काठमाडौं : कवि नरेन्द्रकुमार नगरकोटीको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ माथि शनिबार विमर्श भएको छ।
काभ्रेको बनेपा नगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा कवि, निबन्धकार दीपक सापकोटाले सन्नाटाको लयमाथि आफ्नो धारणा राख्दै कविको कवित्वमाथि प्रकाश पारे। सापकोटाले संग्रहमा रहेका अधिकांश कविताले गाउँको बिम्ब बोकेको र आम जनजीवनको यथार्थ चित्रण भएको कविता संग्रह वास्तवमै एउटा लय बोकेको छ भन्नेमा ढुक्क रहेको बताए।
कथाकार दिनमान गुर्मछानले कवि नगरकोटीले लेखेका कविता उनको आमाको व्यवहारबाट जन्मिएको धारणा व्यक्त गरे। आमाले भोग्नु भएको वातावरण, आमाले बुझेको परिवेशसँगै कविले आफूलाई खोज्दै जाँदा कविता ज्वलन्त जन्मिएकोले यति सुन्दर र अर्थपूर्ण रहेको बताए।
जूनकिरी साहित्यिक अभियानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि मोहन दुवालले काभ्रेमा कविको हौसला बढ्दै गएको र कवि नगरकोटीले नयाँ पुस्तालाई आफूसँगै अघि लिएर हिँडिरहेको खुशी व्यक्त गरे।
कार्यक्रममा माधव काभ्रेली,मच्छेश्वर सापकोटा, हरि मञ्जुश्री, रामसुन्दर देउजा, हरिप्रसाद चौलागाईं लगायत अतिथिले कवि नरेन्द्रकुमार नगरकोटीलाई शुभकामना मन्तव्य दिए।
जूनकिरी साहित्यिक अभियानले मासिक कार्यक्रम गर्दै आएकोमा हाल वार्षिक रुपमा गर्दै आइरहेको छ। उक्त कार्यक्रममा ३ दर्जन कविहरूले आआफ्ना सिर्जना सुनाएका थिए।
कार्यक्रममा कवि नगरकोटीले ‘रापिलो कविता,’ ‘ढुकढुकीको आवाज’ र ‘मार्च ८ मा बाको सम्झना’ जस्ता कविता सुनाए। उनले आफ्नो कविता यात्राको थालनीदेखि सन्नाटाको लय प्रकाशन सम्मको बारे बताएर उपस्थितलाई मन्त्रमुग्ध बनाए।
संग्रहलाई शाब्दिक बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मूल्य १९९ रुपैयाँ रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।