|

काठमाडौं : दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ।

मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक/दुई दिन रहने सम्भावना छ। यसले मौसम पूर्णरूपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ।    

तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ।

अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ। अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ। उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ।    

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। काठमाडौंसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताइन्।

पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बितेका २४ घण्टामा देशैभर वर्षा भएको छ। सबैभन्दा धेरै डडेलधुरामा ५१.९ र दिपायलमा ४७.८ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा ६.४ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै, वीरेन्द्रनगरमा १२, दाङमा ११ मिलिमिटर वर्षा भएको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री र अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रहेको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.