोपानीका जादुलाल राजवंशीले मन्त्रले बाँधेको बताइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.