माघ २८ गतेसम्मका लागि संसद स्थगित

|

काठमाडौं : सभामुख अग्नि सापकोटाले अदालतमा गइसकेको विषयमा व्यवस्थापिकाले केही गर्न नसक्ने सन्देश प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिएका छन्। 

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि कांग्रेसले उभिएर अवरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षीलाई यस्तो सन्देश दिएका हुन्। 

गत बुधबार उपसभापति विजय गच्छदारलाई बालुवाटारस्थित ललिता निवास क्याम्पको जग्गा विक्री प्रकरणमा तत्कालीन भूमिसुधार मन्त्रीकारुपमा भ्रष्टाचार मुद्दा चलाएपछि आन्दोलित कांग्रेसलाई सभामुखले अब चुप नबस्ने सन्देश दिएका हुन्।

यसअघिका दुई बैठकमा कांग्रेस सांसदहरु पुष्पा भुसाल र मीनबहादुर विश्वकर्मालाई बोल्न दिएका सभामुख सापकोटाले आइतवारको बैठकमा प्रमुख प्रतिपक्षीका लागि बोल्न माइकसमेत खोलिदिएनन्। 

उनले संसदमा जारी अवरोधलाई नेपालीले मात्रै नभइ अन्तर्राष्ट्रिय समुदायले पनि हेरिरहेको बताए। 'सदनको गतिविधि अन्तर्राष्ट्रिय समुदायले पनि हेरिरहेको छ', उनले भने, 'मैले तपाईंहरुका कुरा शालीनतापूर्वक सुनिसकेको छु, सबै कुरा यहाँहरुले राखिसक्नु भएको छ। त्यसैले संसदको गतिविधि नरोरकिदिनुस्, छलफल अघि बढ्ने वातावरण बनाइदिनुस्।'

कांग्रेस सांसदले बोल्न खोज्दा माइक नखोलेका सभामुखले यसअघिका दुई बैठकमा सबै कुरा सुनिसकेको बताउँदै संवैधानिक निकायले चलाएको मुद्दा अदालतमा गइसकेकाले प्रतिक्षा गर्न सभामुखले सुझाएका हुन्। 

‘संवैधानिक आयोगले निर्णय गरेर अदालतमा गइसकेको विषय यहाँबाट निरुपण हुन सक्दैन भन्ने तपाईंहरुलाई पनि थाहा छ’, सापकोटाले भने, ‘तपाईंहरूले २ दिनसम्म अबरोध गरेर आफ्ना कुरा राखिसक्नुभएको छ। त्यसको सन्देश गइसकेको छ। तपाईंहरूले अहिले उठाएको यो विषय संसदको कार्यक्षेत्र भित्र पर्दैन, यसमा प्रष्ट हुनु भए हुन्छ।’

सभामुख सापकोटाले संसदले अघि बढाउनुपर्ने कयौँ विषय अलपत्र परेको बताउँदै अन्य सांसदहरुले पनि बोल्न नपाएकोतर्फ कांग्रेसको ध्यानाकर्षण गराए। 

‘कांग्रेस सांसदहरुले उभिएर विरोध जनाइरहनु भएको छ। तर लगातारको अवरोधले अरु माननीयहरुले बोल्ने वातावरण चाहियो भनेका छन्’, उनले भने, ‘दुई दिनसम्म कुरा उठाइसक्नु भएको छ। यहाँबाट अब केही हुन सक्दैन।’

उनले संवैधानिक व्यवस्थाको पनि हेक्का राख्न कांग्रेसलाई सझाए। ‘संविधानको धारा १०५ र संसद नियमावलीको नियम २१ ‘घ’ पनि तपाईंहरुले स्मरण गर्नुहोला’, उनले भने, ‘दुई दिनसम्म तपाईंहरुका कुरा सुनेको छु। प्रमुख प्रतिपक्ष उभिरहनु भनेको सदन अवरुद्ध भइरहनु हो।’

कांग्रेस सांसदहरुले अवरोध गरेपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक माघ २८ गते मंगलबारसम्का लागि स्थगित गरेका छन्। 

उपसभापति विजयकुमार गच्छदारलाई नियतवश भ्रष्टाचार मुद्दामा फसाइएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तेस्रो पटक पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो। कांग्रेसले तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि कारवाही नगरेको भन्दै आपत्ति जनाउँदै आएको छ। 

यस्तैगरी बालुवाटारको जग्गा खरितदकर्तामध्ये एक नेकपा महासचिव विष्णु पौडेल र उनका छोरा नवीनमाथि पनि कारवाही नगरेकोमा कांग्रेसले अख्तियारलाई सरकारको लाचार छाया भनेको छ। 

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रकरणमा गत बुधबार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएपछि कांग्रेस आन्दोलित छ। 

सडक र सदन दुवैतर्फ आन्दोलित कांग्रेसले आइतवार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो। सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै कांग्रेसका सांसदहरु उभिएर विरोध जनाउँदे बैठक चल्न नदिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.