|
फाइल फोटो

जाजरकोट : जुम्ली स्याउले जाजरकोटका बजारमा माग बढेपछि भारतीय स्याउ बजार पाउन छाडेको छ। जुम्लाको स्याउ सय रुपैयाँमा एक किलो स्याउ पाइने भएपछि महँगोमा भारतीय स्याउ खरिद गर्ने ग्राहकको संख्या घटेको हो। 

स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग बढेको व्यापारी लोकेन्द्र रोकायले बताए। भारतीय स्याउभन्दा जुम्ली स्याउ मीठो भएको भेरी नगरपालिका-३ का शारदा ओलीले बताइन्।

जाजरकोट सदरमुकाममा ३ ठाउँमा डिलर राखेर जुम्ली स्याउ बिक्री भइरहेको छ। जुम्ली स्याउसँगै जाजरकोटमा फलेको स्याउ बिक्रीवितरणमा समेत सहज भएको व्यापारीले बताएका छन्। भारतबाट कमाई गरेर घर फर्कनेहरूसमेत घरमा जुम्ली स्याउ नै नाँसोको रूपमा लिने गरेका छन्। अर्गानिक भन्दै जुम्ली स्याउको माग बढेको छ।

स्थानीय उत्पादनलाई प्रत्साहन गर्नुपर्ने उद्योग वाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्रत्साहन गर्ने लक्ष्य लिएसँगै जुम्ली स्याउको माग ह्वातै बढेको छ। यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउँने यहाँका व्यापारीहरू यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको बताए।

जाजरकोटमा यातायातको पहुँच भएको सवै ठाउँमा जुम्ली स्याउ पुगेको व्यापारी बताउँछन्। त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिम, सुर्खेतमा समेत जुम्ली स्याउमा बजार पाएको व्यापारी रणबहादुर महतले बताए।

भारतीय स्याउमा विषादी मिसाएको चर्चासँगै जुम्ली स्याउले बजार पाउँन थप सहज भएको हो। अहिले जाजरकोटमा दैनिक सरकारी कार्यालय, संघ , संस्था र कार्यक्रममा समेत जुम्ली स्याउकै प्रयोग बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.