|

जलवायू परिवर्तनबारे सोमबार विश्व नेताहरूमाझ कडा मन्तव्य दिएकी १५ वर्षीय स्विडिस अभियन्ता ग्रेटा थन्बर्ग रातारात ‘जलवायू आइकन’ बनेकी छिन्। उनको समर्थनमा #Greta ट्वीटरमा ट्रेन्ड हुन थालेको छ। मन्तव्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

संयुक्त राष्ट्रसंघको जलवायू परिवर्तन सम्मेलनमा उनले महासचिव एन्टोनियो गुटरेज तथा विश्वका अन्य ठूला नेतासामुन्ने ‘नेताहरूले युवा पुस्तालाई धोका दिएको’ भन्दै आलोचना गरेकी थिइन्।

सम्मेलनमा उनले भनेकी थिइन्, ‘मान्छेहरुले दु:ख पाइरहेका छन्, मरिरहेका छन्। समस्त पर्यावरण नष्ट हुँदैछ। हामी विनाशको संघारमा छौँ। तपाईंहरू चाहीँ आर्थिक संमृद्धिको कथा हाल्दै हुनुहुन्छ? तपाईंहरूको यत्रो हिम्मत!’

सम्बोधनकै क्रममा भावुक बनेकी ग्रेटाले भनिन्, ‘तपाईंहरुले हामीलाई असफल बनाइदिनुभएको छ। युवा पुस्तालाई धोका दिनुभएको छ। हामी युवाहरुको नजर तपाईंहरूमाथि छ, फेरि पनि त्यस्तै गरिराख्नुभयो भने तपाईंहरूलाई कहिल्यै माफ गर्नेछैनौँ।’

ग्रेटासहित १६ जना बालबालिकाले विश्वका पाँच ठूला देशहरूविरुद्ध संयुक्त राष्ट्रसंघमा उजुरी दिएका छन्। ती देशले मानवअधिकार हनन गरेको र जलवायू संकटबारे ठोस कदम नचालेको उनीहरूको आरोप छ। ग्रेटाको भाषणलगत्तै उजुरी दर्ता गरिएको हो।

‘आफ्ना खोक्रा शब्दहरुमार्फत तपाईंहरूले मेरो सपना हत्याउनुभएको छ, बाल्यकाल हत्याउनुभएको छ,’ ग्रेटाले भाषणमा भनिन्, ‘तैपनि म आँफूलाई भाग्यमानी नै ठान्छु, यहाँ त मान्छेहरु प्रताडित छन्, मरिरहेका छन्।’

बालबालिकाहरुले जर्मनी, फ्रान्स, ब्राजिल, अर्जेन्टिना र टर्कीविरुद्ध उजुरी दिएका हुन्। ती देशहरु बालबालिकाको हक र मानवअधिकार सम्बन्धी सन्धीसम्झौताका प्रावधान पूरा गर्न असफल भएको उजुरीकर्ता बालबालिकाको ठम्याइ छ। ‘अब त अति भयो भन्ने सन्देश दिन उजुरी दिएका हौँ,’ ग्रेटाले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.