महिला र बालबालिका निशानामा

|

बैतडी : भदौ २० गते राती बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने  शिवनाथ गाउँपालिका २ टाणीखर्कका रामसिंह मडैका ७ बर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गयो। सुदीप बेलुका साढे ७ बजेरतिर घरआँगनमै खेलिरहेका बेला चितुवाले आक्रमण गरेको हो। 

आक्रमण गरेर चितुवाले लगेका सुदीपको शव राती ११ बजेपछी प्रहरी र स्थानीय बासिन्दाले घरभन्दा ५०० मिटर दक्षिणतिरको चिरभोले जंगलमा क्षेतबिच्छेद अवस्थामा फेला पर्यो।  सुदीपजस्तै तल्लोस्वराडका २४ जनाको चितुवाकै आक्रमणवाट ज्यान गएको छ। चितुवाकै आक्रमणबाट दुई दर्जन मानिस समेत घाइते भएका छन्। नरभक्षी चितुवाले यसरी घरमै आएर मानिसमाथि आक्रमण गर्न थालेपछी बैतडीको तल्लोस्वराडबासी त्रसित बनेका छन्। 

मानवबस्ती पसेर मानिसमाथि आक्रमण गरी विस २०६८ सालदेखि हालसम्म २४ जनाको ज्यान लिएपछी  नरभंक्षी चितुवाको त्रासमा बस्न बाध्य भएका छन् बैतडीको तल्लोस्वराडबासी ।   चितुवाले बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेको छ।  विद्यालय जादै गरेका बालबालिका तथा साँझपख घरआगनमै बालबालिकामाथि आक्रमण गर्न थालेपछी उक्त क्षेत्रका नागरिक त्रसित बनेका हुन्। 

चितुवाले मानवबस्तीमै पसेर आक्रमण गर्ने गरेको भएपनि सम्वन्धित निकायले भने नत हालसम्म चितुवा मार्न सकेको छ नत नियन्त्रण नै। तल्लोस्वराडमा पर्ने ३ वटा स्थानीय नागरिक बर्षभरी नै चितुवाको त्रासमै  दैनिकी गर्ने गरेका शिवनाथका विरेन्द्र महताले बताए।  तललोस्वराडमा पर्ने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्र हुन्। यी क्षेत्रमा चितुवाले कहिले मानिसलाई आक्रमण गर्छ भने कहिले  घरपालुवा जनावरलाई।  

चितुवाले ८ बर्षदेखि बर्षेनी आक्रमण गर्ने गरेपछी बालबालिकालाई जोगाउनै मुस्किल हुने गरेको छ। बालबालिकालाई घरमै होस या विद्यालय आवतजावत गर्दा समेत चिन्ता हुने गरेको  मृतक बालकका बुवा रामसिंह मडैंको भनाइ छ। यसका साथै महिलालाई वनजंगल, घाँसदाउरा गर्न समेत डरै डरले गर्न बाध्य छन्।  उनले भने “घर आँगनमै खेलीरहेका बालबालिकालाई चितुवा लग्न थालेपछि आफूहरु निकै त्रसित बनेका छौ।”  

राज्यले जहिले पनि तल्लोस्वराड भनेर हेप्ने गरेकाले यस्तो समस्या हुदै आएका, केन्द्रवाट सुदूरपश्चिम भनेर हेपियो सुदूरपश्चिमकाले बैतडी र बैतडी सदरमुकाम तथा सुगमवासीले सधै तल्लोस्वराड भनेर हेपेकोले समस्या थपिदै गएको हो महताले भने, “अब राज्यले यो समस्या चाँडै समाधान फेरी अर्काे समस्याको समाना गर्न राज्यले तयार हुनुपर्छ” उनले थपे “अब राज्यको ध्यान तल्लोस्वराडको समाधान तर्फ जान जरुरी छ” 

सम्बन्धित पक्ष उदासिन

वर्षेनी चितुवा घरमै पसेर बालबालिकामाथि आक्रमण  गरी ज्यानै लिदा समेत सम्वन्धित पक्षसँग दिगो योजना छैन्।  राहत वितरण गर्ने, प्रहरी गस्ती बढाउने, सचेतनामूलक कार्यक्रम गर्ने यी यस्तै बाहेक अरु कुनै योजना बनाएका छैनन्। 

