सगरमाथा संवाद पनि रोकियो, अब भ्रमण वर्ष २०२२ मा

|

काठमाडौं : चीनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएर महामारीको रुप लिन थालेपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। 

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जारी भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

चीनको वुहानबाट सुरु भएको मान्छेबाट मान्छेमा तीव्र गतिमा सर्ने कोरोना भाइरस (कोभिड-१९) विश्वका ४५ भन्दा धेरै मुलुकमा फैलिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले २० लाख पर्यटक ल्याउने गरी थालेको पर्यटन वर्ष २०२० स्थगित गरेको हो।

जनवरी १ का दिन एक भव्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भ्रमण वर्ष ठ्याक्कै २ महिनापछि स्थगित भएको हो।

कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न सरकारले विशेष तयारी थाल्ने भएको छ। त्यसकै कारण सन् २०२२ मा आयोजना गर्ने गरी यो सालको भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले नै  गरेको स्रोतले जानकारी दिएको छ। 

भ्रमण वर्ष स्थगित भएकोबारे औपचारिक जानकारी आगामी बिहीबार प्रवक्ता डा. युवराज खतिवडाले गराउनेछन्। त्यसैगरी भ्रमण वर्ष सचिवालयले पनि यसबारेमा जानकारी गराउनेछ।

सगरमाथा संवाद पनि रोकियो

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय समुदाय सहभागी गराएर गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ स्थगित गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको चन्द्रागिरिमा गर्ने भनिएको सगरमाथा संवाद स्थगित गर्ने निर्णय लिएको एक मन्त्रीले जानकारी दिएका छन्। 

कोरोना भाइरसले विकराल रुप लिइरहेका बेला आइतवार दिउँसो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथा संवाद सचिवालयका पदाधिकारीसँग छलफल गरेका थिए।

सरकारले आगामी २० चैतदेखि २२ गतेसम्म चन्द्रागिरिमा सगरमाथा संवाद गर्न लागेको थियो। यस कार्यक्रममा एक सय ५० विदेशीसहित कूटनीतिज्ञसहित २ सय ५० जना प्रतिनिधिलाई बोलाइएको थियो।

पर्यटन मन्त्रालयको निर्णय

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट भ्रमण वर्षका क्रमा यही मार्चभरी देश विदेशमा गरिने प्रचारका कार्यक्रम स्थगित गर्ने निर्णय लिएको थियो।

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायबाट गर्नुपर्ने रोकथाम तथा पूर्वतयारीबारे बसेको बैठकले उक्त निर्णय लिएको थियो। 

उक्त बैठकले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि चालिने तत्कालीन नीति तथा कार्यक्रमबारे नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयलाई एक साताभित्र संक्षिप्त प्रतिवेदन पेश गर्न भनेको छ।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष प्रचार प्रसारका सबै कार्यक्रम रोकिएको जानकारी शनिबार दिएका थिए। कोरोना फैलिरहेकै बेला सरकारले नेपाल कोरोना भाइरसमुक्त भन्दै प्रचारको निर्णय लिएका बेला आलोचना भएको  थियो। तर अब नेपाल भ्रमण वर्षका सबै कार्यक्रम नै स्थगित गर्ने निर्णयमा सरकार पुगेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.