विदेश विभाग पाैडेल समूहलाई दिने तयारी

|
फाइल

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफुलाई नै बल पुग्ने गरी विभिन्न विभागहरु गठनको तयारी थालेका छन्। मंसिर २६ का लागि डाकिएको केन्द्रीय समितिको बैठकअघि नै देउवाले विभागहरु गठन गर्न कसरत गरेका छन्।

केन्द्रीय समितिको बैठकअघि अन्तर्राष्ट्रिय विभाग, सूचना‚ सञ्चार तथा प्रचार विभाग, संगठन विभाग, युवा तथा खेलकुदसहित केही महत्त्वपूर्ण विभाग गठनमा देउवाले आफु निकटका नेताहरुलाई खटाएको कांग्रेसका एक नेताले बताए।

‘एक दुई दिनमै सभापतिज्यूले पार्टीका केही महत्त्वपूर्ण विभागहरु गठनको प्रक्रिया टुंग्याउने गरी कसरत थाल्नुभएको छ,’ देउवा निकटस्थ स्रोतले भन्यो। यता वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह भने सभापति देउवाले छलफलबिना एकलौटी ढंगले विभाग गठन गर्न सजिलो नहुने बताउँछन्।

देउवाले महत्त्वपूर्ण विभागमा गनिएको विदेश विभाग भने रामचन्द्र पौडेल पक्षलाई दिने तयारी गरेको देउवा निकटका नेताहरु बताउँछन्।  ‘३३ महिनाअघि नै गठन भइसक्नुपर्ने विभागहरु सभापतिज्यूले एकाएक गठन गर्न हतारो गर्नुभयो,’ रामचन्द्र पौडेल पक्षका एक नेताले थाहाखबरसँग भने, ‘केन्द्रीय समितिकै कार्यकाल सकिन लाग्यो। यो समय भ्रातृसंगठनको अधिवेशन गराउने र पार्टीको महाधिवेशनको तयारी गर्ने बेला हो पो हो।’

कांग्रेसको चार वर्षे कार्यकाल रहेको वर्तमान कार्यसमितिको पदावधि नै सकिन लागेको छ। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले विभाग गठन गर्दा देउवाले गुट-उपगुट हेर्न लागेको आरोप लगाएका छन्।

पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न भएको बढीमा दुई महिनाभित्र सबै विभागहरु गठन गरिसक्नुपर्ने उल्लेख भएको विधानलाई टेकेर १३औँ महाधिवेशन सम्पन्न गरे पनि पछि उक्त विधान संशोधन गरिएको छ।

२०७५ फागुन १२ मा संशोधन भएको विधानमा महत्त्वपूर्ण विभागहरु कति समयभित्र गठन गरिसक्नुपर्ने भन्ने केही उल्लेख छैन। सभापति देउवाले विभाग गठनको विषयमा उपसभापति बिमलेन्द्र निधिलाई पौडेल समूहका नेताहरुसँग वार्ता गर्न जिम्मा दिएका थिए। निधिले महत्त्वपूर्ण विभाग देउवा समूहले नै लिने दोहोर्‍याएपछि पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ।  

पौडेल पक्षले आफ्नो भागमा आधा विभागहरू पर्नुपर्ने माग गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ। त्यसो त विभाग गठन गर्दा कस्तो ब्यक्तिलाई भूमिका दिने भन्नेबारे कांग्रेसको विधानमा स्पष्ट उल्लेख छ। विभाग गठन गर्दा मनोनयनमा पार्टी सदस्यहरूको रुचि, विज्ञता, अनुभव र पार्टीमा पु‍र्‍याएको योगदानलाई आधार बनाइने विधानमा उल्लेख छ। विधानलाई पूर्ण रुपमा सभापति देउवाले पालना नगर्दा समस्या भएको कांग्रेसका नेताहरुको आरोप छ। 

पौडेल पक्षले पनि सभापति देउवासँग भागबन्डाको 'बार्गेनिङ' गरिरहेको छ। देउवा र पौडेलको आफ्नो–आफ्नो अडानका कारण कांग्रेसका विभाग गठन हुन सकिरहेको छैन।

विभाग बढाउने दाउमा देउवा

नेपाली कांग्रेसको विधानमा तोकेभन्दा धेरै विभाग केन्द्रीय समितिले थप गर्नसक्ने ब्यवस्था छ। विधानमा २८ वटा विभाग हुने स्पष्ट उल्लेख छ। केन्द्रीय समितिले विभाग बढाउन सक्ने विधानको प्रावधानलाई टेकेर सभापति देउवा विभाग थप्ने दाउमा छन्।

पौडेल र सिटौला पक्षले भने भएका विभागलाई सक्रिय बनाउन माग गर्दै आइरहेका छन्। देउवाले यसअघिको केन्द्रीय समिति बैठकमा हाल रहेका २५ विभागलाई बढाएर ४५ बनाउने प्रस्ताव गरेका थिए। पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले महाधिवेशनमा आफुलाई फाइदा हुनेगरी विभाग बढाउन लागेको आरोप लगाएका छन्।  

उता सभापति देउवा थप गरेको विभागमा पौडेल र सिटौला पक्षका केही नेतालाई समावेश गरेर आफ्नो समूहमा तान्ने दाउमा छन्। देउवाले विभाग बढाउने भनेर बाहिरी तयारी गरेपनि त्यसको उद्देश्य महाधिवेशन केन्द्रित रहेको अन्य नेताहरुको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.