२ वर्षभित्र निर्माण थाल्ने तयारी

|

काठमाडौं : ७६२ मेगावाटको जलाशययुक्त तमोर जलविद्युत् आयोजना निर्माणका लागि तत्काल  सम्भाव्यता अध्ययन सुरु गरी २ वर्षभित्र निर्माणको चरणमा पुर्‍याउने सहमति भएको छ। लगानी बोर्ड र पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड (पावर चाइना) बीच आइतबार समझदारीपत्र लेनदेन (एमओयू) भएको हो। 

समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारी र पावर चाइना युरो एसियाका भाइस प्रेसिडेन्ट पान डेन्ग्युले एमओयूमा हस्ताक्षर गरेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा असोज २६ गते तमोर आयोजना संयुक्त लगानीमा बनाउन पावर चाइना र नेपालको एचआईडीसीएलबीच समझदारी  भइसकेकाे छ।

तमोर बनाउन पौने २ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजना बनाउन नेपालमा बेग्लै कम्पनी स्थापना हुने छ। तमोरमा न्यूनतम २६ प्रतिशत नेपाली लगानी सुनिश्चित गरिएको छ। नेपालीले ५१ प्रतिशतसम्म लगानी गर्न सक्ने छन। 

पावर चाइना र एचआईडीसीएलले प्रतिस्पर्धाबाट तमोर  पाएका हुन्। तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य काम पावर चाइनाले गर्ने छ। सार्वजनिक-निजी साझेदारी (पिपिपी) खाकामा यो आयोजना निर्माण प्रस्ताव गरिएको हो। 

गत चैत १५ र १६ गते सम्पन्‍न लगानी सम्मेलनमा ऊर्जामा सोही आयोजनाका लागि दुईवटा प्रस्ताव प्रस्तुत भएका थिए।

गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल, पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.