गिरिजा-कृष्णप्रसादको जस्तै रामचन्द्र-शेरबहादुरको विवाद

|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अझै जटिल बन्दै गएको छ। सहमतिका लागि भन्दै केन्द्रीय कार्यसमितिको बैठक पटक पटक स्थगित भइसकेको छ। 

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विभाग गठन, महाधिवेशन कार्यतालिका र भ्रातृसंस्थाको विषयमा सहमति नहुँदा बैठक बस्‍न सकेको छैन। पौडेल पक्षले केन्द्रीय कार्य समिति बैठक बहिस्कार नै गर्दै आइरहेको छ।

पौडेल पक्षले बैठक बहिस्कार गरिरहेपछि सभापति देउवाले पौडेललाई फकाउने प्रयास जारी राखेका छन्। दुवै पक्षबाट वार्ता टोलीसमेत गठन गरिएको छ। 

नेता गणेशमान सिंहको निवास चाक्सीबारीले हरेक राजनीतिक घटनाको समाधान निकाले पनि अहिले त्यहीँ भएका छलफल निस्कर्षमा पुगेका छैनन्। कांग्रेसको विवाद समाधानको लागि पौडेल पक्षबाट उनै गणेशमानका छोरा प्रकाशमान र सभापति देउवा पक्षबाट पार्टीका उपसभापति बिमलेन्द्र निधि वार्ता टोलीका संयोजक छन्। 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको विवादले पार्टी नै फुट्ने स्थिति पुगेका बेला गणेशमानले चाक्सीबारीमै डाकेर विवादको समाधान निकालेका थिए। उहिलेका गिरिजा र कृष्णप्रसादको जस्तै विवाद अहिले देउवा-पौडेलको छ। विवाद समाधानका लागि नेताहरुले फेरि चाक्सीबारीलाई नै प्रयोग गरेका छन्।

चाक्सीबारीमा फुकेन गाँठो

प्रकाशमान सिंह र बिमलेन्द्र निधिले पटक-पटक चाक्सीबारीमा छलफल गरिसके। लामो समयपछि चाक्सीबारीमा नेताहरुको आऊजाऊ, जमघट बाक्लो हुन थालेको छ। 

गत मंसिर २६ गते बिहीबार कांग्रेसको केन्द्रीय समितिको बैठक डाकिएको थियो। उक्त बैठक वरिष्ठ नेता पौडेल पक्षले बहिष्कार गरेपछि सभापतिले एजेण्डा प्रस्तुत गर्न सकेनन्।

सभापति देउवाले भएका २८ विभागलाई चलायमान बनाउन नसकिरहेको बेला बढाएर ४१ विभाग बनाउने लगायतका एजेण्डा प्रस्तुत गरे पनि छलफलका लागि बैठक चलाएनन्।  त्यसपछि पनि बैठक आह्वान गरेर फेरी सहमतिको लागि छलफल गर्ने भन्दै स्थगित गर्ने गरिएको छ।

पछिल्लो समय एकहप्ता बैठक स्थगित गरेर पुस १० गतेलाई डाकिएको बैठक पनि सूर्य ग्रहणलाई बाहना बनाउँदै ११ गतेलाई सारिएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका गतिविधिलाई खबरदारी गर्नुपर्ने हो तर, कांग्रेसलाई आन्तरिक द्वन्द्व मिलाउन नै फुर्सद छैन। 

२६ गतेको पहिलो बैठक बहिस्कार गरेपछि भोलिपल्ट देउवा बिमलेन्द्र निधिलाई साथमै लिएर पौडेल निवास बोहोराटार हाइट पुगे। आफ्नै निवास आएका सभापति र उपसभापतिलाई पौडेलले महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने र विभाग गठन लगायतको पुरानै अडान दोहोर्‍याएपछि छलफलले निचोड निकालेन। 

देउवाले विभाग गठनको काम सकेपछि महाधिवेशन कार्यतालिका ल्याउने प्रतिवद्धता गरे पनि पौडेलले अडान छोडेनन्। बरु पार्टीको बैठक छोडेर पौडेल परिवारको साथ पाथीभरा दर्शनमा गए। यसबीचमा देउवाले निधिलाई महामन्त्री शशांक कोइरालासँग भेटगर्न कोइराला निवास महाराजञ्ज पठाए।

कोइरालासँग छलफल गरेपछि उपसभापति निधि पौडेल पक्षका नेता प्रकाशमान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारी पुगे। यो भेटदेखि नै लामो समयपछि चाक्सीबारीमा कांग्रेसका नेताहरुको आउजाउ सुरु भएको हो। 

सिंह निवासमा त्यस दिन विभाग गठन र महाधिवेशनको कार्यतालिकासँगै पेश गर्ने विषयमा छलफल भएको छलफल भएको थियो। छलफल भए पनि दुई पक्षबिच सहमति भने हुन सकेन। 

पौडेलसँग मात्रै छलफल गरेर समाधान नहुने निचोडमा पुगेका सभापति देउवाले वरिष्ठ नेता प्रकाशमान सिंहलाई भेट्न निधिलाई खटाए। दुई नेताको भेट पछि पनि कांग्रेसको बैठकमा एजेण्डाहरु प्रस्तुत भएनन्।

विवाद समाधान हुने छाँट नदेखेपछि कांग्रेसमा तेस्रो गुटको नेतृत्व गरिरहेका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले वरिष्ठ नेता पौडेलसँग छलफल गर्न पुस १ गते चाक्सीबारीमा पुगे। पौडेलसँगको छलफल पछि सिटौलाले सिंहसँग पनि चाक्सीबारीमै भेटवार्ता गरे। 

सहमतिको लागि भन्दै एकहप्ता बैठक स्थगित भएपछि नेताहरु चाक्सीबारीमै छलफलमै व्यस्त रहे। दुवै पक्षका नेताहरुबीच विवादित विषयहरुलाई बैठकमै छलफल गरेर टुंग्याउने सहमति भएको छ।

दुवै पक्षका नेताहरुबीच भद्र सहमति भएको बताए पनि देउवा र पौडेल बीच सहमति नभई समाधान हुने नेताहरु बताउँछन्। ‘दुईपक्षबीच सहमति नै भएको छैन,’ नेता रमेश लेखक भन्छन्,‘पार्टीमा एकले अर्काेलाई पेलेरै जानुपर्छ भन्‍ने मान्यता हटाएपछि सहमति हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.