बरामद सामग्री घर लाने गर्थे इन्स्पेक्टर खनाल

|

भद्रपुर : झापामा प्रहरी निरीक्षकले सञ्चारसंस्थाकै सवारीसाधन प्रयोग गरी सरसामान तस्करी गर्ने गरेको घटना सार्वजनिक भएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनालले अवैध भन्दै जफत गरेका सरसामान अन्यत्र पठाउन लागेको अवस्थामा फेला परेपछि यस्तो घटना बाहिरिएको हो।

यसरी खुल्यो घटनाको रहस्य

प्रहरीकै संलग्नतामा सञ्चारमाध्यमको सवारीसाधन प्रयोग गरी तस्करी गरिरहेको विशेष सूचना आएपछि पत्रकारको एक टोली आइतबार बिहान काँकडभिट्टा पुगेका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टा अगाडि बसेका पत्रकारको टोलीले एउटा सञ्‍चार गृहको २च १४१५ नम्बरको मारुती भ्यान त्यहाँ देखे। केही बेरमै सो भ्यान इलाका प्रहरी कार्यालय काँकडभिट्टाको पछाडिको गेटबाट भित्र प्रवेश गर्‍यो।

त्यो गतिविधि हुँदै गरेको भिडियो पत्रकारले खिचिरहेका थिए। सादा पोसाककै एक प्रहरी कर्मचारीले गेट खोलेर भ्यान भित्र ल्याउन सहयोग गरे। प्रहरी कार्यालयमा प्रवेश गरेको भ्यानमा इन्स्पेक्टर सुवास खनालकै (बडीगार्ड) प्रहरी कर्मचारी मनिष घिमिरेले घर बनाउँदा प्रयोग हुने टायल्स (मार्बल) लोड गरिरहेका थिए।

भिडियो खिचेको देखेर आत्तिए

पत्रकारले भिडियो खिचिरहेको थाहा पाएलगतै प्रहरी कर्मचारी घिमिरेले हतपत भ्यानमा लोड गरिएका टायल्स झारेर भ्यानलाई त्यहाँबाट पठाइदिए।

सो गाडीलाई मेचीनगर ७ स्थित जोर सिमलमा सशस्त्र प्रहरीले चेकचाँजको क्रममा रोक्दा ती गाडीका चालक कृष्ण धिमाल रहेको खुल्यो। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका इन्स्पेक्टर सुवास खनाल आफ्नो छिमेकी रहेको चालक धिमालले खुलाए।

उनले खाना खान आफू प्रहरी कार्यालयभित्र भ्यान लिएर गएको सशस्त्र प्रहरीलाई सुनाए। खाना खान प्रहरी कार्यालयको पछाडिको गेट प्रयोग गर्ने काम अस्वाभाविक लागेपछि पत्रकारहरूले यसबारे थप खोजी गरे। 

सादा पोसाकका प्रहरी कर्मचारीलाई फोन गरेर सोध्दा आफूहरूले चार कार्टुन टायल्स लोड गरेको र माथिको आदेश आएपछि फेरि निकालेर भ्यान पठाइदिएको स्वीकार गरे। सामान लोड गर्न उनलाई इन्स्पेक्टर खनालका बडीगार्ड घिमिरेले सघाएका थिए। प्रहरी कर्मचारीसँग भएको फोन वार्तालापको अडियो रेकर्ड सुरक्षित छ। 

सामान ओसारपसारमा एउटा सञ्‍चार गृहको गाडी प्रयोग गरिएको थियो। सो सञ्चारसंस्थाका सुजन खतिवडाले यस विषयमा सूचना आइसकेको बताए। उनका अनुसार सो गाडी भाडामा लिएको हुँदा यो सूचना आएसँगै चालकलाई कारबाही गरिने बताए।

गाडीसँग सम्झौता तोडेर भोलिबाटै अर्को नयाँ गाडी पठाउने उनले बताए। ‘प्रहरीले मिडिया हाउसलाई प्रयोग गरेर बदनाम गराउन खोजेको हुँदा यसमा मिडिया गृह गम्भीर छ’  उनले भने।

यस्तो छ इन्स्पेक्टर खनालको संलग्नता

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा विगत एक वर्षदेखि कार्यरत इन्स्पेक्टर सुवास खनालले अवैध सामान जफत गरी अन्यत्र पठाउँदै आइरहेको थप घटना खुलेको छ। उनी सोही कार्यालयमा आएदेखि नै यस्तो गतिविधिमा लागेको प्रहरी स्रोतको दाबी छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा नाकामा हुने अवैध तस्करी रोक्न सादा पोसाकमा प्रहरी खटाइन्छ। सादा पोसाकका प्रहरी सामान बरामद गर्छन्।

बरामद गरिएको सामानमध्ये केही भन्सारमा बुझाउने र बाँकी सामान इन्स्पेक्टर खनालले आफ्नो व्यक्तिगत प्रयोजनका लागि रातारात उनको घर विराटनगरसम्म पुर्‍याउने गरेको प्रहरी स्रोतको दाबी छ।

घर लान्थे बरामद सामग्री

इन्स्पेक्टर खनालले बरामद गरिएका सामान लत्ताकपडा, जुत्ता, किराना खाद्यान्न, रेडबुल, काजुलगायत महँगा-महँगा ससामानहरु घरसम्म पुर्‍याउन उनकै बडीगार्ड मनिष घिमिरेलाई प्रयोग गर्दै आइरहेका प्रहरी स्रोत जानकारी दियो।

कार्यालय प्रमुख बाहिर गएको मौका छोपी उनले महँगा सामान स्टोरबाट निकाली घर पठाउने गरेका हुन्। यसरी बरामद गरिएका सामान घर पठाउन उनले निजी, व्यापारीदेखि सञ्चार माध्यमका सवारीहरू प्रयोग गर्दै आएका छन्।

यता, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालासँग बुझ्दा यस विषयमा आफूले सत्यतथ्य बुझी माथिल्लो निकायमा जानकारी गराउने र त्यस्तो पाइएको खण्डमा विभागीय कारबाही हुने बताए।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले यस विषयमा आफूलाई थाहा नभएको बताए। ‘म आजकै दिन आइतबार काम विशेषले धरान गएको छु। कार्यालय फर्किएर घटनाबारे बुझ्छु,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.