दुवै पक्षले दूत खटाए तर समस्या जस्ताको तस्तै

|
फाइल फोटो

काठमाडाैं : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानको लागि गठित समितिको नै बैठक बस्न छोडेको छ। पार्टीको विभिन्न विभाग गठन, महाधिवेशनको निर्वाचन कार्यतालिका, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशन लगायतका विषयमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद चुलिँदो छ।

विवाद समाधानको लागि सभापति देउवा पक्षबाट पार्टी उपसभापति बिमलेन्द्र निधि र पौडेल पक्षबाट वरिष्ठ नेता प्रकाशमान सिंह संयोजक रहने गरी वार्ता समिति गठन भएको छ।

गत मंसिर २६ गते बसेको बैठकमा सभापतिले महाधिवेशनको कार्यतालिका पेश गर्न अस्वीकार गरेपछि त्यसयताका बैठक पौडेल पक्षले लगातार बहिष्कार गर्दै आइरहेको छ। 

पौडेललाई फकाउन सभापति देउवाले आफूसँगै उपसभापति निधिलाई खटाए। निधिले पौडेल पक्षका नेता प्रकाशमान सिंहसँग पौडेल निवास चाक्सीबारीमा पटकपटक छलफल गरे। तर, नेताहरू आ-आफ्नो अडानबाट टसमस नभएपछि बैठकहरू निष्‍कर्षविहीन हुँदै आएको छ।

पछिल्लोपटक एक हप्ता छलफल गर्ने र सहमतिका साथ बैठक बस्ने भन्दै बैठक स्थगित गरियो र पुस १० गतेलाई बैठक आह्वान गरियो। पुस १० गते सूर्यग्रहण परेपछि कांग्रेसको बैठक ११ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ। छलफलको लागि एकहप्ता बैठक स्थगित गरे पनि दुई पक्षबीच गत आइतबारदेखि कुनै छलफल भएको छैन। 

देउवा पक्षका वार्ता टोलीका संयोजक निधिले बैठक नबसे पनि छलफल जारी रहेको दाबी गरे। ‘बैठक त बसेको छैन। तर, हामी दिनदिनै कुरा गरिरहेका छौँ,’ दुई पक्षबीच सहमति हुन नसकेको के कुरामा हो भन्ने प्रश्नमा निधिले थाहाखबरसँग भने, ‘नेविसंघको विषयमा कुरा मिलेको छैन। यो मिल्यो भने ११ गतेको बैठकमा उहाँहरू पनि आउनुहुन्छ।’ यता, पाैडेल पक्ष भने दुईपक्षबीच कुनै छलफल नभएकाे बताउँछ। 

‘पछिल्लो समय वार्ताटोलीको पनि कुनै छलफल भएको छैन,’ कांग्रेसका नेता बद्री पाण्डेले थाहाखबरसँग भने, ‘छलफल नभएपछि कुनै सहमति हुने कुरै भएन। सहमति नभएपछि आगामी बैठकमा पनि पहिले जे हुँदै आएको थियो त्यही हुने त हो।’ उनले ११ गते दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठक पौडेल पक्षले बहिष्कार गर्ने संकेत पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.