पाँचथर : ‘सानो छँदाखेरी गिद्ध फाट्टफुट्ट गाउँघरमा देखिन्थ्यो, आजकाल त देखिन्न पनि। मरेरै सके कि के भो?’ पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले पाँचथरलाई ७१औँ डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा कार्यक्रमको अवसरमा आयोजित अन्तरक्रियामा यसो भने। छेउमै बसेका जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा (विमल) ले पनि वस्तीकै जस्तो चिन्तासहितको जिज्ञासा राखे। ‘मैले पनि नदेखेको धेरै भो। पहिलेचाँही देखिन्थ्यो।’
प्रकृतिको कुचिकार भनिएको गिद्ध मुलुकको पूर्वी क्षेत्रमा देखिन छाडेको छ। वर्षौंयता देखिन छाडेपछि गिद्धबारे चासो र चिन्ता प्रकट हुन थालेको छ। जुन पंक्षी मरेको जनावरको सिनो खाएर बाँच्ने गर्दछ। आफैँ शिकार नगर्ने तर मरेका जनावरको सिनो खाने यो पंक्षीले वातावरण दुर्गन्धित हुनबाट जोगाएर स्वच्छ पनि राख्दछ। तर हाल लोप हुँदै गएको छ।
गिद्धको संरक्षणमा सक्रिय एक संस्था बर्ड कन्जरभेसन नेपाल (बिसिएन) ले २०४७ सालसम्ममा नेपालमा मात्रै करिब पाँच लाखको संख्यामा गिद्ध रहेकोमा २०५८ सालसम्ममा ९१ प्रतिशत घटेको जनाएको छ। हाल पनि घट्दो क्रममै छ।
धार्मिक र सांस्कृतिक महत्वसमेत बोकेको गिद्ध घट्दै जानुको मुख्य कारक पशुमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ। औषधि व्यवस्था विभागले पनि यो औषधिलाई २०६३ को जेठ २३ गतेदेखि उत्पादन, बिक्री वितरणदेखि आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध उल्लंघन गर्नेलाई तीन वर्षसम्म कैद, २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
गिद्ध संरक्षणकै लागि देशभर डाइक्लोफेनेक औषधिमुक्त पनि गराइँदैछ। यो अभियानमा जोडिएको संस्था बिसिएनका कार्यक्रम अधिकृत भूपाल नेपालीले पूर्वको पाँचथर र ताप्लेजुङलगायत जिल्लासहित ७२ जिल्लालाई डाइक्लोफेनेक औषधिमुक्त जिल्ला घोषणा गरिसकिएको बताए।
यो औषधि खुवाइएको पशु मरेमा उसको सिनो खाएका गिद्ध मर्ने गर्दछन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखसमेत रहेका वरिष्ठ पशु विकास अधिकृत डा. इन्द्रनारायण साह भन्छन् ‘डाइक्लोफेनेक औषधि खुवाइएको पशु मरेको र गिद्धले खाएको अवस्थामा गिद्धमा भिसरल गाउट अर्थात् भित्री अंगमा युरिक एसिडका पत्थर जम्मा हुने र त्यसपछि मिर्गौलाले काम गर्न छाड्ने हुँदा गिद्धहरू मर्ने गरेको अध्ययनले देखाएको छ।’
गिद्ध लोप हुनुको कारण डाइक्लोफेनेक औषधिसँगै अरू कारण छन्। तीमध्ये सिमललगायतका अग्ला रूख मासिँदै लाँदा वासस्थानको कमी हुनु र मरेका पशुहरू गाड्दा सिनो खान नपाउनु पनि हो। बिसिएनका कार्यक्रम अधिकृत नेपालीले भने गिद्धको संख्या घट्दै जानुमा विषादीको प्रयोग बढ्नु र विद्युतीय तार पनि हो भनेका छन्।
नेपालमा सानो खैरो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, राज गिद्ध, लामो ठुटे गिद्ध, हाडफोर गिद्ध, खैरो गिद्ध र हिमाली गिद्ध गरी नौ प्रकारका गिद्ध पाइन्छ। हाडफोर र गोब्रे गिद्धको केही अवस्थामा बाहेक गिद्धहरूले एउटा मात्रै फुल पार्ने जीवशास्त्रीहरू बताउँछन्। असोज महिनातिर गुँड लगाएर फुल पार्ने गर्दछ। करिब ७५ दिन ओथारा बसेर बच्चा कोरल्ने १२० दिनमा उड्न सक्ने हुने गर्दछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।