यो घटना दुःखदायी भएकोले चितुवा नियन्त्रणबारे पहल थालिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदको भनाइ छ।  पिडीत पक्षलाई ५० हजार  राहत दिने गरी गाउँपालिकाले कार्यविधि बनाइसकेको छ। उनले भने “बर्षौदेखिको समस्या रहेकोले यसको दिगो पहलका लागि माथिल्लो निकायसँग छलफल गरिरहेका छौं” 
जिल्ला प्रहरी कार्यालयले तत्कालको लागि थप प्रहरी परिचालन गरी प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए। उनले भने “प्रभावित क्षेत्रमा दैनिक प्रहरीले गस्ती गरिरहेको छ।”   

गृह मन्त्रालयलाई चितुवा आक्रमणको बारेमा जानकारी गराइसकेको र जिल्ला प्रशासनसहित सुरक्षासमिति, स्थानीय तह,  डिभिजन वन कार्यालयको समन्वयमा चितुवाको प्रकोप नियन्त्रण र व्यवस्थापनमा ठोस पहल गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। 

मानव र वन्यजन्तुबीचको द्वन्द्व 

प्रभावित क्षेत्रको बैतडी दुर्गम क्षेत्र हो।  भारतीय सिमानासंग जोडिएका, दुर्गम, सडकको पहुंच पनि खासै नहुँनु,  विद्युतको पहुंच पनि पुग्न सकेको छैन्।   पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको छ। खास गरेर चितुवा र मानवबीचको द्वन्द बढ्दै गएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत केशव पराजुलीको भनाइ छ।

विगत ८ वर्षको तथ्यांक हेर्ने हो भने पनि चितुवाको आक्रमणबाट २४ जनाको ज्यान गएको छ। यस किसिमको तथ्यांक हेर्दा सम्भवतः देशभरकै बढी चितुवा प्रभावित क्षेत्रका रुपमा बैतडी पर्ने उनको भनाइ छ।  मानव र वन्यजन्तुको द्वन्द्वकै कारण मानव समुदाय पनि त्रासमा बाच्नु परीरहेको छ उनले भने “वन्यजन्तुहरु बस्ने बासस्थान क्रमशः नष्ट हुँदै जान थालेपछि द्वन्द बढेको हो।”

चितुवा मात्रै नभएर पछिल्लो समयमा बाँदर, बदेल, स्याललगायतका जंगली जनावहरुले पनि मानवका विभिन्न क्रियाकलापमा बाधा पुर्याएको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ।  वन्यजन्तुहरुले बालीनालीमा समेत असर पार्न थालेको हो उनले भने “जिल्ला वन कार्यालयका अनुसार बैतडीमा वनजंगलको क्षेत्र बढ्दै गएपनि घनाजंगल भने घट्दै गएको छ। यसले गर्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ।”  

वन्यजन्तुहरु मानव वस्तीभित्र प्रवेश गरेर वाली, चौपाया र कहीँकसो मानवकै समेत हानीनोक्सानी गर्ने र मानिसहरु पनि जंगली जनावरहरुलाई पासो थाप्ने, शिकार गर्ने, विष खुवाउने आदि प्रयत्न गर्दै वदला लिन चाहने उनको भनाइ रहेको छ। मानव चितुवा बिचमा द्वन्द उत्पन्न हुनुमा चितुवाको प्रमुख आहारा जस्तै घोरल ,रतुवा, खरायो,कालिज आदि जँगली जनावरहरुको मानवद्धारा अवैध शिकार गरिने गरेका कारण चितुवा खानाको खोजीमा मानव वस्तीमा प्रवेश गरी वर्षेनी धेरै धनजनको क्षती पुर्‍याउने गरेको समेत उनले बताए। 

