|

पोखरा  ः  पर्यटकीय शहर पोखराको विमानस्थलमा दिनहुँ विदेशीहरुको चहल पहल र आऊजाऊ भइरहन्छ। सोमबार नेपाली हिन्दुनारीहरुको महान पर्व हरितालीका तीज।

त्यही एयरपोर्टमा रातो साडीमा सजिएर हातमा रातो चुरा लगाएका केही महिला विहानैदेखि कसैको पर्खाइमा थिए। विहान पहिलो फ्लाइटबाटै विदेशी त्यो पनि महिलालाई कुरेर बसेकाहरु नौ बजे अलि बढी चनाखो भए। 

बुद्ध एयरको एटिआर जहाज ल्याण्ड भएपछि ओर्लने यात्रुहरुमा उनीहरुको नजर अडिएको थियो। उनीहरु सोमबार पोखरा विमानस्थलमा पहिलो विदेशी को ओर्लेला भनेर पर्खेर बसेका थिए। 

बुद्धको जहाजबाट ओर्लदैँ गरेकी एक विदेशीलाई उनीहरुले देखिहाले। पछाडि झोला भिरेकी, जिन्सको हाप पाइन्ट कालो टिसर्ट लगाएर उनी आएकी थिइन्। ती विदेशीलाई आफ्नो परिचय दिएर पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले कसैको पर्खाइमा रहेका महिलाहरुतिर जान आग्रह गरे।  

निकै आश्चर्य मान्दै रातै सजिएका महिलाहरुको भिडमा ती विदेशी महिला पुगेकी मात्र के थिइन् महिलाहरुले निधारमा रातो टीका, हातमा रातो चुरा र रातै साडी फनफनी बेरिदिए। 

उनी थिइन्, न्यूजिल्याण्डबाट नेपाल घुम्न आएकी बुनेई।  हाफ पाइन्ट र कालो टिसर्टमा आएकी उनको रुप नेपाली महिलाझैँ छिनमै फेरियो उनी पनि रातै साडी, रातै टीका, रातै चुरामा सजिइन्। 

पर्यटन परिषदका अध्यक्ष पोखरेलले आज नेपाली महिलाहरुको तीज पर्वबारे जानकारी गराए। नेपाल पर्यटन बोर्डको प्रवर्द्धन सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पोखरामै पहिलो पटक विदेशी महिलालाई यसरी स्वागत गरिएको थियो। 

‘नेपाली कला, संस्कृति र चाडपर्व संरक्षणसँगै हाम्रो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हामीले यो कार्यक्रम गर्ने योजना बनायौँ,’ आयोजक सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईले भनिन्, ‘पोखरा घुम्न आउने पर्यटकलाई पनि तीजमा यहाँ यस्तो स्वागत गरिन्छ। यहाँको संस्कृति यस्तो रहेछ भन्ने जानकारी होस् संस्कृतिमा रमाउने पर्यटक पनि पोखरा आउन भन्ने हिसाबले हामीले यो कार्यक्रम गर्यौँ‍।’   

पोखरा पर्यटन परिषद् अध्यक्ष पोखरेल धार्मिक एवं सांस्कृतिक पर्वहरुलाई पर्यटनसँगै जोड्नु यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने काम भएको बताउँछन्। 

‘नेपालको संस्कृतिलाई पर्यटन जोड्नु सारै राम्रो पक्ष हो। आगामी दिनहरुमा यस्ता गतिविधिलाई बढाउँदै लैजानु पर्छ,’ उनले भने, ‘पोखरा कुनै कुनै हिसाबले ह्यापीनिङ सिटी हो, यहाँ पर्यटकको राम्रो सत्कार हुन्छ भन्ने सन्देश पनि जान्छ।’ 

नेपाली पहिरनमा सजिएकी बुनेईले खुसी हुँदै आफु पनि नेपाली नै भएको अनुभूति भएको बताइन्। त्यहाँ रहेका महिलाहरुले बुनेईलाई नेपाली पहिरनमा सजाएपछि अन्य नेपाली तथा विदेशीहरुलाई पनि त्यसै गरी पोखरामा स्वागत गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.