|

हेटौंडा : प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनको लागि पहिलो दिन नै आठवटा कार्यक्रम गर्दैछ। केही कार्यक्रमको उदघाटन समेत भइसकेको छ भने केही साँझ सम्म हुने भएको छ।  

भ्रमण वर्षको उद्घाटनका दिन बिहीबार साँझ काठमाडौंको ठमेल र चितवनको सौराहामा भव्य कार्यक्रम गर्दै छ। प्रदेश सरकारले पर्यटन वर्ष २०२० को पहिलो दिनमा चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम तय गरेको थियो।सोही अनुसार प्रदेश ३ भरि कार्यक्रम भइरहेको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले बताएका छन्।

प्रदेश ३ सरकारले भ्रमण वर्षको उद्घाटनको अवसरमा पहिलो फ्लाइटमा चितवन जाने २० पर्यटकलाई सौराहामा निःशुल्क बसोबास गराउने घोषणा गरे अनुरुप राखेको पर्यटन मन्त्री नेपालले जानकारी दिए।

पहिलो दिनमै रसुवा र तातोपानी नाकाबाट विदेशी पाहुनाको स्वागत गर्दै मायाको चिनो र साँस्कृतिक झाँकीसहित खानाको व्यवस्था गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको छ। त्यस्तै पर्यटकको गन्तव्यको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहामा विभिन्न जातीय पहिचान झल्कने साँस्कृतिक कार्यक्रम रहेको पर्यटन मन्त्री  नेपालले बताए।

मन्त्री नेपालका अनुसार १६ गतेबाट ४ दिन सौराहा हात्ती वाक र हात्ती सुन्दरी प्रतियोगिता समेत बताएका छन्। यस्तै प्रदेश ३ को राजधानी रहेको मकवानपुर जिल्लामा भने इन्द्रसरोवर गाउँपालिकामा पर्यटन स्तम्भ निर्माण, इन्द्रसरोवर गाउँपालिकाको सहकार्यमा मन्त्रालयले मार्खुमा साँस्कृतिक कार्यक्रम, प्याराग्लाडिङ, पहिलो पर्यटक ३ जनालाई कुलेखानीमा निशुल्क बस्ने व्यवस्था समेत गरेको छ।  

यस्तै पहिलो दिनमै काभ्रेमा स्तम्भ निर्माणको शिलान्यास सहित विभिन्न कार्यक्रमहरू भइरहेका छन्। इन्द्रसरोवर गाउँपालिकामा भने प्याराग्लाइडिङ को हिजो नै परीक्षण उडान भइसकको छ। हिजो नै मन्त्री नेपालको उपस्थितिमा प्याराग्लाइडिङ सुरुवात समेत भइसकेको छ।  

एक अर्ब ६५ करोड बजेट

प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै एक अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट पर्यटन प्रवद्र्धनका लागि खर्च गर्ने भएको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन आयोजना मार्फत काम गर्न लागिएको हो।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालका अनुसार पर्यटकीय क्षेत्रको प्रचार प्रसारका कामसँगै चालु आर्थिक वर्षमा तीनवटा हिल स्टेशन निर्माण गर्ने र अरु चारवटा हिल स्टेशन निर्माण गर्ने तयारी रहेको छ। यस्तै मन्त्रालयले १३ वटा पर्यटन ग्राम निर्माण गर्ने, १० वटा पर्यटकीय गन्तव्यका रुपमा काम गर्ने तयारी पनि गरिएको छ।  

प्रदेश ३ सरकारले १० वटा स्थानमा हिल स्टेशन सञ्चालन गर्दैछ। मुढे, जिरी, सोम्दाङ, रुबीभ्याली, दामन-चित्लाङ-कुलेखानी कम्प्लेक्स, हेलम्बु-पाँचपोखरी, ललितपुरको कालेश्वर, रामेछापको शिवालय, सिन्धुलीगढी-खुर्कोट, चिम्टेश्वर र ककनी गरी १० स्थानलाई हिल स्टेशन घोषणा गरी ती क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ। १८ वटा नयाँ भ्यू टावर निर्माण  गर्ने समेत प्रदेश सरकारले तयारी गरेको छ। 

पर्यटन प्रवर्द्धनमा विविध कार्यक्रम 

यस्तै प्रदेश सरकारले चितवन, मकवानपुर, धादिङ, काभ्रे, रामेछाप र ललितपुर जिल्लामा अधिकतम पर्यटकलाई पुग्नेगरी होटलको स्तरोन्नति गर्ने योजना अगाडि सारेको छ भने गौरीशंकर हिमाली पदयात्रा, गणेश हिमाल, जुगल, शैलुङ विकास कार्यक्रम, गोञ्जला पासलाई खुला गरी लाङ्टाङ-गोसाइकुण्ड तथा तातोपानी र गौरीशंकर-रोल्वालिङसँग लिंक गरी पर्यटकीय पदमार्गको विकास गरिने प्रदेश सरकारको तयारी रहेको मन्त्री नेपालले जानकारी दिएका छन्।  

यस्तै चितवन राष्ट्रिय निकुञ्जमा सफारीमार्ग, ५ वटा पुल, मचान निर्माण गरिनुका साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा मचान, होम स्टे तथा पदमार्ग विकासका कार्यको थालनी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.