काठमाडौं : पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव हुन् डा. प्रदीप ढकाल। स्याङ्जामा जन्मिएका उनले संस्कृत भाषामा पाटन क्याम्पसबाट बिए उत्तीर्ण गरे।त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका ढकालले 'हिन्दु धर्ममा शान्तिको अवधारणा' विषयमा बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए।
पशुपति क्षेत्र विकास कोषमा तीन वर्षदेखि सदस्य सचिवव छन् ढकाल। उनी साहित्य लेखन र अध्ययनमा रूचि राख्छन्। ढकालसँग पुस्तक विविध विषयबारे थाहाखबरकर्मी अतिन आचार्यले कुराकानी गरेका छन्।
हिजोआज के गर्दै हुनुहुन्छ?
मेरो कर्मथलोमा विशुद्ब रुपमा व्यस्त छु।
तिहार कसरी मनाउँदै हुनुहुन्छ?
उपन्यास लेख्दैछु। अन्तिम चरणमा पुगेको छ। यसैलाई पूर्ण बनाउनु छ।
रुचि के के मा छ?
अध्ययन र यात्रा गर्न रुचि राख्छु।
बन्द कोठामा बस्न रुचि छ भन्नुभयो, त्यहाँ के पाउनुहुन्छ?
बन्द कोठामा दर्शन र ब्रम्हाण्डको ज्ञान पाउँछु।
बन्द कोठाको सुन्दर पक्ष के हो?
अक्षर हो।
कुन पुस्तक पढदै हुनुहुन्छ?
हिजोआज पुस्तक पढेको छैन। कर्म क्षेत्रमा बिहानदेखि आइरहेको छु। जे पढ्नु छ, यही खुल्ला संसारमा सबैथोक देख्छु र पढिरहेको छु। मेरा लागि पढ्नलाई पशुपति क्षेत्र नै काफी छ ।
प्राथमिकतामा कर्म वा पुस्तक?
अहिलेको अवस्थामा मेरो लागि कर्म।
समाजको कुरा पनि आयो, के कुराले समाज परिवर्तन गर्न सकिन्छ?
समाज परिवर्तन गर्न सक्ने दुई कुरा छन्। सुन्दर विचार र कर्म।
मानिस अक्षरमा जीवन खोज्छन्, तपाईं फेरि कर्ममै जीवन खोजिरहनु भएको छ?
अक्षरमा जीवन पाइन्छ। तर, धेरै मानिसले अक्षर त पढ्छन, त्यसलाई व्यवहारमा उतार्दैनन्। पहिले अक्षर पढेँ, अब भने कर्म गरेर यसैमार्फत् जीवन खोजिरहेको छु। अक्षर र कर्म नै मेरा लागि जीवन हो।
आज यो स्थानसम्म आइपुग्न कुनै पुस्तकको प्रभाव छ?
'जा बार्बा' भन्ने पुस्तक हो, जुन रोजिर मार्ति दुगारले लेखेका हुन्। त्यसमा जीवन दर्शन छ, मैले कल्पना गरेको जीवन नै त्यस पुस्तकमा छ।
पढ्न बाँकी रहेको कुनै पुस्तक छ?
मैले थाहा पाएको र नगएको कुनै पुस्तकालय छैन, जहाँ म सबै ठाउँमा पुगेको छु। लगभग सबै नेपाली भाषामा लेखिएका पुस्तक पढेको छु।
उपनिषद् पढ्नुभयो खासमा के छ त्यसभित्र?
असल मानिस हुनुपर्ने नियम छन्। त्यहाँ सम्पूर्ण जीवन छ। जुन जीवनले पूरा ब्रम्हाण्ड चलाउन सक्ने ज्ञान दिन्छ त्यस पुस्तकले।
के कुराले गर्दा बेदका सबै भाग पढनु भयो ?
नियम छ, राजनीतिका सिद्बान्त, समाज सञ्चालन, विज्ञान, प्रविधि, सांगीतिक नियम, आर्थिक व्यवहार कसरी सञ्चालन गर्ने? त्यसका सम्पूर्ण रुप छन् त्यसभित्र। समाज चलाउन र जीवन बाच्नका लागि सम्पूर्ण कुरा छन्। जीवन भनेको नै बेद र उपनिषद्को सार हो।
धेरैपटक पढेको पढेको पुस्तक?
जा बार्बा, सिद्धार्थ, तरुण तपस्वी, के नेपाल सानो छ? र रुसोको शिक्षासम्बन्धी धेरै पटक पढेका पुस्तक हुन्।
धेरैपटक पढेका पुस्तकमध्ये कुनै पुस्तक जसले तपाईंको मष्तिस्कमा घर बनाइरह्यो?
'सिदार्थ' लाई सम्झन्छु। जसमा जीवनको सर्वाङ्गण रुप छ। जगतका सम्पूर्ण मानिसलाई अटाउन सकेको छ, सिदार्थको पानाको अक्षरमा जहाँ जीवन यात्रा हो र यसले जीवन जिउन जान्नु पर्छ भनेको छ।
कस्तो पुस्तक पढ्न मन पर्छ?
पहिले-पहिले धेरै नेपाली साहित्य र हिन्दी साहित्यका पुस्तक पढेँ। मलाई समाज र देखिएका कुरा बुझाउन सक्ने पुस्तक पढन मनपर्छ। जिउँदो छु भन्नका लागि र जीवनलाई झक्झकाउनुका लागि भए पनि पुस्तक पढ्नुपर्छ र पढ्छु।
पहिलोपटक पढेको पुस्तक?
