'लिम्पियाधुरा मात्रै होइन, टिस्टा र काँगडा पनि फिर्ता मागौँ'

|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले भारतले अतिक्रमण गरेको सीमा फिर्ता गर्ने विषयमा पहल गर्न सरकार चुकेको आरोप लगाएका छन्।

सोमबार काठमाडौँमा राष्ट्रिय जागरण मञ्चले गरेको नेपालको राष्ट्रियतामा भारतीय प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले यस्तो बताएका हुन्। 

छिमेकी भारतले असल र महान छिमेकी हुन तीनवटा काम गर्नुपर्ने उनले बताए बताए। ‘भारतले तीनवटा काम गर्नुपर्‍यो। जति पनि हडपेको जमिन छ, त्यो भूमि सर्लक्कै फिर्ता गर्नुपर्छ, सिमाना अतिक्रमण बन्द गर्नुपर्छ र नेपालको आन्तरिक मामिलामा सुराकी खटाउने काम बन्द गरी टिस्टा-काँगडाको भूमि फिर्ता गर्नुपर्‍यो,’ उनले थपे, ‘भारतले यी तीन काम गर्‍यो भने बल्ल नेपालीले दक्षिणी छिमेकी महान भन्‍नेछन्।'

उनले भूमि फिर्ताबारेमा ओली नेतृत्वको सरकारले लामो समय केही नगरी बसेको आरोप लगाए। ‘संसदमा रहेका दलहरु बैठक बोलाएर नेपालको अतिक्रमित भूमि फिर्ता गराउन राष्ट्रिय सहमति बनेको समाचार सुन्यौँ,’ उनले भने, ‘यो सरकारको पहल सही हो। यसमा नेकपा माओवादी केन्द्रले पनि सरकारको समर्थन गर्‍यो। तर, लामो समय सरकार केही नगरी बस्यो। अब त पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन सक्ने बहुमतको सरकारले सास फेरेको सुनिदैँन, देखिँदैन।’ 

सिमानास्थित सुरक्षा पोस्टहरु थपेर २२२ बनाउने बाहेक यस विषयमा सरकारले केही नगरेको उनको आरोप छ। ‘प्रधानमन्त्रीले भारतीय सेना हटाइन्छ भनेर ठूलो आजावमा बोल्नु भयो। आजको प्रतिक्रिया त्यो नहटाउन बोलेको हुनुपर्छ भन्‍ने छ। भएको पनि त्यही छ,’ उनले भने।

सरकारका प्रवत्ता गोकुल बाँस्कोटाले केही दिनअघि देशमा राजनीतिक क्रान्ति सकिएको भन्दै दिएको अभिव्यक्तिप्रति किरातीले आपत्ति जनाए। 

‘सरकारको प्रवत्ताले अस्ति एक दिन राजनीतिक क्रान्ति सकियो अब खुरुखुरु आर्थिक क्रान्ति गर्नुपर्छ भन्‍नुभयो। नेपालमा राजनीतिक क्रान्ति पुरा भएको हो भने राष्ट्रियताको मामिला त टुंगिसक्नु पर्थ्यो,’ उनले भने, ‘हाम्रो स्वाधीनताको मामिला, सार्वभौमसत्ताको मामिला, अखण्डताको मामिला टुंगिसकेको हुनुपर्थ्यो। टुंगिएन र त हामी यो दु:ख भोगिरहका छौँ। सरकारका प्रवक्ता असाध्य झुट बोलिरहनु भएको छ।’ 

भारतले अतिक्रमण गरेका सबै भूभाग फिर्ता ल्याउन सरकारले ढिला गरेको उनको भनाई छ। ‘हाम्रो सुस्ता, मैसपुर, लिम्पियाधुरा, कुटियाङ्दी, लिपुलेक फिर्ता गराउने काम सरकारले गर्नुपर्छ,’ उनले थपे, 'यदि गरेन भने सरकारको बाह्र बजाउने काम जारी रहन्छ। फिर्ता गर्नै पर्छ। टिस्टा-काँगडा फिर्ताको आन्दोलन पनि अब उठाउनुपर्छ।’ सुगौली सन्धिपछि नेपालीको थाप्लोमा राष्ट्रियताको नाममा दु:ख थोपारिएको उनको भनाई छ।

सुघौली सन्धिले नेपाललाई तीनवटा बेफाइदा भएको उनको ठहर छ। ‘सुगौली सन्धिले हामीलाई तीन वटा बेफाइदा गर्‍यो,’ उनले भने, ‘नेपालको आत्मनिर्णयको अधिकार कुण्ठित भएको छ। यहाँका आदिवासी जनताजाति युवालाई विदेशी सेनामा लखेट्यो र नेपालको भूभाग अंग्रेज भारतलाई सुम्पियो।’

त्यस्तै उनले अहिले सरकारमा रहेको पार्टीको राजनीतिक प्रतिवेदनमा सुगौली सन्धि अपमानजनक रहेको उल्लेख रहे पनि नेपाल र नेपालीको सम्मानमा के गर्ने भन्‍ने नभएको बताए। किरातीले इण्डोप्यासिफिक रणनीति नेपालको अर्काे दशाको रुपमा आएको तर्क गरे।

‘इण्डोप्यासिफिक रणनीति अर्काे दशा आएको छ। अहिले चर्चामा रहेको एमसीसी यही इण्डोप्यासिफिककै अंग हो,’ उनले भने, ‘यो स्वीकार गर्नु भनेको नेपाललाई अर्काे अफगानिस्तान बनाउने षड्यन्त्र हो।’ 

इण्डोप्यासिफिक रणनीतिक भनेको इण्डो-अमेरिकन रणनीति रहेको उनले बताए। ‘चीन र अमेरिकाको आफ्नो आफ्नो सम्बन्ध होला तर, नेपाललाई खाल्डोमा जाक्न पाउँदैनन्,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.