दुर्घटना कम गर्न कडा नियम बनाउनुपर्छ

|

काठमाडौं : नेपालमा बर्सेनी लाखौं पर्यटक स्थल र हवाईमार्गबाट नेपाल भित्रिन्छन्। उनीहरूको प्राथमिकतामा यहाँको प्राकृतिक सुन्दरता मात्र हुँदैन यहाँको कला संस्कृति रीति-रिवाज र रहन-सहनबारे पनि उस्तै जिज्ञासा रहन्छ।

तर कोही भने आफ्नो देशमा सिकेको सीप, ज्ञान र अनुभव पनि कुनै माध्यमबाट यो देशलाई बाँड्न चाहन्छन्। तिनैमध्येका एक हुन् जापानी नागरिक कोवीसिरु सावागुछी। उनी ६ महिनाअगाडि नेपाल आएका हुन्। जापानको सहयोग नियोग जाइकाका माध्यमबाट जापानको अनुभव बाँड्न नेपाल आएका हुन् उनी। ३७ वर्ष जापानको ट्राफिक प्रहरीमा सेवा गरेका सावागुछी आफ्नो अनुभव यतिखेर नेपालमा बसेर सिकाइरहेका छन्।

उनले काठमाडौं उपत्यकाको सडकमा पैदलयात्री मात्र होइन ट्राफिक प्रहरीलाई सघाउँदै आएका छन्। आफूले जानेको सीप बाँड्नु ठूलो कुरा त होइन तर सानो कुराले पनि ठूलो उपलब्धि हुन सक्छ कि भन्ने उनको बुझाइ छ। उनी भन्छन्, 'उपत्यकाका सडकमा बसी सडक सुरक्षाको तालिम र ट्राफिक व्यवस्थापनसम्बन्धी जापानको सामान्य अनुभव बाँडिरहेको छु।'

महानगरीय ट्राफिक प्रहरी महाशाखामा दैनिक १० बजे आइपुग्ने उनको कार्यतालिका छ। ६ महिना यहाँ पाएको उनको अनुभवले नेपालका सडकको तुलनामा  यातायातका साधन धेरै भए। जसले गर्दा  ट्राफिक व्यवस्थापन चुस्त हुन सकेको छैन।

जापानका सडकमा सवारीसाधनलाई कहिल्यै अवरोध नहुने उनी बताउँछन्। सवारी चालकले आफू अनुशासनमा बसे उल्लेख्य मात्रामा ट्राफिक व्यवस्थापन हुने उनले बताए। उनले सवारी चालकलाई मात्र होइन यहाँको सडकमा देखिएको खाल्डा-खुल्डी, जेब्राक्रसिङको अभाव, पैदल यात्रुले जथाभावी बाटो काट्नाले सबैलाई जोखिम रहेको अनुभव बताए।

'देशको महत्वपूर्ण पूर्वाधार भनेको यातायात हो। यसलाई भरपर्दो र मजबुत बनाउनुपर्छ',उनले भने। महाशाखामा सावागुछी आएपछि ट्राफिक नियममा पनि धेरै परिवर्तन आइसकेको ट्राफिक महाशाखाको कार्यालयको तथ्यांक छ।

ट्राफिक जामको कारण निजी सवारी

उनले नेपाल-जापानबीच सवारीबीच फरक रहेको बताए। जापानका सडकमा सार्वजनिक यातायातका साधनहरू बढी गुड्छन्। निजी साधनहरू कम मात्र गुड्छन्  शहरमा जापानी नागरिकहरूले सकेसम्म सार्वजनिक यातायातको प्रयोग गर्छन्।

 'गाउँमा बसेका मानिसले मात्र निजी सवारीसाधनको प्रयोग गर्छन्। शहरमा आउनको लागि निजी सवारीसाधनको प्रयोग गर्छन्', उनी भन्छन्, 'काठमाडौं उपत्यकामा सार्वजनिक यातायातभन्दा निजी सवारीसाधन गुडेका छन्। कालान्तरमा सार्वजनिक यातायातको लागि बाटो पनि हुँदैन। सबैभन्दा बढी मोटरसाइकल छन्। मोटरसाइकलको लागि छुट्टै बाटो निर्माण गर्नुपर्छ।'

 कार्यालय समयमा बढी ट्राफिक जाम हुनुको कारण निजी सवारीसाधन हुन्। सार्वजनिक यातायात मात्र भए ट्राफिक जाम नहुने उनले सुनाए।

पैदलयात्रीले जेब्रा क्रसिङको प्रयोग गर्दैनन्

उपत्यकाको सडकमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुलाई समस्या भएको छ। पैदलयात्रीले जेब्रा क्रसिङको प्रयोग गर्दैनन्। कार्यालयको आसपासमा जेब्रा क्रसिङ निर्माण गरिएको छ। जापानमा हरेक ५ सय मिटरमा जेब्रा क्रसिङ राखिएको उनी सुनाउँछन्। 'नेपालका सडकमा सडक सुरक्षा चुनौती रहेको छ', उनले भने,'दैनिक सडक दुर्घटनामा परेर मृत्यु भइरहेको सुनिरहेको छु।' 

सावागुछीले उपत्यकाको सडकमा पनि निरीक्षण गरेका छन्। सडकमा एकनासको सवारीसाधन गुडदैनन्। 'ठूलो र सानो दुवै कुदेका छन्', उनले भने,' सवारीसाधन अनुसार सडक बनाइएको छैन।' सडकमा यातायातका सांकेतिक चिन्ह पनि छैनन्। साधनको लागि युटर्न गर्नको लागि सांकेतिक चिन्ह पनि नभएको र भएकालाई पनि चालकले नटेरेको उनले सुनाए।

कडा नियम बनाउनुपर्ने सुझाव 

दुर्घटना कम गर्न र सवारी जाम हटाउन ट्राफिक नियम कडा बनाउनुपर्ने सावागुछीको सुझाव छ। जापानमा ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारवाही गर्ने गरिएको उनले जानकारी दिए। नेपालमा ट्राफिक प्रहरीले प्रविधिको प्रयोग गर्न सकेको छैन। सडकबीचमा बसेर हातको इसारामा यातायातको साधनलाई सहजताको निम्ति काम गरिरहेका छन्। उनले भने, 'ट्राफिक प्रहरी धैर्य र मिहिनेती छन्। घामपानी नभनी हात हल्लाएर नै काम गरिरहेका छन्। जापानमा सबै प्रविधिबाट नियन्त्रण हुन्छ।' 

समग्र नेपालको ट्राफिक व्यवस्थासम्बन्धी जाइकाको टोलीले चिन्ता गरेको महानगरीय ट्राफिक महाशाखाको प्रमुख भीमप्रसाद ढकालले बताए।

उनले उपत्यकामा ४ बजेपछि लाइट बालेर सवारीसाधन सञ्चालन गर्न सुझाव दिएका छन्। महानगरीय ट्राफिक प्रहरीले पनि अब उपत्यकामा साँझ परेपछि लाइट बालेर सवारीसाधन चलाउनलाई नियम बनाउन लागेको महाशाखा प्रमुख ढकालको भनाइ छ।

सावागुछीको सुझाव अनुसार नै टिपरलाई अगाडि पछाडि देखिने गरी नम्बर राख्न लगाएको  पनि महाशाखा प्रमुख ढकालले सुनाए। जाइकाको प्रतिनिधिहरूले मुख्यतया सडक सुरक्षामा ध्यान दिन लगाएको उनको भनाइ छ। नेपालको सडकमा प्राविधिक समस्या भएको प्रमुख ढकालले स्वीकारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.