|

एजेन्सी :  संयुक्त राष्ट्रसंघको जलवायू सम्मेलनमा दिइएको मन्तव्यपछि १६ वर्षे स्विडिस अभियन्ता ग्रेटा थनबर्गको परिचय व्यापक बन्यो।

उनको भाषणको भिडियो लाखौंपटक हेरियो। सामाजिक सञ्जालमा उनको समर्थन गर्नेहरुमा देखिएनन्, विरोध गर्ने पनि देखिए। ग्रेटा आक्रोशित छिन्, तर जलवायू परिवर्तनको कारणले मात्र होइन।

‘मलाई नरुचाउनेहरु सँधैंझैं सक्रिय छन्,’ उनले ट्वीटरमा लेखेकी छन्, ‘उनीहरु मेरो पछि परेका छन्। मेरो हेराइ, लवाइ, व्यवहार र मेरो फरकपनामाथि टिप्पणी गरिरहेका छन्।’ उनको कुरा मान्ने हो भने ग्रेटामाथि उनले उठाएको जलवायु संकटभन्दा भिन्‍न विषयमा टिप्पणी भइरहेको छ।

यसको मतलब, उनी त्यस्ता टिप्पणीका कारण रोकिनेवाला छिन् भन्‍ने होइन। उनले शुक्रबारमात्रै पनि कार्वन उत्सर्जन घटाउन माग गर्दै मोन्ट्रेयलमा ठूलो कार्यक्रम सम्पन्‍न गरिन्। तर आलोचकहरुबाट उनको चित्त दुखेको छ। आलोचकहरुले विषयान्तर गर्न खोजेको र झुटको बलमा षड्यन्त्र गरिरहेको ग्रेटाको ठम्याइ छ।

यो अवश्य नै हो, उनले अहिले संसारकै ध्यान खिचेकी छिन्। यो अस्वभाविक भने होइन, किनकी बितेका वर्षहरुमा उनले कुनै अर्को मान्छेले भन्दा धेरै बलियोसँग विश्वस्तरमा जलवायू परिवर्तनको मुद्दालाई उठाएकी छन्। ग्रेटाको आलोचना उनको उमेरकै कारणले भइरहेको हो भन्‍ने पनि कुनै शंका छैन।

तपाईंहरुको यत्रो हिम्मत!

उनले राष्ट्रसंघको सम्मेलनमा प्रयोग गरेको एउटा कडा वाक्याश पनि उनलाई चर्चा दिलाउन भूमिका खेलेको छ। विश्व नेताहरुले जलवायू संकट रोक्नेतर्फ ध्यान नदिएको भन्दै उनले सोधेकी थिइन्, ‘मान्छेहरुले दु:ख पाइरहेका छन्, मरिरहेका छन्। तपाईंहरु चाहिँ पैसा र आर्थिक समृद्धिको गफ दिँदै हुनुहुन्छ? तपाईंहरुको यत्रो हिम्मत!’ यसो भनिरहँदा ग्रेटा निकै आक्रोशित देखिएकी थिइन्। त्यै वाक्यांशले उनलाई संसारभर चर्चा दिलायो। समर्थक दिलायो, आलोचक दिलायो।

सानो उमेरको मान्छेले विश्वका नेताहरुलाई त्यसरी ठाडै आक्रमण गरेको कतिपयले रुचाएनन्। त्यसरी नरुचाउनेमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक थिए।

उनले थनबर्गको नक्कल उतार्दै ट्वीट गरे, ‘एकदम खुसी देखिने ती किशोरी उज्वल र झलझलाकार भविष्यको खोजिमा छिन्।’ ट्रम्पको व्यंग्य देखेर ग्रेटाको हाँसो रोकिएन। एक स्विडिस टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘ट्रम्पले मेरो बारेमा केही न केही भन्छन् भन्‍ने मलाई पहिल्यै थाहा थियो।’

ग्रेटाको मन कुँडिनुको मूल कारण भने अर्कै छ। उनलाई ‘अन्य कुनै समूहले प्रयोग गरेको वा उक्साएको’ भन्‍ने आरोपले उनको चित्त दुखेको छ। बेलायतको एउटा पत्रिकाले लेख्यो, ‘ऊर्जा क्षेत्रका धुरन्धर र ग्रेटाका महत्वाकांक्षी बाबुआमाले उनलाई उक्साएका छन्। खासगरी ग्रेटाकी आमामा नामको यतिविघ्‍न भोक छ, उनी एकपटक यूरोभिजनमा पनि आएकी थिइन्।’ युरोभिजन यूरोपको प्रसिद्ध गीति प्रतियोगिता हो।

झन् एउटा अष्ट्रेलियन पत्रिकाले त ‘जलवायू परिवर्तनकी मसिहा मानसिक रुपमा ठिक छैनन्’ भनेर लेखेको छ। हेराल्ड सनका स्तम्भकार एन्ड्र्यु बोल्टले लेखेका छन्, ‘गुरु भनाउँदाहरुले एउटी बालिकालाई यतिविघ्‍न मानसिक असन्तुलन पैदा हुने गरी व्यवहार गरेको मैले जिन्दगीमै देखेको थिइन।’

ग्रेटा साँच्चै यी पत्रिकाले भनेजस्तै हुन् त?

