सामाजिक अभियन्ता सरोज रायको एक्लो प्रयास
सामाजिक अभियन्ता सरोज रायको एक्लो प्रयास
जनकपुरधाम : भारत विहार राज्यको दरभंगाबाट सामाजिक अभियन्ता सरोज राय ५ नेपाली बालकको उद्धार गरेका छन्। बाराका २, सर्लाहीका २ र महोत्तरीका एक बालकलाई अभियन्ता रायले शनिबार बिहान उद्धार गरी जनकपुरधाम ल्याएका हुन्।
बाराको कलैया नगरपालिकाका सुमीत दास, गंजभवानीपुरका इन्ताज हबारी, सर्लाही चक्रघट्टा गाउपालिकाका दिपेश यादब, सोही ठाउँका कृष्ण महतो र महोत्तरी सम्सी गाउँपालिकाका शेख नेमतुल्लाहलाई उद्धार गरिएको छ। उद्धार गरिएका सबै बालक १४ वर्षमुनिका छन्।
कानुनी प्रक्रिया पूरा गर्न नै एक महिनाभन्दा बढी लागेको र बल्ल आज उद्धार गरेर पाँचै बालकलाई ल्याउन सफल भएको अभियन्ता रायले बताए। उनले भने, ‘भारतमा कडा कानुन छ। त्यसैले अभिभावकहरु आ–आफ्नो छोरा ल्याउन पटकपटक दरभंगा पुगे। तर बालगृहले जिम्मा दिएनन्। मैले खबर पाएपछि कानुनी प्रक्रिया पूरा गरी उद्धार गरेका छौं।’
विभिन्न कारणले भारत पुगेका पाँचै बालकलाई विभिन्न मितिमा त्यहाँका उद्धारकर्मीले नियन्त्रण्मा लिएर दरभंगास्थित बालगृहमा राखेको थियो। अभियन्ता राय भन्छन्, ‘कोही मेला हेर्न गएका बेला बाटो बिराएर त कोही पढ्न मन लाग्दैन भनेर घरबाट भागेर भारत पुग्दा त्यहाँको बाल अधिकारकर्मीहरु उनीहरुलाई नियन्त्रणमा लिएको थियो।’
अभियन्ता राय यसघि पनि दर्जनौं बालबालिकाको भारतबाट उद्धार गरेका छन्। उनले विगत ६ महिनामै बरिब ३ दर्जन बालिबालिकाको उद्धार गरेर परिवारको जिम्मा लगाएको बताए। उनले बालबालिकाहरू अभिभावकको लापरबाहीले समेत भारत पुग्ने गरेकाले राज्यले शिक्षामासमेत जोड दिनुपर्ने बताए।
‘उद्धार गर्ने निकाय नै छैन’
विगतमा संघीय सरकारको मातहतमा बालकल्याण समिति थियो, जसले बालबालिकालाई उद्धार गर्ने काम गर्दथ्यो। तर देश संघीय संरचनामा गएपछि अहिले विदेशमा फसेका बालकलाई उद्धार गर्ने कुनै निकाय नै छैन।
अभियन्ता रायले बालबालिका उद्धार गर्ने कुनै निकाय नभएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले भने, ‘विभिन्न कारणले भारत वा अन्य देश पुगेका बालबालिकाको उद्धार गर्ने दायित्व राज्यको हो। तर हामी अभियन्ताले उद्धार गर्नुपरिरहेको छ। यो चिन्ताको विषय हो।’
संविधानअनुसार प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय (बोर्ड) बनाउनुपर्ने जरुरी रहेको अभियन्ता रायले बताए। उनले भने, ‘अहिले निजी खर्च गरेर बालक उद्धार गनुपर्ने अवस्था छ। त्यसैले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय (बोर्ड) अबिलम्ब गठन गरोस्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।