|

काठमाडाैं : नेपाली कांग्रेसको लगातारको विवादपछि शुक्रबार बोलाइएको केन्द्रीय समितिको बैठक पौडेल पक्षले आज पनि बहिष्कार गर्ने भएको छ। दिउँसो १ बजेको लागि डाकिएको बैठकमा पौडेल पक्षले बहिष्कार गर्ने निर्णयपछि बैठक बस्ने नबस्ने टुंगो लागेको छैन। 

गत मंसिर २६ गते देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको कार्यतालिका नल्याई विभाग गठन लगायतको प्रस्ताव पेस गरेको भन्दै पौडेल पक्षले बैठक बहिष्कार गर्दै आइरहेको छ। अरू विषयमा लगभग सहमति भए पनि अहिले नेविसंघको भागवण्डामा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्ष विभाजित हुँदै आएका छन्।  

नेविसंघको तदर्थ समितिमा नेतृत्व सहित ४६ प्रतिशत आफ्नो पक्षले पाउनुपर्ने पौडेल पक्षको माग छ। तर, देउवापक्ष पौडेल पक्षलाई ३५ र कांग्रेसमा तेस्रो गुटको नेतृत्व गर्दै आइरहेका कृष्णप्रसाद सिटौला पक्षलाई १५ प्रतिशत दिन सक्ने बताउँदै आएको नेताहरूले जानकारी दिए।  

‘बैठक बस्ने नबस्ने अझै केही टुंगो लागेको छैन, बस्छ भनेरै हामी पार्टी कार्यालयमै बसिरहेका छौँ,’ नेता रमेश लेखकले भने। कांग्रेसको विवाद अन्त्यको लागि देउवा पक्ष र पौडेल पक्षले कार्यदल नै गठन गरेको थियो । उक्त कार्यदलको बैठक गत आइतबार बसेपछि एकैपटक हिजो बिहीबार बसेको थियो।

बिहीबार बसेको बैठकमा  देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट प्रकाशमान सिंह, दिलेन्द्र बडु र हृदयराम थानीबीच छलफलमा जुटेका थिए।  प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले पनि समाधान निकाल्न सकेन।  बिहीबार साँझ वरिष्ठ नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको दुई पक्षको वार्ता टोलीको छलफलले सहमति नजुटाएपछि पौडेल पक्षले आफ्नो धारणा बनाउन कोइराला निवासमा भेला गरेको थियो।

अन्य विषयमा सामान्य सहमति भए पनि नेविसंघको विषय दुवै पक्षको बटमलाइन बनेको छ। पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरूलाई पूर्णता दिन एवं भ्रातृ संगठनहरूको तदर्थ समिति गठनका लागि बैठक बस्न लागेको हो। यसअघि छलफलका लागि भन्दै एक साता स्थगित गरेर १० गतेको लागि बैठक डाकिएको थियो । १० गते सूर्य ग्रहणका कारण सरेको बैठक शुक्रबार दिउँसो १ बजेको लागि डाकिएको छ।

 गत मंसिर २६ मा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पटकपटक बहिस्कार गरेपछि राम्रोसँग बस्न सकेको थिएन। बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका विभागहरु, तिनलाई प्रदान गर्ने नेतृत्व, तरुण दलमा सदस्य मनोनित एवं नेविसंघको तदर्थ समिति गठनलगायतका विषयमा पौडेल पक्षको असहमति छ।

पौडेल पक्षले अब सिधै १४ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने र सोही प्रस्ताव सभापतिले बैठकमा ल्याउनुपर्ने भन्दै बैठक बहिष्‍कार गर्दै आएको छ। तर, सभापति देउवा भने अब पेलेरै जाने तयारीमा रहेको उनका निकट नेताहरुले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.