अहँ, मैले त्यस्तो पाइनँ। न त उनी कठोर थिइन्, न नै मानसिक तनावले ग्रस्त। मैले भेट्दा उनी डुँगा चढेर अमेरिका जाने तर्खर गर्दै थिइन्। उनीसँगको कुराकानीबाट प्रष्टै हुन्थ्यो, उनी जलवायू परिवर्तनको मुद्दामा कसैले उक्साएर उचालिएकी हुन् भन्‍ने कुरा मनगढन्ते कुरा हो।

उनकै शब्दमा, उनी ८ वर्षको छँदा विश्वको जलवायू परिवर्तन भइरहेको छ भन्‍ने सुनेकी थिइन्। सानो उमेरमा बुझ्ने कुरा पनि भएन। जब उनी ११ मा टेकिन्, उनलाई यस कुराले निकै ननिको लाग्यो। उनले खान छोडिन्, जसले गर्दा उनको शारीरिक विकास रोकियो। लगभग सबैजसोसँग कुरा गर्न पनि छाडिन्।

‘तिनताका मलाई कस्तो लाग्थ्यो भने, जलवायू र पर्यावरण संकटको ख्याल राख्ने म संसारकै एक्लो मान्छे हुँ। मेरो बुबाआमालाई मतलब थिएन, साथीभाइलाई मतलब थिएन, न मेरा आफन्तलाई यसको मतलब थियो। कसैलाई यसबारे केही चासो थिएन, त्यसैले मैमात्र पो रहेछु कि झैं लाग्थ्यो।’

ग्रेटालाई यो सब बदलिछाड्छु भन्‍ने लाग्थ्यो। यसको शुरुवात उनले आफ्नै परिवारबाट गरिन्, अनिमात्रै विश्वलाई जलवायू संकट रोक्न वाध्य पार्नेतर्फ उनको अभियान फैलँदै फैलँदै गयो।

उनले आफ्ना आमाबाबुलाई मासु खानबाट परहेज गरिन्। त्यहाँसम्म त भयो भयो, ग्रेटाले आमालाई हवाइजहाजमा यात्रा गर्न पनि रोकिन्। ओपेरा गायिका मलिना इर्मनले छोरीको कुरा नसुनी धरै पाइनन्।

त्यसपछि ग्रेटाले जलवायु हड्ताल गरिन्। स्विडेनको संसद भवनबाहिर आयोजित उक्त हड्तालको नारा थियो, वातावरण रक्षाका लागि शैक्षिक हड्ताल। त्यसयताको कुरा त लगभग सबैलाई थाहै छ, जसका कारण संसारभर उनको चर्चा भइरहेको छ।

ग्रेटाले वातावरणविद् तथा अभियन्तासँग व्यापक सम्पर्क विस्तार गरेकी छन्। उनीहरुले ग्रेटालाई सल्लाह पनि दिन्छन्, तर आफ्नो अभियालाई अन्तिम रुप दिने काम भने ग्रेटा आफैंले गर्छिन्। उनका निकटस्तहरुले जनाएअनुसार उनी आफ्नो भाषण आफैं लेख्छिन्।

उनले मसँग भनेकी थिइन्, यूएन जलवायू सम्मेलनमा बोल्ने कुरा तय गर्न उनी एटलान्टिक वरपर दुईसाता लामो भ्रमण गर्ने योजनामा छिन्। ‘म जल्दोबल्दो संकट र नगरी नहुने कामबारे नेतृत्वलाई बुझाउने कोशिश गर्नेछु। नेतृत्व कस्तो हुन्छ, तिनीहरुलाई म देखाउँछु।’

गत सोमबार उनले ठ्याक्कै त्यस्तै गरिन्, जस्तो भनेकी थिइन्। उनले विश्व नेताहरुलाई भनिन्, ‘तपाईंहरुले मेरो बाल्यकाल खोस्नु’भो, सपना खोस्नु’भो।’ त्यतिमा मात्रै नरोकिएकी ग्रेटाले अगाडि भनिन्, ‘हाम्रो आँखा तपाईंहरुमाथि छ। फेरी पनि हामीमाथि धोका भयो भने हामी कहिल्यै माफ गर्नेछैनौं।’

