|

जनकपुरधाम : घुमुवा प्रहरीले महिलालाई दुर्व्यवहार गरेको भन्दै युवाको एउटा समूहले जनकपुरस्थित पिडारी चोकमा सडक अवरुद्ध पारेको छ। युवाले सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका हुन्।

उनीहरूले घुमुवा प्रहरी गाडी किन्न आएको भन्दै जनकपुरधाम उपमहानगरपालिका-९ की नेमकुमारी पासवानलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन्। दुर्व्यववहार गर्ने घुमुवा प्रहरी जितेन्द्र यादव रहेको र उनीमाथि कारबाहीको माग गर्दै उनीहरू करिब आधा घण्टा चक्का जाम गरेका थिए। पछि त्यहाँ पुगेका प्रहरीले दुर्व्यवहार भएको हो भने कारबाही हुने आश्वासन दिँदै छलफलका लागि जिल्ला प्रहरी कार्यालय हिँड्न भनेपछि युवा अवरुद्ध पारेको सडक खोलेका छन्।

स्थानीय जितेन्द्र पासवानले आफ्नो घर पुगेर घुमुवा प्रहरीले आमालाई दुर्व्यहार गरेको दावी गरे। उनले भने, ‘घटना विषयमा एसपीलाई भनेपछि आफूलाई थाहा नै नभएको जवाफ दिनुभयो। प्रदेशका डिआइजीले व्यस्त रहेको भन्दै कुरा गर्न चाहनु भएन। त्यसपछि बाध्य भएर सडक अवरुद्ध गर्‍यौँ।’

‘घर पुगेका घुमुवा प्रहरीहरुले सुरुमा गाडी बेच्ने हो भनेर सोधेका थिए’, उनले भने, ‘मेरी आमाले नबेच्ने भन्दा उनीहरू फर्किए। तर पुनः ५/६ जना पुगेर आमालाई जर्वजस्ती गाडीमा राखेर दुर्व्यवहार गरे।’ घुमुवा प्रहरीले नियन्त्रणमा लिएको भारतीय गाडीको भन्सार तिरेको छैन भने जरिवाना लिन सक्छन् तर दुर्व्यवहार किन गर्नुपर्‍यो भन्दै उनले प्रश्‍न गरे।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादवले भन्सार नतिरेर राखेको भारतीय गाडी (नम्बर नखुलेको) प्रदेश प्रहरी कार्यालयको सादा पोशाकको टोलीले नियन्त्रणमा लिएको बताए। उनले नियन्त्रणमा लिएर उक्त गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकेको समेत बताए।

उनले गाडी नियन्त्रणमा लिएपछि महिलालाई दुर्व्यवहार भएको भन्ने गलत आरोप लगाएको दावी गरे। उनले प्रहरीले अवरुद्ध सडक खुलाएको भन्दै उनीहरूसँग छलफल नगर्ने समेत बताए। भने, ‘भन्सार नतिरेको हो कि चोरीको गाडी हो। भन्सारले अनुसन्धान गर्छ। त्यहीबमोजिम आवश्यक कारबाही गरिनेछ।’

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन अलपत्र परेको थियो। अवरोध खुलेपछि रोकिएका सवारी साधन आआफ्नो गन्तव्यतिर लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.