अबको बैठक पुस ४ गते

|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। आन्तरिक विवादको समाधानका लागि प्रयास जारी रहेका कारण बुधबारका दिउँसो १ बजेको लागि डाकिएको बैठक स्थगत गरी पुस ४ गतेका लागि सारिएको छ।  

‘वरिष्ठ नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पार्टीको विवाद समाधानको लागि छलफलमा रहेकोले आजको बैठक सारिएको छ,’ कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले भने, ‘अब पुस ४ गते दिउँसो १ बजे बैठक बस्नेछ।’

बुधबार दिनभर नेपाली कांग्रेसमा असन्तुष्ट समूह भनिएको पौडेल पक्षले पौडेल निवास बोहोराटारमा छलफल जारी राखेको छ। पौडेल पक्षको छलफल भनिए पनि उक्त छलफलमा नेपाली कांग्रेसमा तेस्रो पक्षको नेतृत्व गरिरहेका सिटौला पनि सहभागि छन्। सिटौला वरिष्ठ नेता पौडेलकै निमन्त्रणामा बोहोराटार पुगेका हुन्। गत शनिबार सभापति शेरबहादुर देउवाले पनि पौडेल निवास बोहोराटार पुगेर उनलाई फकाउने प्रयास गरेका थिए। 

त्यसयता देउवा पक्षबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट वरिष्ठ नेता प्रकाशमान सिंहले पटकपटक छलफल गरिसकेका छन्। दुई पक्षले समाधान निकाल्न नसकेपछि सिटौला निकै सक्रिय देखिएका छन्। यसअघि दुई दिन स्थगित गरेर बुधबार दिउँसो १ बजेको लागि बैठक आह्वान गरिएको थियो। 

‘आजको छलफलले केहि न केही निचोड निकाल्छ,’ पौडेल पक्षका नेता नवीन्द्रराज जोशीले भने। गत मंसिर २६ गते केन्द्रीय कार्यसमितिको बैठक सुरु भए पनि पौडेल पक्षले संस्थापन पक्षलाई १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका नल्याई बैठकमा सहभागि नहुने घुर्की लगाउँदै बैठक बहिस्कार गर्दै आएको छ। 

उता पार्टी सभापति देउवा पक्षले भने पहिले पार्टीको संगठन संरचना पूरा भएपछि मात्रै अधिवेशनको निर्वाचन कार्यतालिका ल्याउने बताउँदै आएको छ। पौडेललाई फकाउन देउवा आफैँ पनि सक्रिय देखिए पनि सफल भएनन्।

दुई पक्षको विवाद समाधान गर्न सभापतिको पक्षबाट पार्टी उपसभापति निधि र पौडेल पक्षबाट वरिष्ठ नेता सिंहले छलफलको नेतृत्व गर्दै आइरहेका छन्। पछिल्लो समय सिंह निवास चाक्सीबारीमा दुई पक्षका नेताहरूको लगातार छलफल हुने गरे पनि निस्कर्ष निस्कन सकेको छैन।

हिजो (मंगलबार) भएको चाक्सीबारीको छलफलमा पनि भ्रातृ संस्था, विभाग, कार्यतालिका र क्रियाशील सदस्यताका विषयमा छलफल भएको थियो। संस्थापन पक्ष र पौडेल पक्षका नेताहरूबीच भएको छलफलमा नेता सिटौला पनि सहभागी भएका थिए। उक्त छलफलअघि पौडेल पक्षका नेता सिंहसँग सिटौलाले छुट्टै भेट गरेका थिए। 

पौडेल पक्षले नेविसंघमा नेतृत्वसहित ४६ प्रतिशत पाउनुपर्ने दाबी गरेको छ। पौडेल पक्षले नेविसंघको नेतृत्व नपाए तरुण दल एकलौटी पाउनुपर्ने दाबी गर्दै आएको छ। स्रोतका अनुसार पौडेल पक्षले नेविसंघ र तरुण दलको नेतृत्वसहित कार्य समिति नै आफ्नो भागमा पाउनुपर्ने दाबी गरेको छ। पौडेलको यो मागमा सभापति देउवा र वरिष्ठ नेता सिटौला पनि मन्जुर छैनन्। 

त्यस्तै, अघिल्लो बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेल पक्षले बहिस्कार गरे पनि संस्थापन पक्षले पार्टीमा भएको २८ विभागलाई बढाएर ४१ वटा बनाउन प्रस्ताव पेश गरेको थियो। ४१ विभागमध्ये आधा विभाग आफ्नो पक्षले पाउनुपर्ने पौडेल पक्षको दाबी छ। यद्यपि आधा विभाग दिने पक्षमा सभापति शेरबहादुर देउवा देखिँदैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.