एउटै पुस्तकमा ४० प्रतिशत नाफा खानेले कर तिर्न नमानेको गुनासो

|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तक विक्रीमा लगाइएको कर जायज भएको बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो भनेका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री खतिवडाले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण गर्न कर लगाएको स्पष्ट पारे। 

'राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाइएको हो', उनले भने, 'पुस्तक विक्रीमा धेरै मुलुकले मूल्य अभिवृद्धि कर लगाउने गरेको छ। त्यो कर  १८ प्रतिशतसम्म छ। अर्बौँ रुपैयाँ लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर लगाएकाले पुस्तकमा लगाइएको कर जायज छ।'

खतिवडाले पुस्तकको विक्री व्यापार भएकाले सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम नफैलाउ पनि सचेत गराए। 'पुस्तकको व्यापार हो, ज्ञानको व्यापार होइन ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौँ', उनले भने। 

खतिवडाले एउटा पुस्तकमा ३०-४० प्रतिशतसम्म नाफा खाने गरेको बताए। 'एउटै पुस्तकमा ३०/४० प्रतिशतसम्म नाफा खानेहरुले सरकारलाई १० प्रतिशत कर दिन नमान्‍ने प्रवृत्ति गलत हो', उनले भने, 'नाफामा कर लगाइएको हो, ज्ञानमा कर लगाइएको होइन।'

सरकारका प्रवक्तासमेत रहेका खतिवडाले व्यापार गरेर नाफा धेरै कमाएपछि कर उठाइने बताए। 'कर लगाएपछि पुस्तक नै बिकेनन् भनेर हल्ला गरिएको छ', उनले भने,  'कर छलेर ल्याएको पुस्तक समात्दा ज्ञान पक्रिइयो भन्‍ने गरिएको आरोपमा सत्यता छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.