|

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको पङसेरामा रहेको सम्पर्क कार्यालयमा आगजनी भएको दुई हप्ता पुगेको छ। तर कार्यालयमा आगजनी गर्नेको अझै पहिचान हुन सकेको छैन्।

माघ ८ गते बुधबार बिहान कार्यालयको प्रशासन कक्षमा आगजनी गरेर सम्पूर्ण कागजपत्र, कम्प्युटर, कुर्सी समेत जलाईएको थियो। यसका साथै नेकपा बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालको डोजर र गाउँपालिकाले भाडामा लिएको जीपमा पनि आगजनी गरिएको थियो। साथै सोही दिन अध्यक्ष पालकै घरअगाडी बम समेत राखिएको थियो।

गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम

घटना कसले गराएको भन्ने बिषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटना भएदिनदेखि प्रहरीले सुक्ष्म रुपमा खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। आगजनी कसले गराएको हो भन्ने बिषयमा केही खुल्न नसकेको उनले बताए। 

गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी भएपछि गाउँपालिकाको कामकाज समेत प्रभावित भएको छ। डिलाशैनी गाउँपालिकाको केन्द्रका बिषयमा विवाद रहँदै आएको छ।

गाउँपालिकाको केन्द्र वडा नम्बर ७ को धामीगाउँमा राख्नुपर्ने भन्दै स्थानीयहरु आन्दोलित भएका थिए। तर गाउँपालिकाको केन्द्र राख्नका लागि पङसेरा उपयुक्त स्थान भएको भन्ने प्रतिवेदन सार्वजनिक भएपछि त्यसको विरोध हुँदै आएको छ।

गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले आगजनीपश्चात केन्द्रको बिषयमा असन्तुष्ट पक्षले घटना गराएको आशंका व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.