|

मुगु : कर्णाली प्रदेशको प्रमुख प्रयटकीय गन्तव्य रारा आउने पर्यटकहरुका लागि नेचर गाइट तयार पारिएका छन्। रारा राष्ट्रिय निकुञ्जले राराको जैबिक विविधता, वन्यजन्तु, चराचुरुङ्गी, पदमार्ग तथा नेपाल भ्रमण  वर्षलाई लक्षित गरी ३३ जना नेचर गाइड तयार गरेको हो।

रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन फागुन १ देखि ६ सम्म  नेचर गाइट तालिमको आयोजना गरिएको निकुञ्जले जनाएको छ। 

राष्ट्रिय बन्यजन्तु संरक्षण ऐन २०२९  हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ अनुसार प्रत्येक निकुञ्जले अनिवार्य नेचर गाइड राख्नुपर्ने व्यवस्था गरेको छ। तर, रारा राष्ट्रिय निकुञ्जले यसअघि नेचर गाइड तयार गरेको थिएन। निकुञ्ज स्थापनापछि पहिलोपटक नेचर गाइट उत्पादन गरिएको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए। 

रारा आउने  आन्तरिक तथा बाह्य पर्यटकहरुलाई राराबारे जानकारी गराउनुका साथै निकुञ्जभित्र रहेका जैविक विविधता, वन्यजन्तु, वनस्पति, चराचुरङ्गी, धार्मिक तथा सांस्कृतिक परम्पराकाबारे नेचर गाइडले जानकारी गराउने छन्। साथै, यस योजनाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई रोजगारको सिर्जना गर्ने अधिकृत भण्डारीले बताए। यस कार्यले नेपाल भ्रमण वर्षलाई पनि टेवा पुग्ने बताइएको छ।

रारा क्षेत्रमा २७२ प्रजातिका चराचुरुङ्गी छन्। विश्वमा नपाइने असला जातको माछाका साथै विभिन्न प्रजातिका वनस्पतिहरु पनि पाइन्छन्। यीबारे यहाँ पुग्ने पर्यटकहरुले जानकारी लिन खोजे पनि नेचर गाइड नभएकाले यसअघि पर्यटकहरुले त्यो जानकारी लिन सक्दैनन् थिए। यस तालिमले उक्त सेवा उपलब्ध हुने तालिमका प्रशिक्षक चराविज्ञ टीकाराम गिरीले बताए।

विगतमा रारा पुग्ने पर्यटकहरु ठगिएका घटना पनि बाहिर आएका छन्। त्यसैले पर्यटक नठगियोस् र राराबारे जानकारी पाउन सकून् भनी नेचर गाइड उत्पादन गरिएको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले बताए। 

तालिममा सहभागी छाँयानाथ रारानगरापालिका—८ झयारीगाउँका दानबहादुर रावलले व्यवसायिक रुपमा नेचर गाइडको पेशा अँगाल्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.