३० जनाको टोलीले बुधबार क्याम्प छाड्यो

|
गुप्सीपाखाकाे नमुना बस्ती (फाइल फोटो)

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको धार्चे-४ गुप्सीपाखामा बनाउँदै गरेको बस्ती निर्माण नसकिँदै नेपाली सेनाले हात झिकेको छ। 

२०७२ बैशाख १२ को भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेका लाप्राकवासीका लागि एनआरएनएले बस्ती निर्माणको जिम्मा लिएको थियो। जसमा नेपाली सेनाले सघाउँदै आएको थियो। 

एनआरएनले करिब ६०० घर निर्माण गर्नेगरी गुप्सीपाखामा नमुनाबस्ती निर्माण थालेको थियो। तर बस्ती निर्माण नसकिँदै सेनाले गुप्सीपाखाको क्याम्प छाडिसकेको छ। सेनाले २०७३ देखि नै बस्ती निर्माणमा सघाउन क्याम्प राखेको थियो। 

एनआरएनको इतिहासमै सबैभन्दा विवादित भनिएका पूर्वअध्यक्ष भवन भट्टमाथि नमुना बस्ती पुननिर्माणमा व्यापक अनियमितता गरेको आरोप लागेको थियो। उनले समयतालिकाअनुसार काम नगरेको अर्को आरोप पनि झेल्नु परेको छ।

स्रोतका अनुसार बस्ती निर्माणमा संलग्न भइरहँदा विवादमा मुछिने देखिएपछि सेनाले गुप्सीपाखाबाट क्याम्प नै हटाएको हो। सेनाले भने एनआरएनएसँग सल्लाह गरेरै गुप्सीको अस्थायी क्याम्पबाट बाहिरिएको जानकारी दिएको छ। 

‘हामीले बस्ती बनाउन सक्ने जति सहयोग गरेपछि त्यहाँबाट बाहिरिएका हौँ,’ रणसिंह दलगण गोरखाका प्रमुख कर्णेल उज्वल केसीले भने, ‘गुप्सीपाखाको क्याम्पमा क्याप्टेनको नेतृत्वमा हाम्रो ३० जनाको टोली थियो, पहिले २०० जनाजति सेनाले त्यहाँ काम गर्थे। आज (बुधबार) बाट हामीले क्याम्प खाली गर्‍यौं। गाउँलेहरुले हामीलाई धन्यवाद दिएर विदाई गर्नुभयो।’

सेनाले लाप्राक नमुना बस्ती निर्माणमा आठ करोड रुपैयाँ बराबरको श्रमदान गरेको जनाएको छ। एक वर्षमा बस्ती निर्माण सक्नेगरी एनआरएनसँग सम्झौता गरेर गएको नेपाली सेनाले यो बिचमा २ पटक सम्झौता म्याद थपेको थियो।

समुद्री सतहदेखि २८०० मिटर उचाईको गुप्सीपाखामा अहिले हिउँ जमेको छ। हिउँ परेकाले नमुना बस्ती निर्माणसमेत प्रभावित भएको छ। गुप्सीको बस्तीमा चित्तै नबुझ्ने संरचना बनेपछि लाप्राकीहरु जोखिमयुक्त पुरानै गाउँमा पक्की संरचना बनाएर बसिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.