यहाँ मानसिक असन्तुलनको कुरा कहाँबाट आयो? के कसैलाई यसरी टिप्पणी गर्ने अधिकार छ? ग्रेटाको सबैभन्दा प्रभावकारी कुरै यही हो कि उनी प्रष्ट छिन्, वैज्ञानिक आधारसहित जलवायू संकटविरुद्ध ठोस काम गर्न विश्वलाई झकझक्याइरहेकी छिन्। जब उनको मानसिक स्वास्थ्यबारे प्रश्न उठाइयो, उनले भनिन्, ‘फरक हुनु भनेको अस्वस्थ हुनु होइन। अनि विज्ञान भनेको राय होइन, तथ्य हो।’

हो, उनी विगतमा धेरै दु:खी प्रकृतिकी थिइन्। तर जलवायू अभियान चलाउन थालेपछि उनको दु:ख छुमन्तर भएको छ। ‘यो लडाईंमा म एक्लै छैन भन्‍ने थाहा पाउँदा रमाइलो लाग्छ, मैले गरिरहेको काम अर्थपूर्ण भएकाले खुसी पनि लाग्छ,’ उनले भनिन्। ग्रेटा आँफूले भोगिरहेको एस्पेर्जर (शारीरिक समस्या) लाई ‘महाशक्ति’को रुपमा व्याख्या गर्छिन्। भन्छिन्, ‘हल्लाहरु चिर्दै मेरो मुटुसम्म पुग्नुहोस्। मेरो मुटुमा रहेको मुद्दा हेर्नुस्। मैले उठाएको विषयवस्तु हेर्नुहोस्।’

अटिज्म विशेषज्ञ डा. जेम्स कुस्याक केही शारीरिक समस्याका बावजूद ग्रेटा सबैको रोल मोडल बनेकोमा सन्तोष व्यक्त गर्छन्। ‘उनको साहस, प्रष्टता र विज्ञानमा आधारित अभियानले धेरैलाई प्रोत्साहित गरेको छ,’ उनी भन्छन्।

ग्रेटा कहिले भावुक त कहिलेकाँही निराश हुन्छिन् भने जलवायू संकट रोक्न ठोस कदम नचालिएकोमा हुन्छिन्। उनलाई घरपरिवारको पूर्ण साथ छ। उनी अमेरिका जाँदा उनका बाबु स्भेन्ट थनबर्ग सँगै गएका थिए भने आमा र वहिनी स्विडेनमै थिए।

संसार जाग्दैछ

ग्रेटा तत्काल आफ्नो अभियान रोक्ने पक्षमा छैनन्। ‘संकट झन् बढ्दो छ। विश्व तापक्रम वृद्धिदर १.५ डिग्रीभन्दा तलै राख्‍न सकिने हो कि होइन! उत्सर्जन अर्को सालसम्म पनि घटाउन थालिएन भने तापक्रम वृद्धिदरले सीमा नाघ्‍नेछ, जसमा हाम्रो नियन्त्रण रहने छैन।’ गत वर्ष विश्व कार्वन उत्सर्जन दर २.७ प्रतिशतले बढ्दै अहिलेसम्मकै उच्च ३७.१ विलियन टन उत्पादन भएको थियो।

राष्ट्रसंघ मुख्यालयमा नेताहरुको प्रतिकृया देखेर ग्रेटा निराश भएकी छन्। ग्रेटा भन्छिन्, ‘मेरो भाषणमा उनीहरुले ताली त बजाए, तर जलवायु संकट रोक्न खास पहल भने गरेनन्।’ न त उनीहरुले ग्रेटाको सन्देशलाई स्वीकार्न सके, न नै जलवायु संकट रोक्न माग गर्दै कार्यक्रमको अघिल्लो दिन सडकमा आएका हजारौं मान्छेहरुलाई देखे।  

ठ्याक्कै आलोचकहरुले भनेजस्तो पनि होइन, ग्रेटाको विचारमा जलवायू संकटसँग जुध्‍ने कतिपय कार्यक्रमहरु प्रकृयाकै क्रममा छन्। यसको परिणाम रातारात देखिने पनि होइन। ‘मलाई लाग्छ, हाम्रो उपस्थितिले उनीहरुलाई चुनौती दिएको छ,’ उनले यसैसाता लेखिन्, ‘तर संसार जाग्दैछ।’

(बिबिसीका लागि जस्टिन रोल्याटको आलेखको भावानुवाद)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.