प्रवक्ता भन्छन् : अध्यक्षद्वय र महासचिवले मिलाउलान्

|
फाइल फोटो

काठमाडौँः माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटी बैठकबाट ऊर्जा थपेर निस्किएका नेताहरु पुन: निराश हुने अवस्थामा पुगेका छन्। बैठकपछि नेताहरुले नयाँ उत्साह र ऊर्जा सञ्चार भएको बताएका थिए। तर नेतृत्वमा पुरानै रोग देखिएपछि बैठकले देखाएको आशा निराशमा बद्लिने अवस्था देखिएको छ। 

नेकपाले आफ्नो परम्परागत कार्यशौलीलाई नै निरन्तरता दिँदा गाउँसम्म चलायमान हुनुपर्ने पार्टी पंक्ति बालुवाटार, खुमलटार र कोटेश्‍वरतिर रुमल्लिएको छ। पेरिसडाँडा र धुम्बाराहीस्थित केन्द्रीय कार्यालय सुनसान बन्द शीर्ष नेताका निवासतिर गुटगत भेला र चहलपहल बढेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको मनमुटाव सतहमै आउँदा त्यसको असर पार्टी पंक्तिमा परेको छ। उपाध्यक्ष वामदेव गौमतलाई लिएर भएको शक्ति संघर्षको असर पछिल्लो समय नेकपामा नराम्ररी देखिएको छ।  

चार दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकपछि नेकपा नेताहरुले धेरै गल्ती भएको स्वीकार्दै त्यसलाई सुधारेर अघि बढ्ने वाचा गरेका थिए। केन्द्रीय कमिटीमा भएका छलफलबाट उठेका कुरालाई शीरोधार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएको शीर्ष नेतृत्वमा उही पुरानै रोग देखिएको हो। 

बैठकमा केन्द्रीय सदस्यहरुले सरकार र पार्टीको गतिविधि सन्तोषजनक नभएको भन्दै चर्को ओलोचना गरेका थिए। केन्द्रीय सदस्यको विरोधपछि शीर्ष नेताहरुले सरकार र पार्टीको कार्यदिशा तत्कालै परिवर्तन गर्ने प्रण गरे। फलतः निष्कर्षमा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पार्टीले नयाँ ऊर्जा र बाटो पहिल्याएको जिकिर गरिरहे। 

पार्टी एकता भएको दुई वर्ष पुग्‍न लाग्दासमेत पार्टी एकता प्रक्रिया टुंगोमा पुर्‍याउन नसक्नु कमजोरी भएको प्रवक्ता श्रेष्ठ स्वीकार गर्छन्। 

‘पार्टी स्थायी कमिटीको बैठकपछि पनि १५ दिनमा टुंगोमा पुर्‍याउने निर्णय गरेको हो। त्यसलाई आत्मलोचना गर्दै केन्द्रीय कमिटीको बैठकबाट पनि १५ दिनभित्र सक्ने निर्णय गरेका थियौँ’, उनले थाहाखबरसँगको कुराकानीमा भने, ‘पछिल्लो समयमा प्रधानमन्त्रीको स्वास्थ्यका कारणले पनि ढिलाइ भएको छ।’

बैठकमा केन्द्रीय सदस्यहरुले सरकार र पार्टीको गतिविधि सन्तोषजनक नभएको भन्दै चौतर्फि ओलोचना गरे। केन्द्रीय सदस्यको विरोधन पछि शिर्ष नेताहरुले सरकार र पार्टीको कार्यदिशा तत्कालै परिवर्तन गर्ने प्रण गरे। फलतः निष्कर्षमा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पार्टीले नयाँ उर्जा र बाटो पहिल्याएको जिकिर गरिरह्य। 

‘पार्टी एकताको काम टुंगोमा पुर्‍याउने मुख्य जिम्मेवारी पार्टी अध्यक्षद्वय र महासचिवको हो। तर, ढिलाइ हुनुको यही कारण हो भन्‍ने हामीसम्म पनि आइपुगेको छैन,’ उनले भने। 

एकता नसकिँदा पार्टीको पछिल्लो गतिविधि प्रभावित भएको छ। प्रधानमन्त्री ओली अस्पताल गएपछि पार्टीका काम पनि सुस्ताएको प्रवक्ता श्रेष्ठ स्वीकार गर्छन्। 'पार्टी एकताको बाँकी काम मात्रै नभएर अन्य गतिविधि पनि सुस्ताएका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारणले हो जस्तो लाग्छ मलाई’, उनले भने। 

पार्टी एकता प्रक्रिया टुंगोमा पुर्या‍उन ढिलाई भएको नेकपा संसदीय दलका उपनेत सुवसचन्द्र नेम्वाङ पनि स्वीकार गर्छन्। 

‘पार्टी एकता भएको दुई वर्ष पुग्‍नै लाग्दा एकता प्रक्रिया टुंगोमा पुर्‍याउन नसक्नु कमजोरी हो’ उनले भने, ‘तर, स्थायी कमिटीको बैठकले तोकेको समयमा पनि टुंगोमा पुर्‍याउन सकिएन। केन्द्रीय कमिटी बैठकले तय गरेको १५ दिनको मिति सकिएको पनि महिना नाघि सकेको छ।’

केन्द्रीय कमिटीको बैठकपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यकै कारणले एकता प्रक्रिया टुंगोमा पुर्‍याउन नसक्नुको मूल कारण भएको नेताहरु बताउँछन्।

