|

काठमाडौं : नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । 

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभियानको नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।

नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए । उनले भने,'डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।' नक्सा बनाउँदा काली नदीको मुहानबारे पनि प्रष्ट पारिएको उनले बताए ।

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । उनले नक्सा तयार पारिएको विधि समेत उल्लेख गरे ।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक अग्रज पत्रकार भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए। उनले भने, 'हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो।' 

सार्वजनिक गरिएको नक्सा सुगौली सन्धी अनुसारको भएको उनले बताए। भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाइ थियो ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, 'हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ।'

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई प्रतिवाद गर्न नक्सा सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे । उनले भने, 'भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ।'

पूर्वसचिव तथा अभियानकर्ता द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्‍याउने जानकारी दिए । नक्सा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघसम्म नक्सा पुर्याउनेबारे सोचाइरहेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.