अवरोधले काम गर्न सकेनौँ : ठेकेदार

|

काठमाडौं : नवनियुक्त  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चावहिल–साँखु सडक खण्डको अनुगमन गरेका छन्। बिहीबार मन्त्री नेम्वाङ, नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेश सांसद रामेश्वर फूयाल तथा विभिन्‍न नेतासहितको टोली चावहिल–साँखु सडक खण्डको निरीक्षणमा पुगेको हो।

यो सडक खण्ड पछिल्लो समय विकास भएर होइन, जीर्ण भएर पटकपटक चर्चाको विषय बन्‍ने गरेको छ। पटक–पटक भौतिक मन्त्री, सांसद तथा नेताहरूले सडक अनुगमन गरी  ठेकेदार व्यवसायीलाई समयमा काम सक्‍न निर्देशन दिए पनि कामले भने गति लिन सकेको छैन।

नयाँ मन्त्रीले अनुगमन गर्ने कुरा स्थानीयले सुनेपछि जहाँजहाँ मन्त्री रोकिएर सडकको अवलोकन गरे त्यहाँत्यहाँ स्थानीयको भिड लागेको थियो।  मन्त्री नेम्वाङ ह्‍यात होटलबाट सडक अवलोकन गर्दै मूलपानीसम्‍म पुगे।

स्थानीयको प्रश्‍न तीन लाखले घर बनाउने कि पाटी?

मूलपानी पुगेर गाडीबाट मन्त्री ओर्लिएर सडक निरीक्षण के गर्दै थिए मन्त्री नेम्वाङ र नेकपा वरिष्ठ नेता तथा पूर्व-प्रधानमन्त्री माधव नेपालमाथि जसले निरीक्षण गरे पनि समयमा सडक निर्माण नभएको  भन्दै स्थानीयले आक्रोश पोखे।

मन्त्रीले सडक अवलोकन गरिरहेका बेला स्थानीय भागवती दाहालले आक्रोश पोख्दै भनिन्,‘वर्षाको बेलामा हामी भेलमा बस्नुपर्छ। अहिले धुलोले दिउँसै रात पर्छ। सरकारले मुआब्जा दिएको तीन लाखले घर बनाउने कि पाटी बनाउने?’ 

अर्का एक स्थानीयले पनि अनुगमनमा पुगेका त्यहाँकै जनप्रतिनिधिलाई समेत गाली गरे। ‘सडकको पर्खाल बनाउनु भनेर हामीले कतिचोटि भनिसक्यौँ,’उनले भने,‘किन नगर्नु  भएको? भाषण जस्तै काम गर्नुपर्‍यो नि। जो मन्त्री आए पनि काम भने गर्ने होइन। अनुगमन गर्नुको कुनै अर्थ छैन।’ मन्त्री भने गाडी चडेर फेरि अर्को ठाउँको अनुगमनतर्फ लागे। 

मुआब्जाको आदेशले ढिलाइ

अनुगमनपछि शंखरापुर नगरपलिकामा मन्त्री, सांसद, स्थानीय, ठेकेदार र जनप्रतिनिधिसँग उक्त सडककै विषयमा छलफल भएको थियो।

छलफलको क्रममा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले सर्वोच्च अदालतले घरधनीलाई जग्गाको मुआब्जा दिएर मात्रै घर भत्काउने आदेश दिएकाले सडक निर्माणमा ढिलाइ भएको बताए।

उनले भने,‘सडक जीर्ण छन्। अदालतले मुआब्जा दिएर मात्रै घर भत्काउने आदेश दिएकाले स्थानीयले घर भत्काउनै मान्दैनन्। दोष भने हामीले खेप्नुपर्छ।’ नगरपालिकाले सकेको जति सडक निर्माणमा पहल गरिरहेको उनले बताए।

चावहिल–साँखुको १२ किलोमिटर सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने योजना २०७२ सालबाट काम अघि सारिएको थियो। २०७४ सम्ममा सडक विस्तार सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो।