जनसंख्याको वृद्धिसँगै प्राकृतिक स्रोतहरुमाथिको बढ्दो मागका कारण वन जंगलमा चाप वढ्दै जाँदा  त्यस वनमा आश्रय लिएर बस्ने विभिन्न किसिमका बन्यजन्तुहरु को वासस्थानमा खलल् पुग्न  जान्छ । त्यसको फलस्वरुप मानव र वन्यजन्तु बिचमा खाना र वासको लागि द्वन्द्व उत्पन्न भएको बताईएको छ। 

मानव चेतनशिल प्राणी भएकाले चितुवा–मानव द्वन्द न्यूनिकरणको लागी मानवको नै प्रमुख जिम्मेवारी रहने भएकोले चितुवाको आहाराको र वासस्थानको विनाश रोकथाम मात्र गर्ने हो भने चितुवा मानव वस्ती  भित्र आउंदैन जसले गर्दा चितुवा र मानव बीचको द्वन्द्व रोकथाम भई प्रकृति तथा पर्यावरणिय सन्तुलन कायम रहने प्राणी बिज्ञहरुको भनाई रहेको छ।   

चितुवा मार्ने प्रयास असफल 

लगातार रुपमा तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमण नरोकिएपछी स्थानीय प्रशासनले गएका बर्षहरुमा चितुवा नियन्त्रण अर्थात मार्ने प्रयास पनि गरेको हो। तर त्यो प्रयास सफल हुन सकेन्। 

वि स २०६९ असोजयता वन कार्यालयले पटकपटक हिंस्रक चितुवा नियन्त्रणमा लिने प्रयास गरे पनि असफल हँुदै आएको छ। चितुवालाई नियन्त्रणमा लिन ठूलो संख्यामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन्यजन्तु विशेषज्ञ खटिएको भए पनि नरभक्षी चितुवालाई भेटाउन नसकेको जिल्ला पशासनले जनाएको छ।  चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ। 

दीर्घकालिन उपायको खाँचो

चितुवा प्रभावित क्षेत्रमा न्यूनिकरणको लागि दीर्घकालिन उपाय अवलम्बन गर्नुपर्ने भएको छ।  मानवमाथिनै आक्रमण गर्ने चितुवालाई के गर्ने किन यस्तो गरिरहेकोे छ भन्ने टुंगो लगाएर भनेर दीर्घकालिन उपाय खोज्न आवश्यक छ।  उतीबेला अनुसन्धान गर्न आएको चितवन राष्ट्रिय निकुञ्जका विशेषज्ञको टोलीले आहारको कमि, घरआँगनमा राति उज्यालो नहुनु लगायतका कारण चितुवाले मानव सिकार गर्न थालेको औंल्याएको थियो।

नियन्त्रणमा लिन नसक्दा वैकल्पिक सुरक्षाका उपायमा जोड दिइएको छ। मानिसले आफ्ना दैनिक वन पैदावारका मागहरु आपूर्ति गर्ने वनक्षेत्र र आसपासमा चितुवाको वासस्थान हुने हुँदा दुवैको सह–अस्तित्व अनिवार्य रहेको र पर्यावरणीय सन्तुलनका लागि पनि चितुवाको महत्वपूर्ण भुमिका हुने हुँदा मानव र चितुवा एकले अर्कालाई हानी नहुने गरी बाँच्नु पर्ने वाध्यात्मक अवस्था रहेको छ। 

चितुवालाई आफ्नो वासस्थान र संसारमा रमाउन दिनको लागि यसको आहारा ,वासस्थान र स्वभावको वारेमा जनमानसमा चेतनामुलक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता रहेको बताईएको छ । 

वन मन्त्रालयले चितुवा आक्रमणको  कारण र व्यबस्थापनको नीति योजना बनाउनुपर्ने र यसको लागि बैज्ञानिक अनुसन्धान गरि व्यवस्थापनको विधि अपनाउर्ने अनुसन्धानकर्ता धीरेन्द्रबहादुर चन्दले बताए।  कस्तो प्रकृतिको चितुवा छ भनेर पत्ता लगाउनका लागि  ‘स्वचालित क्यामेरा जडान गरेर पत्ता लगाउन सकिने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.