मनास्लु, अमादब्लम र धौलागिरिमा आरोहीको चाप

|
फाइल फोटो

पोखरा : सर्वोच्च शिखर सगरमाथा शिखरमा शरद ऋतुमा कुनै आरोहीले पाइला नराखेको १० वर्ष हुन लाग्यो। शरद ऋतुको अक्टोबर महिनामा पछिल्लो पटक सन् २०१० मा अमेरिकी नागरिक एरिकले सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसयता सयौँले सगरमाथा आरोहणका लागि शरद ऋतुमा अनुमति लिए पनि चुचुरो चुम्‍न सकेका छैनन्। 

यसवर्ष पनि सगरमाथा चुम्न गएका कोही सफल हुन सकेनन्। पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाका अनुसार कुनै आरोहीले सगरमाथा शिखर नचुमी फिर्ता आएका छन्।

‘यो वर्ष पनि शरद ऋतुमा सगरमाथा सफल आरोहण गर्ने कोही भएन,’ उनले भने, ‘दुई समूहका १० जनाले अनुमति लिएर आरोहणका लागि गएका थिए। तर कोही पनि चुचुरोमा पुग्‍न सकेनन्, बीचबाटै फर्किए।’

सगरमाथामात्रै होइन, यस वर्ष ल्होत्से र नुप्त्सेमा पनि शरदयाममा कसैले आरोहण गर्न सकेनन्। नुप्त्सेमा १ समूहका ८ जनाले र ल्होत्सेमा २ समूहका १३ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणमा गएकाहरू अधिकांश क्याम्प ३ बाटै फर्किए। केही भने क्याम्प ३ भन्दा माथिल्लो गौंडो साउथकोलसम्म पुगेर फर्किए।

यस वर्ष ४५ हिमालका लागि नेपालसहित ५७ देशका १३७ समूहका १०३७ जनाले आरोहण अनुमति लिएका छन्। केहीले धमाधम आरोहण गरिरहेका छन्। केही आरोहण सकेर फर्किसकेको पर्यटन विभागले जनाएको छ।

मनास्लुमा खचाखच

सगरमाथा लगायतका हिमालमा आरोहण अनुमति लिने पनि कम थिए। आरोहण पनि सफल नभइरहेको बेलामा ८१६३ मिटर अग्लो किलर माउन्टेन मनास्लु भने खचाखच छ।

मनास्लु आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन्। यीमध्ये १२७ जनाले सफल आरोहण गरिसकेका छन्। मनास्लुपछि अमादब्लम, धौलागिरी लगायतका हिमालमा आरोहीको संख्या बढी छ। 

७ करोड रोयल्टी

शरद याममा हिमाल आरोहण गर्न अनुमति लिएका आरोहीबाट झण्डै ७ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ। ४७ हिमाल चढ्ने ५७ देशका आरोहीबाट ६ करोड ८१ लख ६ हजार एक सय ७३ रुपैयाँ ८२ पैसा राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.