१३औँ महाधिवेशनमा देउवा बसेकै ठाउँ उपयोग

|
फाइल फाेटाे

काठमाडाैं :  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा आन्तरिक द्वन्द्व चुलिँदो छ। गत मंसिर २६ गते सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक आह्वान गरेदेखि कांग्रेसको किचलो झन् चुलिएको हो।

उक्त बैठकमै देउवाले महाधिवेशनको मिति, विभाग थप, भ्रातृसंस्थाको म्याद थप लगायतका प्रस्ताव पेश गरेर पारित गराउने तयारी गरेका थिए।। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कांग्रेसमा तेस्रो गुटको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला पक्षले बैठक नै बहिष्कार गरे। दुई समूहले बैठक बहिष्कार गर्दा पनि पेलेरै निर्णय गर्ने मुठमा देखिएका थिए सभापति देउवा।

त्यसपछिका तीनवटा बैठक पनि पौडेल–सिटौला पक्षले बहिष्कार गरे। त्यसबीचमा पौडेललाई फकाउन देउवा आफैँले कसरत गरे तर सफल भएनन्।

पौडेल–सिटौला पक्षले लगातार बैठक बहिष्कार गरेपछि देउवाले पुस ११ गते पेलेरै बहुमतको आधारमा महाधिवेशनको मिति, विभाग थप, भ्रातृसंस्थाको म्याद थप लगायतका प्रस्ताव पेश गरी पास गराए। त्यसयता कांग्रेसको विवाद झन् उत्कर्षमा पुगेको छ। पौडेल–सिटौला पक्षले जिल्ला सभापति भेला गरेर सभापति देउवलाई तीव्र दबाब पनि दिए। 

पछिल्लो समय नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेविसंघको विधान कार्यान्वयन गराउन माग गर्नेहरुको रिले अनसन जारी छ। यो अनसनले महिना दिन छितोलेको छ। नेविसंघका तिनै कार्यकर्तालाई भेट्ने बाहेक नेताहरुको चहलपहल पार्टी कार्यालयमा देखिँदैन। नेताहरुले गुटगत भेटघाट गर्न पार्टी कार्यालय भन्दा बढि निजी निवासलाई प्रयोग गर्न थालेका छन्। 

महाधिवेशन लाग्यो

कांग्रेसमा १४ औँ अधिवेशनले छोइसकेको छ। वरिष्ठ नेता पौडेलले अनामनगरस्थित एक घर भाडामा लिइसकेको उनीनिकट एक नेताले थाहाखबरलाई जानकारी दिए।

‘सभापतिज्यू सधैँ पेल्ने, अरुको कुरै नसुन्ने, आफ कसरी लामो समय सभापति हुन पाउँछु भनेर विधानका धारा हटाउने काममा लागेपछि के गर्ने?’ उनले भने, ‘अनामनगरमा खुल्न लागेको कार्यालयमा महाधिवेशनको रणनीति बनाउन छलफल हुनेछ। पार्टीका अरु छलफल त भइहाल्छन्।’ ती नेताका अनुसार अनामनगरको कार्यालय महाधिवेशनलाई लक्षित गरेर खुलेको हो। 

देउवाले बहुमतको आधारमा पेलेर केन्द्रीय समितिको बैठकबाट तोकेको महाधिवेशनको मिति लगायतको निर्णय फिर्ता लिनुपर्ने भन्दै वार्ता गरिरहेको पौडेल समुह कार्यालय खोलेरै महाधिवेशनको तयारीमा लागेको हो।

पौडेल पक्षले कांग्रेस निकटको एक गैरसरकारी संस्थाको कार्यालयलाई महाधिवेशन विशेष छलफल गर्ने थलो बनाएको हो। ‘अहिले हामी छलफलका लागि भेला हुने थलो भनेको सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको कार्यालय हो,’ ती नेताले भने।  

उनका अनुसार उक्त कार्यालय १३औँ महाधिवेशनताका शेरबहादुर देउवाले महाधिवेशनको तयारी थलोको रुपमा प्रयोग गरेका थिए। पौडेल पक्षले महाधिवेशनको रणनीति बनाउने थलोको रुपमा केन्द्रको कार्यालय रोजेपछि संस्थाले कार्यालय नै सारेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.