माधव नेपाल र राजपा नेतासँग पनि बिदाइ भेट

|
देउवा निवासमा राजदूत पुरीसँग बिदाइ भेट गर्दै कांग्रेस नेताहरु। फोटो : आर्जु राणाकाे फेसबुकबाट

काठमाडाैं : आन्तरिक विवादका कारण पार्टी केन्द्रीय समितिको बैठक प्रभावित बनिरहेको बेला कांग्रेसका नेताहरु भारतीय राजदूतलाई बिदाइ गर्न भने एकजुट भएका छन्।

आफ्नो कार्यकाल सकिएपछि भारत फर्किन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीसँग बिदाइ भेट गर्न सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा नेताहरुलाई बोलाएका थिए।

राजदूत पुरी श्रीमतीसँगै देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवा निवासमा राजदूत पुरीको बिदाइ भेटका क्रममा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छेदार लगायतका नेता भेला भएका थिए।

राजदूत पुरी श्रीमतीसँगै देउवा निवास पुगेका थिए। राजदूत पुरीसँगको भेटपछि कांग्रेसका नेताहरुले पार्टीकै विषयमा छलफलसमेत गरे।

‘पार्टीको विवाद समाधान गर्न त्यसरी भेला भएको भए हुन्थ्यो,’ एक केन्द्रीय सदस्यले भने, ‘हाम्रा नेताहरु छिमेकी कसरी रिझाउने भनेर लाग्नुभएको छ। यो कांग्रेसका लागि दुर्भाग्य हो। पार्टी विवाद समाधान गरेर भेट्न गएको भए केही गुनासो रहने थिएन।’  

कांग्रेसमा विभाग गठन र भातृसंस्थाको विषयमा सभापति देउवापक्ष र वरिष्ठ नेता पौडेलपक्षबीच विवाद हुँदै आएको छ। गत मंसिर २६ गतेदेखि सुरु केन्द्रीय समितिको बैठक पौडेल समूहले बहिस्कार गर्दै आएको छ। कांग्रेसले पछिल्लो बैठक पुस १० गतेलाई बोलाएको छ। उक्त बैठकमा पनि पौडेलपक्ष सहभागी हुने सम्भावना न्यून रहेको नेताहरु बताउँछन्। 

नेपालले पनि बोलाए

यता सत्तारुढ नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि राजदूत पुरीलाई आफ्नै निवास कोटेश्‍वरमा बोलाएर बिदाइ भेट गरेका छन्।

नेकपा विदेश विभाग प्रमुखसमेत रहेका उनले पुरीसँग केही दिनअघि निवासमै बिदाइ भेट गरेका हुन्। त्यस्तै प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपालले पनि राजदूत पुरीसँग बिदाइ भेट गरिसकेको छ।

राजदूत पुरीसँग भेटवार्ता गर्दै नेकपाका नेता नेपाल 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.