हिन्दी उपन्यास हो। नाम बिर्सेँ, प्रेमसम्बन्धी पुस्तक हो। घरमा बाबाले धेरै पुस्तक पढ्नुहुन्थ्यो। त्यस पुस्तकले नारीप्रति समाज अलिक संवेदनशील हुनुपर्छ भनेको छ।
कविता लेखिरहनु हुन्छ के ले लेख्न प्रेरित गर्छ?
भावले लेख्नको लागि वा कर्मका लागि भाव नै हुनुपर्छ नत्र सकिन्न। लेखन र कर्म उस्तै हो जस्तो लाग्छ।
उपहार पाएको पुस्तक?
अहिलेसम्म पाएको छैन।
उपहार दिएको कुनै पुस्तक ?
मैले लेखेको पुस्तक नै उपहार दिएको छु। लेखेको पुस्तक बेच्ने गरेको छैन।
कहाँ किन्नुहुन्छ पुस्तक?
बजारमा र प्रज्ञा प्रतिष्ठानले लगाएको पुस्तक मेलामा किन्ने गर्छु।
मनपरेको पुस्तकालय?
मेरो जीवनको स्वर्णीम समय र महत्त्वपूर्ण कालखण्ड त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा पढेर बितेको हो।
पुस्तक समीक्षा कतिको पढनुहुन्छ?
समय मिल्दैन र लेखकको आफ्नै ढाँचाले लेखिएका हुन्छन्। त्यो उहाँहरुको सम्पत्ति हो। अरुको सम्पतिमा मलाई धाँवा बोल्न मन लाग्दैन।
पुनर्लेखन गर्न मन लागेका कुनै पुस्तक छन्?
मलाई मनपर्ने र मननपर्ने सुरुका एक-दुई पेज पल्टाउनेबित्तिकै थाहा हुन्छ। श्रृङ्गार, भाव र रस भएका पुस्तक होस भन्ने लाग्छ। तर, कुनै- कुनै पुस्तकमा भने म पाएको छु।
अनुवाद साहित्य लगाव कस्तो छ?
मलाई अनुवाद साहित्य मनपर्छ। मैले पढेका सबै अनुवाद साहित्य नै हुन्। जहाँ नेपाल जस्तो देशका पाठकलाई अनुवाद साहित्यको अझै जरुरी छ। पाठकको संख्या र पठन संस्कृतिको विकास भइरहेको छ।
तपाईंका अभिव्यक्तिले दर्शन बढी पढ्नु भएको रहेछ भन्ने लाग्यो। पाश्चात्य दर्शन र पूर्वीय दर्शनमा के फरक छ?
अध्ययनको क्रममा सबै अध्ययन दर्शन गरेँ। म जिज्ञासु स्वभावको छु। हरेक कुरामा जीवन खोज्ने मानिस हो। जीवन र जगतको अर्थ पूर्वीय दर्शनमा छ। अहिले पश्चिमाहरु पूर्वीय दर्शन गर्न लालयित छन्। पूर्वीय दर्शनमा रहस्य छ। रहस्य अझ थपिँदै जान्छ।
पूर्वीय दर्शन सबैभन्दा उत्कृष्ट हो?
अन्य दर्शनसँग तुलना नगरौँ। पूर्वीय र पाश्चात्य भन्ने दिशा मानिसले दिएका हुन। उदाएको सूर्य नदेखिने ठाउँमा हराउने भएकोले पश्चिम भनेका हुन्। दर्शन एकै हुन्, बुझ्ने कसरी भन्ने हो, अझ प्रचार-प्रसारले पनि दर्शनलाई व्यापक बनाएको छ। सबैभन्दा त ठूलो कुरा शिक्षा हो र पश्चिमाहरुको शिक्षाले केही गरेको हो कि भन्ने लाग्छ।
आख्यान कि गैर आख्यान?
साहित्यका रुप धेरै छन्। मलाई यथार्थपरक साहित्यका पुस्तक मनपर्छ। अझ, दर्शनमा आधारित पुस्तक मनपर्छ। हामी मानिस हौँ मानिस बोल्ने पुस्तक लेखिएको हुनुपर्छ।
मनपरेका नेपाली पुस्तक?
'घुम्ने मेचमाथि अन्धो मान्छे' लेखक भूपि शेरचन, मुनामदन र गौरी।
साहित्यमा सबैभन्दा बढी कुन विधा?
'कविता'
लेखक र पढेका पुस्तकका पात्र कसलाई भेट्न मन छ?
अमृत प्रितम भारतीय लेखकसँग भेट्न मन छ। उनीसँग घण्टौँ बहस गर्न मन छ। समाज र नारी संवेदनाको भावना बोक्छिन्। 'जा बार्बा' पुस्तकको मूल पात्रसँग पनि बहस गर्न मन छ।
अध्यात्म तपाईंको विषय हो, आकर्षित गर्ने त्यस्तो के छ?
सानोदेखि म जिज्ञासु थिएँ। लाग्छ, जिज्ञासु भएको कारणले अध्यात्म रोजेँ। मानिस र जगतलाई बुझेर मूल मार्गबाट बिचलित हुन नदिन पढेको हो।
पशुपति क्षेत्र रोदन र हाँसोको संगम हो भन्छन के जस्तो लाग्छ?
जीवनको प्रवाह हुने ठाउँ हो।
अध्यात्म के हो?
जीवनको गहिराइ नाप्ने यन्त्र अध्यात्म हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।