तर, बारम्बार म्याद थप्दा पनि हालसम्म कामले गति लिन सकेको छैन। जसले गर्दा सर्वसाधारणले घाममा धुलो र पानी पर्दा हिलोको सास्ती खेप्दै आएका छन्। उक्त अनुगमन टोलीले जोरपाटी–सुन्दरीजल सडकको पनि अवलोक गरेका थिए ।

ठेकेदारलाई मन्त्रीको निर्देशन 

चावहिल–साँखु सडकको अनुगमन गरिसकेपछि मन्त्री नेम्वाङले कामको गति अगाडि बढाउन ठेकेदार व्यवसायीलाई निर्देशन दिए। ‘यो सडक आम जनताले सरकोकार राखेको विषय हो,’ उनले भने,‘अनुगमन गर्दै गर्दा निर्माण व्यवसासायीहरुले अझै आफ्ना क्षमतालाई  बढाउनुपर्ने देखिएको छ। नगरपालिकाहरुले पनि निर्माणमा ध्यान दिनुपर्छ। निर्माणका लागि देखिएका नीतिगत समस्याहरुलाई मन्त्रालयले समाधान गर्छ।’

उनले छोटो समयमा काम सम्पन्न हुने आश्‍वासन पनि व्यक्त गरे। अनुगमनका क्रममा भेटिएका टेक्निकल समस्याहरुलाई पनि समाधान गर्ने उनले बताए। 

स्थानीयको अवरोध काम गर्न सकेनौँ : ठेकेदार 

उक्त सडक निर्माण गर्न जिम्मा पाएका ठेकेदार नारायण भट्टराईले स्थानीयको अवरोधले काम गर्न नसकेको सुनाए। ‘काम गर्दै जाँदा स्थानीयले जग्गाको मुआब्जा नदिई किन काम गरेको भनेर अवरोध गर्छन्,’उनले भने,‘सरकारले मुआब्जा दिँदैन। यस्तो वातावरणमा हामीले कसरी काम गर्न सक्छौ?’ अवरोध नहुने ठाउँहरुमा निरन्तर कालोपत्रेको काम गर्दै जाने उनले बताए।

कमसल काम  नहोस् 

पूर्व-प्रधानमन्त्री नेपालले अवलोकनपछि उक्त सडक निर्माणमा कमसल काम नगर्न ठेकेदारलाई निर्देशन दिएका छन। उनले भने,‘छिटो र गुणस्तरीय काम होस भनेर हामी निरिक्षणमा आइरहेका छौँ। त्यसैले आज पनि आएका हौँ। अनुगमन गर्दा कुनै सडकको गुणस्तर राम्रो, कुनै कमसल देखिएको छ। यस्तो नहोस।’

सडकका खाल्डाखुल्डिले सर्वसाधारणले सास्ती खेप्न बाध्य भएको बताउँदै उनले खाल्डा परेका ठाउँमा तत्काल मर्मत गर्न ठेकेदारलाई आग्रह गरे। उनले ठकेदारलाई भने,‘चौडा भएको ठाउँमा कालोपत्रे गरिनुपर्छ। चैत मसान्तसम्ममा अवरोध नभएका ठाउँहरुमा कालोपत्रेको काम गरियोस ।’

मुआब्जा लिनेका लागि घर भत्काउन सूचना

उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले उक्त सडक निर्माणका क्रममा घरधनीले मुआब्जा लिएकाले तत्काल घर भत्काउन सूचना जारी गर्ने बताए।

उनले घर भत्काउने सहमतिमै मुआब्जा दिएको बताए। ‘केही घरधनीले घरको मुआब्जा लिइसकेका छन,’उनले भने,‘उनीहरुले घर नभत्काएको पाइएको छ। कुनैले मुआब्जा लिएका छैनन। भोली नै हामी घर भत्काउन सूचना जारी गछौँ। घर नभत्काए स्थानीय निकायको समन्वयमा हटाउँछौँ। सडक क्लियरिन्सका लागि विजुलीका पोल लगायत संरचना पनि हटाइन्छ।’ 

मन्त्रीमाथि आक्रोशित स्थानीय : भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.