|

झापा : माघे सङ्क्रान्ति पर्वको अवसरमा झापाको कनकाई (माइ) नदी किनारमा लागेको माइबेनी मेलामा प्रहरीकै अघि जुवाखाल सञ्चालन गरिएको छ। दर्शक र भक्तजनबाट मनमौजी रकम असुली भइरहेको छ भने कानूनले बर्जित गरेका गतिविधीहरु भइरहेका छन्।

पार्किङ शुल्क भन्दै २०० रुपैयाँ उठाउने एक युवालाइृ प्रहरीले पक्राउ गरेको छ। यो मेलामा हरेक बर्ष पार्किङ शुल्क मनमौजी उठाउने गरिएपनि स्थानीय सरकारले नियन्त्रण गरेको छैन। चर्को शुल्क तिर्नुपर्दा भक्तजनहरु आजित भएका छन्। 

कनकाई नगरपालिकाले कनकाई नदी पूर्व मेला स्थलसहित पार्किङ शुल्कको ठेक्का लगाएको थियो। नगरपालिकाले तोकेको भन्दा चौगुना पार्किङ शुल्क उठाउँदा पनि स्थानीय सरकारले यसतर्फ कुनै चासो नदेखाएको हो। आठ लाख रुपैयाँमा खुलाएको ठेक्का नगरपालिकाले १८ लाख रुपैयाँमा दिएको खुलेको छ। 

नगरपालिकाले मोटरसाइकल र स्कुटरका लागि ५० रुपैयाँ, साना सवारीसाधनलाई १५० रुपैयाँ र ठुला सवारीसाधनको ३०० रुपैयाँमा ठेक्का लगाएको थियो। तर, ठेकेदार विडि कन्स्ट्रक्सनले मोटरसाइकल र स्कुटरको २००, साना सवारीसाधनको ५ सय र ठुला सवारीसाधनको एक हजार रुपैयाँसम्म पार्किङ शुल्क उठाएको छ। 

जुवा नै खेलाइयो

स्थानीय सरकार र प्रशासनले रोक लगाएको डाइस खेल कनकाई रमाइलो मेलामा खुलेआम खेलाएको पाइएको छ। माघे सङ्क्रान्तिको पर्वको अवसरमा विडि कन्स्ट्रक्सनले आयोजना गरेको तीन दिने माई मेलामा खुलेआम डाइस खेल हुँदा समेत स्थानीय निकाय र प्रशासनले कुनै चासो नदेखाएको स्थानीय बताउँछन्। मेलामा जुवा, तास, डाइस खेल र मदिरा बिक्री वितरणमा कनकाई नगरपालिकाले उर्दी जारी गर्दै निषेध गरिए पनि जुवा खेला रोकिएको छैन।

बढी पार्किङ शुल्क उठाउने एक पक्राउ   

प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरी कार्यालय झापाले तोकिएको भन्दा बढी पार्किङ शुल्क नउठाउन एक दिनअघि ठेकेदारलाई निर्देशन दिएको थियो। बढी पार्किङ शुल्क नलिने विषयमा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले निर्देशन नै जारी गरेका थिए। 

तर, ठेकेदार पक्षले तोकिएको ५० रुपैयाँको ठाउँमा मोटरसाइकल र स्कुटरको २ सय रुपैयाँ लिन थालेपछि भक्तजनहरूले घटनास्थलबाटै प्रहरी उपरीक्षक कोइरालालाई फोनमार्फत जानकारी गराएका थिए।

प्रहरी उपरीक्षक कोइरालालाई सो विषयमा जानकारी भएपछि तत्काल घटनास्थलमा प्रहरी परिचालन गरी बढी पार्किङ शुल्क लिने ठेकेदार पक्षका युवाहरूलाई नियन्त्रणमा लिएका थिए। साथै बढी रकम उठाएको भन्दै भक्तजनहरूलाई एक सय रुपैयाँ फिर्ता समेत गराएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक  महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बढी रकम असुल्ने कनकाई नगरपालिका ४ बस्ने विपिन सिटौलालाई रसिद सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। सिटौलाले रमाइलो कनकाई माई मेलाको रसिदमा २ सय रुपैयाँ उल्लेख गर्दै रकम उठाएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.