झापाको बुद्ध शान्ति गाउँपालिकालाई कसले गर्ने कारबाही ?

|

झापा : झापामा एकातिर चुरे क्षेत्र दोहन रोक्न खोज्दा जनप्रतिनिधिले अर्कोतिर दोहन शूरू गरेको पाइएको छ।

नदीजन्य पदार्थ उत्खननका लागि सङ्घीय तथा प्रदेश सरकारले बनाएको कानुन र जिल्ला समन्वय समिति झापाको जिल्लास्तरीय नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन तथा कार्यविधि लत्याउँदै स्थानीयतहले नदीजन्य पदार्थ जथाभाबी उत्खनन्‌ गर्दै आइरहेको छ।

स्थानीयतहले चुरे क्षेत्र र आइईई नगरेको स्थानबाट जथाभावी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरी कर उठाइरहेको छ। इलाम र झापा जोड्ने रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाको तिरीङ 'चुरे बफर जोन' क्षेत्र पर्छ।

यहाँबाट ढुङ्गा उत्खनन नगर्ने नपाउने भनी सर्वपक्षीय सहमतिपछि निषेधित क्षेत्र तोकिसकिएको छ। त्यस क्षेत्रमा ढुङ्गा उत्खनन कार्य बन्द भएपछि अहिले बुद्ध शान्ति गाउँपालिकाको चुरे क्षेत्रबाट ढुङ्गा उत्खनन कार्य धमाधम भइरहेको पाइएको छ। बुद्धशान्ति गाउँपालिकाले आफैं कर सङ्कलन गर्दै चुरे क्षेत्र दोहनमा लागि परेको खुलासा भएको छ।

ढुङ्गा लोड गरिएको ट्रयाक्टर नियन्त्रणपछि खुल्यो यस्तो रहस्य

इलामको रोङ गाउँपालिकासँग जोडिएको झापाको बुद्धशान्ति गाउँपालिका भएर बग्‍ने बिरीङ खोला चुरे क्षेत्रभित्र पर्छ।

चुरे क्षेत्रमै ढुङ्गाको खानी छ। चुरे क्षेत्रबाटै ढुङ्गा उत्खनन हुँदासमेत बुद्ध शान्ति गाउँपालिकाका अध्यक्षसहित कर्मचारीले त्यसलाई रोक्न कुनै कानुनी कदम चालेको देखिएन। उल्टै सोही क्षेत्रबाटै ढुङ्गा उत्खनन गरी गाउँपालिकाले बिल काटेर बेचिरहेका छन्।

चुरे निषेधित क्षेत्रबाट ढुङ्गा लोड गरी भद्रपुरतर्फ आइरहेको सात वटा ट्रयाक्टरलाई आइतबार बेलुका प्रहरी चौकी चाराआलीले नियन्त्रणमा लिएको छ। प्रहरीले ट्रयाक्टरसहित गाउँपालिकाले ढुङ्गाबाट कर लिएको रसिद पनि फेला पारेको छ। ट्रयाक्टर चालकका अनुसार बुद्ध शान्तिबाट ल्याएको ढुङ्गा आइईई नगरेको स्थानबाट ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन्।

निषेधित क्षेत्रबाट ढुङ्गा उत्खनन्‌ गरी ल्याएको भन्दै आवश्यक कारबाहीका लागि प्रहरी चौकी चाराआलीले सोमबार बिहान जिल्ला समन्वय समिति झापामा पठाएको हो।

समन्वय समितिले ती ट्रयाक्टरलाई कानुन बमोजिम जरिवाना तिराएर छाडि दिएको समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए। ‘स्थानीय तहले जिल्ला समन्वय समितिको नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन तथा कार्यविधि अटेर गरिरहेको छ,’ उनले भने, ‘अब यस विषयमा सङ्घीय तथा प्रदेश सरकार हुँदै अख्तियारलाई समेत लिखित पत्राचार गर्नेछौं।’ उनले भने, ‘चुरे क्षेत्र र आइइइ नगरेको स्थानबाट नदीजन्य पदार्थ उत्खनन रोक्ने विषयमा समन्वय समितिले सार्वजनिक सूचना पनि जारी गर्दैछ।’

