महाधिवेशनको मुखमा लथालिङ्ग संगठन

|

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूलाई देशकै सबैभन्दा लोकतान्त्रिक पार्टी दाबी गर्छ। विश्‍वेश्‍वरप्रसाद कोइरालाले जगाएको कांग्रेस अहिले भाँडभैलो र भद्रगोलमा रुमल्लिएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल सकिन मात्रै तीन महिना बाँकी छ। वर्तमान कार्यसमितिको पदावधि सकिनै लाग्दा देउवाले आफूलाई एकाएक क्रियाशील बनाएका छन्।

पार्टीका २५ वटा महत्वपूर्ण विभागलाई बढाएर ४१ वटा बनाउन देउवाले बिहीबारको कार्यसमितिको बैठकमा पेलेरै प्रस्ताव गरे। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पार्टी कार्यालयमा उपस्थित भए पनि बैठकमा सहभागी भएनन्।

महामन्त्री शशांक कोइरालाले पारिवारिक कारण देखाएर बैठकमा सहभागिता जनाएनन्। पौडेल गुटका अधिकांश नेताले बैठक बहिष्कार गरे। पार्टीका प्रमुख नेताहरु सहमत नहुँदा-नहुँदै देउवाले जसरी आफै‌ंमा शक्ति केन्द्रितकृत गर्न पटक-पटक एकतर्फी निर्णय गरिरहेका छन्, त्यसले पार्टीभत्रको आन्तरिक लोकतन्त्रलाई लगभग धुलिसात पारिदिएको नेताहरु स्वयं बताउँछन्।

‘सबै आफ्ना हुँदा खुसी’ 

बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई हुर्काएर यहाँसम्म ल्याइदिएको नेपाली कांग्रेसमा असन्तुष्ट समूह भनिएकाहरुको (पौडेल र सिटौला समूह) मागलाई बेवास्ता गरी देउवाले एकलौटी बहुमतका आधारमा धमाधम प्रस्ताव पेश गरेपछि कांग्रेसमा आन्तरिक कलह छरपस्ट भएको हो।

विधानअनुसार अब सभापति शेरबहादुर देउवाले पार्टीलाई जम्माजम्मी तीन महिनामात्रै नेतृत्व गर्न पाउने हुन्। इतर पक्षले नयाँ नेतृत्व चुन्ने महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग राखिरहेको छ।  ‘हाम्रो माग अरु केही होइन, आगामी महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्छ भनेका हौँ', वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, 'सभापतिज्यूले जे कुरालाई पनि महाधिवेशनबाट आफू निर्वाचित हुने रणनीतिका रुपमा प्रयोग गरिरहनु भएको छ, उहाँ व्यक्तिगत फाइदामा केन्द्रित भएपछि हामी चुप लागेर बस्न सक्दैनौँ।’ 

पाैडेलले यसो भनिरहँदा उनी आफैँ पनि पार्टीका महत्वपूर्ण विभाग गठनमा आधा भाग पाउनुपर्ने अडानमा छन्। उता तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला समूह पनि केही विभाग आफ्नो पक्षले पाउनुपर्ने अडानमा छ।

यता शेरबहादुर देउवा पार्टीको विदेश विभाग पौडेल पक्षलाई दिएर अरु सबै आफैँ राख्ने रणनीतिमा छन्। 

सभापतिले गुटको राजनीति मौलायो : रामचन्द्र

कांग्रेसले पार्टीका महत्वपूर्ण विभागहरु लथालिंग रहेको अवस्थामा नयाँ विभाग थप्‍न लागेको छ। यसका लागि सभापति देउवाले हरप्रयास गरिरहेका छन्। कांग्रेसमा केन्द्रीय नेतृत्वदेखि भातृसंघसंस्थामा भाँडभैलो छ। गुट-उपगुटको राजनीति घट्ने भन्दा बढिरहेको छ।

