पर्वत : ‘म पनि साहित्यमा रुचि राख्ने र साहित्यकै विद्यार्थी हुँ। कलाको महत्व के छ भन्ने मलाई पनि थाहा छ। लोक संगीत राष्ट्रका अमूल्य निधि हुन्। यिनको संरक्षण गर्ने कसले हो?’
पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भनिन्, ‘नेपाली संस्कृति पाश्चात्य संस्कृतिमा समाहित हुँदै गइरहेको छ। यसरी नै जाने हो भने हाम्रो पहिचान कहाँ छ? भनेर खोज्ने दिन आउँदैछ।’
प्रजिअ नेपालले नेपाली कला, संस्कृति र मौलिकतालाई अरूको संस्कृतिमा लगेर घुलाउनुको ठाउँमा हाम्रा कलाकारले एक्लै भए पनि अरूको संस्कृतिसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै नेपाली कला र संस्कृतिलाई विश्व सामु लैजान अनुरोध गरिन्। उनले आफ्ना भनाई राखिरहँदा मञ्च र मञ्चको अगाडि रहेका कलाकारहरू चुपचाप रहे।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति पर्वतको आयोजनामा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले संस्कृति संरक्षणको लागि आह्वान गरिन्।
नेपालका कलाकारले नै नेपाली मौलिकताको संरक्षण नगर्ने हो भने अरू कोही आएर पनि नेपालीको मौलिकता र परम्परा यो थियो रे नि! संग्रहालय निर्माण नगरी दिने उनको भनाई थियो।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पनि कतिपय नेपाली कलाकारको छाडापनका कारण परिवारका सदस्यहरूसँग बसेर स्टेज कार्यक्रम तथा म्युजिक भिडियो हेर्ने अवस्था नरहेको बताए।
‘स्टेजमा लोक गीतकै कलाकारहरूले यसरी गाउनु हुन्छ, हामी बर्दी लगाएका मान्छे त्यो छेउमा कसरी बसौँ? सुरक्षा कसरी दिउँ? बस्नै नसक्ने गरी गीत गाउनुहुन्छ। हाउभाउ पनि त्यस्तै’ उनले भने, ‘एक खालको समूहले त त्यो पनि मन पराउँछ। तर समाजमा केही जिम्मेवारी बहन गरेका र केही प्रतिष्ठित व्यक्तिहरू त्यहाँ कसरी बस्ने? कसरी सुन्ने? कसरी हेर्ने? अब यसमा पनि कलाकारको ध्यान जानुपर्छ। मौलिकताको बचाउ गर्नुपर्छ।’
प्रहरी नायव उपरीक्षक अर्याल जस्तै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, साहित्यकार नवराज शर्मा लगायतले पनि लोक गीत गाउने कलाकारलाई सुधारका लागि धेरै कुरा सुझाए। उनीहरूले कलाकारले गीतका एल्बम बजारमा ल्याउँदैमा कलाकार नभइने बताउँदै परम्परागत र संकटमा परेका भाका, लय, शब्द र शैलीलाई संरक्षण गर्नेहरू वास्तविक कलाकार हुने बताए।
सबैको जवाफमा लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालले प्रतिष्ठानले यही प्रयास गरिरहेको भए पनि कतिपय कलाकाहरूका कारण सिंगो क्षेत्रलाई नै दोष लागिरहेको बताए। यसको नियन्त्रणको लागि एउटा जिल्लाको कार्यसमिति मात्रै लागि परेर सम्भव नरहने उनको भनाई थियो।
प्रतिष्ठानका जिल्ला कार्यसमितिहरूले आआफ्नो जिल्लामा प्रचलित परम्परागत र मौलिक लोकगीतहरूको संरक्षण गर्ने प्रयास थाल्नुपर्ने र यसका लागि पर्वत कार्य समितिले प्रयास गरिरहेको उनको भनाई छ।
कार्यक्रममा हालै कास्कीको पोखरामा सम्पन्न लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश कार्यसमितिमा पर्वत र बागलुङ जिल्लाबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई बधाईसहित सम्मान पनि गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।