अर्ध विधेयक एकातिर गाउँपालिकाको दररेट अर्कोतिर

एक नम्बर प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकको अनुसूची ५ र दफा ८ मा प्राकृतिक स्रोत सङ्कलन तथा बिक्री शुल्कमा उल्लेख गरिएअनुसार ढुङ्गा र गिट्टीमा प्रतिक्युब फिट सङ्कलन दर २ रुपैयाँ र बिक्री दर ४ रुपैयाँ तोकेको छ। तर, बुद्ध शान्ति गाउँपालिकाले अर्थ विधेयक विपरीत तोकेको भन्दा कम दररेटमा ढुङ्गा बिक्री गरिरहेको प्रमाण समेत फेला परेको छ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रयाक्टर चालकसँग ढुङ्गाको बिल माग्दा तोकिएको भन्दा कम कर तिरेको रसिद भेटिएको छ। गाउँपालिकाको खोला कर रसिदमा ढुङ्गाको ४५० रुपैयाँ तोकेको छ। प्रदेशको दररेट अनुसार ६ सय रुपैयाँ हुनुपर्ने हो। १५० रुपैयाँ छुट भन्दै गाउँपालिकाले चुरे क्षेत्र र आइइइ नगरेको क्षेत्र दोहनलाई निरन्तरता दिँदै आइरहेको छ।

अघिल्लो वर्ष अनुगमन गर्दा बुद्ध शान्तिको आइइइ नगरेको खोला तथा चुरे क्षेत्र दोहन भइरहेको भेटिएको थियो। त्यस विषयमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई जिल्ला अनुगमन समितिले सचेत गराएको थियो। तर, अध्यक्ष भुजेलले अनुगमन समितिको कुरालाई अटेर गरेपछि फेरि दोहन शूरू भएको छ।

‘अनुगमन समितिले पटक पटक बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिलाई चुरे क्षेत्र र आइइइ नगरेको स्थानमा दोहन रोक्न आग्रह गर्‍यौं’, समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले भने, त्यहाँका जनप्रतिनिधिले कुरा मानेनन्, जसकारण अहिले पनि चुरे क्षेत्र दोहन भइरहेको प्रहरीले नियन्त्रणमा लिएको ट्रयाक्टरबाटै प्रमाणित हुन्छ।’

गाउँपालिकालाई कसले गर्ने कारबाही ?

बुद्ध शान्ति गाउँपालिकाले खोला कर लिएको रसिद दिँदा पनि प्रहरीले ढुङ्गा लोड गरिएको ट्रयाक्टर नियन्त्रणमा लिएपछि ट्रयाक्टर धनी आक्रोशित बनेका छन्। ‘गाउँपालिकाले ढुङ्गाको कर लिएको छ, अनि प्रहरीले बाटोमा ट्रयाक्टर नियन्त्रणमा लिने यो कहाँको कानुन हो ?’ ट्रयाक्टर धनी ओम नेपालले भने।

‘गाउँपालिकाले निषेधित क्षेत्रबाट ढुङ्गा उत्खनन गर्न दिँदा हामीले ढुङ्गा उठाएर ल्याएको हो,’ उनले भने, ‘नेपाल सरकारको कानुन नमान्‍ने गाउँपालिकालाई कसले कारबाही गर्छ ?’ ‘गाउँपालिकालाई पनि कर तिर्नुपर्ने, अनि कारबाहीमा परेपछि जिससलाई जरिवाना पनि तिर्नुपर्ने रहेको ट्रयाक्टर धनी गणेश कार्कीले आक्रोश व्यक्त गरे।

गाउँपालिकामा यी क्षेत्र आइइइ स्वीकृत

बुद्ध शान्ति गाउँपालिका ०६७/७७ को लागि पेस भएको टिमाई र बिरीङ खोलाको अद्यावधिक आइइइ र हडिया खोलाको आइइ प्रतिवेदन स्थलगत अनुगमनका आधारमा प्रारम्भिक वातावरणीय परीक्षण पुनरावलोकन तथा सिफारिस समितिबाट स्वीकृतिका लागि सिफारिस भए बमोजिम हडिया खोला पर्ने गाउँपालिकाको वडा नम्बर १ र ३ को पुलचोक क्षेत्र, वडा ३ को चर्चाबारी खण्ड १ देखि ५ सम्म, वडा ३ को सिमल डाँडा पूर्व तोकिएको छ।

त्यस्तै विरीङ खोला पर्ने गाउँपालिकाको वडा १ को सिद्दे विद्युतपोल उत्तर, गिद्दे विद्युतपोल दक्षिण, वडा २ को सिस्ने जयपुर सडक ५०० मिटर उत्तरदेखि र दक्षिण (पाँग्र) र टिमाई खोला पर्ने मेचीनगर ९ र बुद्धशान्ति ५ को आयाबारी क्षेत्र तोकिएको जिल्ला समन्वय समिति झापाले जनाएको छ। ती क्षेत्र बाहेक अरू सबै निषेधित क्षेत्रभित्र पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.