|

पाँचथर : रमिते भ्यू टावर फिदिम नगर पालिका २ स्थित रमिते डाँडामा छ । टावरको निर्माण भर्खरै सम्पन्न भएको हो । दुई तले सानो, चिटिक्कको भ्यू टावर नयाँ सहर आयोजनाको तीन करोड नौ लाख रुपैयाँ लागतमा बनेको हो ! यो ठाउँ घुम्‍नका लागि त रमिते नाम नै काफी छ।

सदरमुकाम फिदिम बजारदेखि नौ किलोमिटर दुरीमा रहेको रमिते डाँडा निकै मनमोहक छ। शीतल र स्वच्छ हावाको स्पर्श लिँदै दृष्यावलोकन गर्दा हरेक यायावरले आनन्दको गन्तव्य भेटेको महशुस गर्न सक्छन्‌। ताजा (रिफ्रेस) हुन, रम्न–रमाउनेहरूका लागि स्वदेशमै रहेको निकै उपयुक्त गन्तव्यका रूपमा रमिते डाँडाले पहिचान कायम गरिसकेको छ। यी विशेषताका कारण नै रमिते भ्यू टावरमा आन्तरिक पर्यटकको घुँइचो दिनहुँ लाग्छ। 

दृष्यावलोकनका लागि उपयुक्त टावरबाट वरिपरि डाँडाकाडाले घेरिएको, बीचको समतल भू–भागमा बसेको, एक किसिमले मिनी उपत्यकाको झल्को दिने पाँचथर सदरमुकाम फिदिम बजारको सुन्दर दृष्य देखिन्‍छ। सँगै देखिन्छ छिमेकी जिल्ला तेह्रथुम सदरमुकाम म्याङलुङ बजार र ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार।

‘एकै स्थानबाट तीन जिल्लाको सदरमुकाम नियाल्न सकिने सम्भवतः यो नेपालकै एकमात्र स्थान हुनसक्छ’ फिदिम २ का वडाअध्यक्ष सुकपाल तुम्बापोले भने।

पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानको दृष्यावलोकन गर्न सकिन्छ– रमिते भ्यू टावरबाट। टावरबाट देखिने हिमालको दृष्यले धेरैको मन लोभ्याउछ। विश्वको सर्बोच्च शिखर सगरमाथा, कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमश्रृङ्खला हेर्न सकिन्छ।

‘एकैछिनमा पुगिने, गज्जबले रिफ्रेस भइने, निकै रमाइलो ठाउँ छ यो’ रमितेको रमाइलोमा भेटिएकी फिदिमकी मोडल सुक्मिता केरुङले भनिन्, ‘कुनै बेला त हप्तामै दुई, तीनपल्टसम्म आइन्छ।’

फुर्सद भयो कि रमिते पुगिहाल्छिन् सञ्चारकर्मी सम्झना योङहाङ। ‘मलाई त रमितेको वातावरण नै सारै रमाइलो लाग्छ,’ उनले भनिन्‌, ‘बजारको भीडभाड र हल्लाखल्लासँग थोरै समय भए पनि भाग्न साथीभाईसँग रमिते आउँछु।’ रमितेलाई अब्बल पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न भ्यू टावर निर्माण गरिएको हो।

छ रोपनी क्षेत्रफलमा फैलिएको भ्यू टावर परिसरमा चमेनागृह, ग्यालरी हाउस, बगैंचा, हावाघर, पोखरी र बगैंचा लगायत संरचना तयार गरिएको छ। भ्यू टावर निर्माणका लागि बुद्धराज लिम्बू, धनबहादुर राई र रामबहादुर तुम्बापोले जग्गा उपलब्ध गराएका हुन्।

भ्यू टावरदेखि लालीखर्क सामुदायिक होमस्टे क्षेत्र हुँदै राष्ट्रिय विभूति फाल्गुनन्दको कर्मभूमि लब्रेकुटी जोड्ने सिढीमार्गको निर्माण कार्य थालिएको छ। भ्यू टावरदेखि सदरमुकाम फिदिम बजार जोड्ने सिढीमार्ग पनि निर्माण गरिने फिदिम नगरपालिकाले जनाएको छ। 

दैनिक दर्जनौं आन्तरिक पर्यटक भ्यू टावर पुग्ने गरेका छन्। धार्मिक पर्यटकीय पदमार्गको रुपमा बिकास गर्न लागिएको इलामको गजुरमुखीदेखि–पाँचथरको लब्रेकुटी सम्मको फाल्गुनन्द सर्किटसँग जोड्ने गरी सिढिमार्ग निर्माण थालिएको फिदिम नगरपालिकाले जनाएको छ।

सिढीमार्ग निर्माण कार्य सम्पन्न भएसँगै रमितेमा  पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.