नेता पौडेल गुटको राजनीति मौलाउनुमा पार्टी सभापति शेरबहादुर देउवामाथि आरोप थोपर्छन। ‘पार्टी सभापतिकै कारणले गर्दा कांग्रेसमा गुटउपगुट मौलाएको छ,’ थाहाखबरसँगको कुराकानीमा पौडेलले भने, ‘हामीले अधिवेशनको कार्यतालिका सार्वजनिक गरौँ, भातृसंस्थाको विवाद अन्त्य गरौँ भन्दा नटेर्ने। हामीले पार्टीलाई सुदृढीकरण गरौँ भनेका हौँ।’  

कार्यकाल लम्ब्याउने दाउ

विगतमा पनि कांग्रेसमा केन्द्रीय समितिको पदावधि सकिएकै समयमा चुनाव भएको छैन। सभापतिले विधानमा उल्लेख भएको समायावधि थप गर्न पाउने व्यवस्थालाई देउवाले पनि प्रयोग गर्ने छनक दिइसकेका छन्।

पौडेल पक्षका नेताहरुले देउवा अधिवेशन नगराई कार्यकाल थप्ने रणनीतिमा लागेको शंका गरेका छन्। ‘सभापतिज्यू चुनाव महादिवेशन नगरी कार्यकाल लम्ब्याउने दाउमा हुनुहुन्छ,’ रामचन्द्र पौडेल पक्षका एक नेताले भने, ‘नत्र अहिले भएका विभाग सक्रिय बनाउन नलागेर नयाँ विभाग थप्न किन लागेको? महाधिवेशनको कार्यतालिका ल्याउन ढिला भइसक्यो।’ 

उनले अहिले महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरे अर्को वर्ष पनि महाधिवेशन नगर्ने मनस्थितिमा सभापति देउवा रहेको आरोप लगाए। देउवा पक्षका नेताहरु जसरी पनि पेलेर जाने मनस्थितिमा रहेको स्वीकार्छन।

‘पार्टीको विधानमा जेजे गर्न मिल्छ, त्यो सभापतिले गर्नुभएको हो,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘पहिले केके भयो त्यो थाहा भएन, अहिले पार्टीलाई हानी पुर्‍याउने गरेर सभापतिज्यूले केही निर्णय गर्नुभएको छैन। प्रस्ताव पनि ल्याउनु भएको छैन।’ 

पार्टीका भातृ संस्थामा उस्तै भद्रगोल 

कांग्रेसको बीऊ मानिने नेपाल विद्यार्थी संघ भद्रगोल छ। कांग्रेसको पार्टी कार्यालय अगाडि दिनहुँजसो नेविसंघता कार्यकर्ताको धर्ना र नाराबाजी चलिरहेको छ। उनीहरुको एउटै माग ३२ वर्ष उमेरसम्मका विद्यार्थी कार्यकर्ता मात्रै नेविसंघमा रहनुपर्ने हो।

यहाँ पनि पार्टीकै जस्तो गुटको असर ब्यापक छ। उता कांग्रेसको बल मानिने तरुण दलमा पनि त्यस्तै छ। भातृसंस्थाको म्याद गुज्रे पनि पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन बोलाउन पार्टीमा कुनै छलफल नगरेको कांग्रेसकै नेताहरुले आरोप लगाउँदै आएका छन्। 

लोकतन्त्र स्थापित गर्न राजनीतिक दलले आन्तरिक लोकतन्त्र झन बलियो बनाउनै पर्छ। तर कांग्रेसले यसलई भुल्दै आएको छ। केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार गठन भएयता नेपाली कांग्रेसले अधिनायकवाद लादियो भन्‍न छोडेको छैन।

तर, कांग्रेस आफैँ भने आन्तरिक लोकतन्त्र मजबुद गर्नुको साटो गुटगत राजनीतिमा केन्द्रित छ। यही मंसिर २६ गते डाकिएको बैठक बहिस्कार गरेका रामचन्द्र पौडेल महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरेसम्म बैठक चल्न नदिइ बहिस्कार गरिरहने बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.