नगर प्रमुख भन्छन्-'भत्काएको सम्पदा नबनाएसम्म सडक बनाउन दिन्नौँ'
नगर प्रमुख भन्छन्-'भत्काएको सम्पदा नबनाएसम्म सडक बनाउन दिन्नौँ'
भक्तपुर : मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरूको मुखमै एउटा नारा छ – ‘हाम्रो कला हाम्रो संस्कृति–मध्यपुर थिमि हाम्रो सम्पत्ति!’
तर, अहिले यिनै जनप्रतिनिधि र कर्मचारीले विकासका नाममा जे गरिरहेका छन्, त्यो उनीहरूले लगाइरहेको नाराभन्दा बिल्कुलै विपरीत छ। संस्कृति संरक्षणको नारा लगाउने जनप्रतिनिधिहरूले विनाशकारी पारा देखाएका छन्। नगरपालिकामा अहिले भूकम्पले भत्काएका संरचनाहरू पुनर्निर्माण त भइरहेका छन्, सँगसँगै सडक विस्तारका नाममा ऐतिहासिक सम्पदा धमाधम भत्काउने काम भइरहेको छ।
सडक विस्तारका क्रममा नगरपालिकाले सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र नजिकको ऐतिहासिक पाटी र ढुंगेधाराको अस्तित्व समाप्त पारिदिएको छ। स्थानीय उपभोक्ता समितिले अन्यत्र स्थानान्तरण गर्ने भन्दै डोजर लगाएर भत्काइदिएपछि एउटा ऐतिहासिक सम्पदाको अस्तित्व समाप्त भएको हो।
पेप्सीकोला–सानोथिमि–बहाखाबजार–सल्लाघारी सडकलाई ११ दशमलव २२ मिटर चौडा बनाउने भन्दै उपभोक्ता समितिले सो पाटी भत्काइदिएको हो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक सीमाभित्र परेको भन्दै सो पाटी भत्काउन गत भदौ नौ वडा कार्यालयलाई पत्र काटेको थियो। सो पत्रमा उक्त पाटीलाई पुरानै शैलीमा सडक सीमाबाहिर स्थानान्तर गरी पुनर्निर्माण गर्न सम्पूर्ण लागतसमेत व्यहोर्ने जानकारी गराएको छ।
भत्काइएको पाटी र ढुंगेधारालाई सडक किनारमा पर्नेगरी नेपाल युवा परिषदको परिसर बाहिर स्थानान्तरण गर्ने वडाले दाबी गरेको छ। पुनर्निर्माण गर्ने योजनाका साथ बृहत् छलफल गरेर पाटी भत्काएको वडा अध्यक्ष राम थापामगरले जानकारी दिए।
एकातिर भत्काइएका सम्पदा बनाउने लागत आयोजनाले व्यहोर्ने भनिएको छ भने अर्कातिर नगरपालिकाकै बजेटले पुनर्निर्माण गर्ने भन्दै उपभोक्ता समिति गठन गरिएको छ। पाटी र ढुंगेधारा पुन: स्थापनाका लागि नगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ।
वडाले सम्पदा भत्काएपछि मध्यपुर थिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ भने असन्तुष्ट देखिएका छन्। स्थानान्तरण गरेर सम्पदा संरक्षण नहुने भन्दै श्रेष्ठले यसअघि भएकै स्थानमा पाटी पुनर्निर्माण नगरेसम्म सडक विस्तार गर्न नदिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।