समाज

फागुनदेखि नारायणीमा पानीजहाज सञ्चालनमा आउँदै, अनलाइन बुकिङ खुला

माघ २६, २०७६

    चितवन : नारायणी नदीमा आगामी फागुनदेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ। भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

    सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो। क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो। मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी  महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिए।

    उनले भने, ‘बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ।’

    उनले १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने जानकारी समेत दिए। क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना (डिनर क्रुज)का लागि अनलाइन बुकिङ खुला गरिँदैछ। बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदैछ। 

    जहाजभित्र नै  गायकको गीतमा पर्यटक रमाउन सक्नेछन्।  बारहरु रहनेछन्। भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए। दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ।  

    क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन/तीन घण्टाको यात्रा गराइनेछ। यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन्। नेपालमा व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ।

    ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उनले बताए। क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीनजना क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी रहेका छन्।

    दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्न आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने जनाइएको छ। क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो। क्रुजमा दुई इञ्जिन रहेका छन्। क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ। क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो। क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]