|

बैतडी : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन्।

मंगलबार बैतडीको पाटन नगरपालिका-८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्य चौकी भवन उद्घाटन समारोहमा बोल्दै उनले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थाहरूमा कर्मचारी अभाव भएको बताएका हुन्।

'स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ' उनले भने 'समायोजन प्रक्रिया चाँडै टुंगिने र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन्, त्यसका लागि सरकार लागि परेको छ।'

मन्त्री ढकालले स्वास्थ्यका उपकरण कमी रहेकोले परिपूर्ति गर्न आफू लागि परेको बताए। 'सरकारले नागरिकका आधारभूत आवश्यकतामध्येको स्वास्थ्यका लागि लागिपरेको छ' उनले भने 'नागरिकको स्वास्थ्य सेवाप्रति सरकार गम्भीर छ, जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पुगाउछौँ।'

स्वास्थ्य क्षेत्रमा थुप्रै समस्याका चाङ रहेको भए पनि आफ्नो कार्यकालमा सबै समाधान हुने उनको दाबी छ। उनले भने 'स्वास्थ्यमा सुधार गर्नुपर्ने धेरै छ। ती क्रमिक रूपमा सुधार हुन्छन्।'

यस्तै, उनले बैतडीको खोड्पेमा ट्रमा सेन्टर स्थापनाका लागि पहल गर्ने पनि बताए। खोड्पे बैतडी जिल्लाका साथै दार्चुला, बझाङ र डडेल्धुरा जिल्लाको समेत पायक पर्ने उचित स्थान भएको भन्दै स्थानीय सरोकारवालाले ट्रमा सेन्टर स्थापनाका लागि माग गरेका थिए।

उक्त कार्यक्रममा मन्त्री ढकालसँगै बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.