कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का २१ वर्षीय सुरेन्द्र साउदले आर्थिक अभावका कारण उपचार पाउन सकेका छैनन्। मस्तिष्कक्षय रोगबाट पीडित भएका साउद उपचारका लागि आर्थिक अभाव भएपछि घरमै थला परेका छन्।
दुई महिना अघि बिरामी परेका साउदले घरमा उपलब्ध रकम र आफन्तबाट ऋण लिई उपचार गराएपनि निको हुन सकेका छैनन्। एक्कासी बिरामी भएपछि भारतको उत्तरप्रदेशको भोजिपुरामा रहेको रामूर्ति अस्पतालमा उपचार गराउँदा चिकित्सकले मस्तीष्कक्षय रोग रहेको जानकारी दिए।
साउदका बुवा पदम सिंह साउदले भने, ‘भए भरको सबै रकम उपचारमा सिध्याए, आफन्तबाट कर्जा लिएको रकम समेत सकियो।
उपचार गराउन तीन लाख रूपैयाँ रकम चिकित्सकले जुटाउन भनेका थिए, त्यो रकम जुटाउन नसक्दा घरमै राख्नु परेको छ।’ उपचार गर्ने पैसा नभएपछि घरमै निको हुने विश्वासमा झारफुक गर्न लागेको उनले बताए।
साउद परिवारको सम्पतीका रुपमा पाँच धुर जग्गा र त्यसमा बनेको एक मात्रै कच्ची घर रहेको छ। घरको कमाउने जेठो छोरा बिरामी भई थला परेपछि परिवारको खर्च चलाउन समेत मुस्किल भएको छ।
'उपचार गरे स्वस्थ हुन सक्ने चिकित्सकले बताएका थिए,' साउदकी श्रीमती मञ्जु साउदले भनिन्, ‘कुनै पनि निकायबाट रकम जुटाउन सकिएको छैन, उपचार नपाएर श्रीमानलाई घरमै राख्नु परेको छ।’
उपचारको अभावमा श्रीमान मृत्युसँग संघर्ष गर्दै आएका छोराहरु सानै हुँदा घर खर्च चलाउन समेत मुश्किल परेको उल्लेख गर्दै मञ्जुले भनिन्, ‘उपचार गरे श्रीमानलाई निको हुने चिकित्सकले बताएकाले आवश्यक सहयोग गरिदिन दाताहरूलाई आग्रह गर्दछु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।