|

तनहुँ : भानु नगरपालिकाको नगरसभाले केन्द्र सार्ने निर्णय गरेसँगै स्थानीय विरोधमा उत्रिएका छन्। नगरपालिकाको कार्यालय अन्यत्र नसार्न माग राख्दै १३ दिनदेखि कार्यालय र आसपास क्षेत्रका स्थानीय आन्दोलित भएका हुन्।

आफ्नो कार्यालयमा नगरी डुम्रे-भन्सार नयाँ सहरी आयोजनाको कार्यालयमा सार्ने निर्णय गरिएको भन्दै आन्दोलित भानुवासी विरोध गरेका हुन्। आन्दोलित नगरवासीले वार्ता समिति गठन गरेर अगाडि बढे पनि वार्ता सफल हुन नसकेको स्थानीय बताउँछन्। सहदेव अधिकारीको अध्यक्षतामा वार्ता समिति समेत गठन गरिएको छ। 

हाल रहेको भानु नगरपालिकाको कार्यालय अगाडि पट्टिको भागमा स्थानीयले ५० रोपनी सार्वजानिक जग्गा उपलब्ध गराउने निर्णय गरेको वार्ता समितिका अध्यक्ष अधिकारीले बताए। उनका अनुसार कार्यालयका लागि आवश्यक परेको खण्डमा थप जग्गा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्। तर कार्यालय सार्न नहुने स्थानीयवासीको माग रहेको उनको भनाई छ।

आन्दोलनरत पक्षले  छैठौं नगर सभाबाट कार्यालय सार्न गरिएको निर्णय समेत बदर गर्न माग गर्दै विहान कार्यालय समय अवधिभर धर्ना, नारा, जुलुस दिएका छन्। 
संघर्ष समितिका संयोजक भक्तबहादुर कुँवरले भानु २ फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय त्यही यथावत राख्नुपर्ने माग गरेको बताए। हाल कार्यालय भएको ठाउँ भानुवासीका लागि पायक पर्ने भएकोले उक्त कार्यालयलाई अन्यत्र सार्न नदिने चेतावनी कुँवरले दिए।

साविक भानु र बरभञ्ज्याङ गाविसको पायक पर्ने गरी पुरानै गाविस रहेको भवनमा नगरपालिकाको कार्यालय राखिएको उनको भनाई छ। पछि पुर्कोट, बसन्तपुर, रुपाकोट, चोकचिसापानी, मिर्लुङ गाविस त्यसमा समायोजन भएको कुवँरले बताए। 

‘बन्द कोठाभित्र बसेर झुक्याएर नगरपालिका सार्न गरिएको निर्णय हामीलाई मान्य हुँदैन,’ उनले भने, ‘तालिममा सहभागी भएका नगरवासीलाई हस्ताक्षर गराएर नगरपालिकाको कार्यालय सार्ने निर्णय गरिएको रहेछ। त्यो हामीलाई मान्य छैन।’ भानु नगरपालिका ५ निवासी नहकुल अधिकारी अवैधानिक तरिकाले निर्णय भएकोले खारेज गर्नुपर्ने माग राखेको बताए।

नगरपालिकाको छैठौं नगर सभाले नगरपालिकाको कार्यालय भानु नगरपालिका १ डुम्रे वेशीशहर मार्ग वरपरको क्षेत्रमा सार्न उपयुक्त हुने निर्णय गरे पनि कुन ठाउँ भन्ने एकिन गरिसकेको छैन। अन्योल अवस्थामा नगरपालिकाको भवन सारिरहनु भन्दा अहिलेकै ठाउँमा उपयुक्त रहने भन्दै भानु २ नम्बर वडावासी आन्दोलनमा उत्रेका हुन्।

हचुवाको भरमा नगरपालिकाको भवन अन्यत्र सारिए थप आन्दोलन चर्काउने चेतावनी स्थानीयले दिएका छन्। भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले वार्ताको माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताए। नगर प्रमुख गौलीले सबै क्षेत्रलाई सहज बनाउने उद्देश्यले यो निर्णय गरिएको बताए।

भानु नगरपालिका १ डुम्रे वेशीशहर मार्ग वरपरको क्षेत्रमा सार्न उपयुक्त हुने भएपछि यो निर्णय गरिएको उनको भनाई छ। ‘सबै नगरवासीलाई सहज हुने गरी कार्यालय सार्ने निर्णय गरिएको हो। फुस्रेटारमा कार्यालय राखिँदा यातायातको समस्या हुने र धेरैजसो नगरवासीलाई समस्या छ। त्यसलाई सहज हुने भानु नगरपालिका १ डुम्रे वेशीशहर मार्ग वरपरको क्षेत्रमा सार्न उपयुक्त हुने ठानिएको हो,’ उनले भने।

आन्दोलन छोडेर आए हामी वार्ताद्वारा समस्याको समाधान निकाल्न नगरपालिकाले सूचना नै जारी गरी वार्तामा आउन आग्रह गरिएको उनले बताए। दिनहुँ जसो हुने आन्दोलनले गर्दा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआउने भएपछि नगरवासीको काम समेत प्रभावित भएको छ।

माघ २३ गतेको नगर कार्यपालिकाको छैठौं नगर सभाले फुस्रेटारमा रहेको कार्यालय भवन सुविधा जनक नभएको र नगरपालिकाको आफ्नो निजी जग्गा नभएको तथा नगरपालिकाको आफ्नै जग्गामा कार्यालय भवनलगायत नयाँ संरचना बनाउने स्थान समेत नभएको, सबै वडाका नागरिकलाई आवतजावत गर्न पनि असहज भएकोले डुम्रे-वेशीशहर राजमार्गको आसपासको क्षेत्रको उपयुक्त स्थानमा कार्यालय सार्ने निर्णय गरेको थियो।

साथै निर्णयमा डुम्रे-भन्सार नयाँ सहरी आयोजनाको एकीकृत सरकारी भवनमा नगरपालिकाको कार्यालय सञ्चालन गर्नुका साथै उक्त भवन नगरपालिकालाई हस्तान्तरण गर्न शहरी विकास मन्त्रालयमा लेखी पठाउने निर्णय समेत गरिएको थियो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद २ दफा ४ को उपदफा ३ बमोजिम दुई तिहाई बहुमतले पारित गरेको हुँदा उक्त प्रस्ताव प्रदेश सरकारमार्फत नेपाल सरकारलाई पठाउने निर्णय गरिएको छ। उक्त निर्णयले नगरसभा विवादित बन्न पुगेको छ।

वडा नम्बर २ का वडा अध्यक्ष अर्जुनबहादुर केसीले गण्डकी प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरी प्रदेश सरकार स्थानीय तहको सभा सञ्चालन सम्बन्धी (कार्यविधि) ऐनले सभाको अधिवेशन कार्यपालिका केन्द्र रहेको स्थानमा अध्यक्षले तोके बमोजिम बस्नेछ भन्ने प्रष्ट व्यवस्था भएको भए पनि ऐनविपरित सभा गरिएको बताए।

भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले विकास निर्माणको काम गर्ने अधिकार स्थानीय सरकारलाई दिएको तर केन्द्र सार्ने अधिकार नदिएको बताइन्। उनले नगर सभामा उपस्थित नभएकाले अन्य विषयमा जानकार नभएको थापाले पनि बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.