‘१५ दिनको मिति तोकिएको थियो। त्यसैबीचमा प्रधानमन्त्री अस्पताल भर्ना हुनुभयो। अब केही समयमा टुंगिएला’, उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य र विश्‍वभर फैलिएको कोरोना भाइरसको असरले पनि एकता प्रक्रिया लम्बिएको हो।’    

के छ बाँकी काम? 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको करिब दुई वर्ष पुग्‍न लाग्यो। तर, पार्टी एकताको काम अझै टुंगोमा पुर्‍याउन सकिएको छैन। केन्द्रीय कमिटीको बैठकमा महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए। जसमा बाँकी काम १५ दिनमै सक्ने भनिएको थियो। तर, केन्द्रीय कमिटी सदस्य मनोनयन र पोलिटब्युरो गठनको काम अझै बाँकी छ। 

नेकपाले ३३ विभाग र २२ जनवर्गीय संगठनको नेतृत्व टुंगाए पनि विभाग र संगठनको सदस्य तोक्न सकेको छैन। ज्येष्ठ नागरिक कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगको नेतृत्व पनि टुंगोमा पुर्‍याउन सकेको छैन। 

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, अपाङ्गता संगठन नेपाल, खेलकुद महासंघ नेपाल, जनवर्गीय संगठनमा नेपाल उद्योगी व्यवसायी महासंघ, नेपाल दलित मुक्ति संगठन, नेपाल भूमिहीन सुकुम्बासी संगठन, पेशागत महासंघ नेपाल, अखिल नेपाल महिला संघ टुंगोमा पुर्‍याउन बाँकी छ। 

यस्तै, नेपाल बुद्धिजीवी संगठन, ट्रेड युनियन महासंघ नेपाल, प्रवासी नेपाली एकता मञ्च, प्रवासी नेपाली एकता मञ्च गठन, सम्पर्क मञ्चका जिल्ला र पालिका तहहरू गठन समेत अझै बाँकी छ। 

सदस्य संख्या यकिन छैन

नेकपाको पार्टी एकता भएको दुई बर्ष बित्नै लाग्दा समेत सदस्य संख्या निर्धारण गर्न सकेको छैन। तर, सदस्य संख्या यकिन नभए पनि सांगठानिक शुल्क भने निर्धारण गरिसकेको छ।

संगठित सदस्यहरुका लागि गत २०७५ जेठ महिनादेखि लागू हुनेगरी मासिक शुल्क २५ रुपैयाँ र साधारण सदस्य शुल्क मासिक १० रुपैयाँ कायम गर्ने निर्णय गरिसकेको छ। 

दुई अध्यक्ष रहेको देशकै ठूलो पार्टीको सचिवालय ९ जना सदस्य छन्। स्थायी कमिटीमा ४५ र केन्द्रीय कमिटीमा ४ सय ४५ जना सदस्य छन्। तर, पार्टीले सदस्यता शुल्क निर्धारण समेत गरिसक्दा पार्टीमित्र रहेका सांगठित सदस्यको अझै एकिन हुन सकेको छैन।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको असहमतिको कुरा अहिले सार्वजनीक रुपमै बाहिर आइरहेको छ। पार्टी नेताहरुले समेत प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पछिल्लो सयम दुरी बढेको स्विकार गरिरहेका छन्। 

कोरोना कारण

पार्टी एकताको बाँकी काम समयमै टुंगोमा पुर्‍याउन नसक्नुमा नेकपा नेताहरुले विश्‍वभर फैलिएको कोनोना भाइरसलाई कारण देखाउन थालेका छन्। नेकपा संसदीय दलका उपनेता नेम्वाङले पनि पार्टी एकताको बाँकी काम तत्कालै नसक्नुको कारण कोरोना भाइरसको महामारी पनि भएको प्रतिक्रिया दिए। 

तर, नेकपाले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान परिर्वतन गरेको यर्थाथ हो। चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि पार्टीको कार्यक्रम परिमार्जन गरेको महासचिव पौडेल बताउँछन्।  

‘कोरोना भाइरसको संक्रमण फैलन सक्ने भएकाले सरकारले ठूला भेला र जनसभा हाल नगर्ने आग्रह गरिसकेको छ। त्यसैले हामीले पार्टीको कार्यक्रम परिमार्जन गरेका हौँ’ उनले भने, ‘अब हामी कोरोना भाइरस कसरी संक्रमण हुन्छ। र, त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने जनचेनतामूलक कार्यक्रम चलाउनका लागि पार्टीभित्र निर्देशन दिइसकेको छौँ।’ 

पार्टी एकताको बाँकी काम टुंगोमा पुर्‍याउन पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र कोरोना भाइरसको प्रकोप पनि परेको उनले बताएका छन्। 

विवादमा फसेको आशंका

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको असहमतिको कुरा अहिले सार्वजनिक रुपमै बाहिर आइरहेको छ। पार्टी नेतालेसमेत प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पछिल्लो सयम दुरी बढेको स्वीकार गरिरहेका छन्। 

यद्यपि, पार्टी एकताको काम सक्न नपाउदै ओली र दाहालबीच दुरी बढेकै कारणले पार्टी एकताका काम अघि बढ्न नसकेको त होइन भन्‍ने टिप्पणीसमेत बाहिरिन थालेको छ। 

नेकपाभित्र पछिल्लो समय लयबद्ध रुपमा विवाद भइरहेका छ। सभामुख चयन, अमेरिकी परियोजना एमसिसी, बामदेव गौतमलाई राष्टियसभामा लाने बिषय, निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनको अडियो प्रकरण, संविधान संशोधनलगायतको बिषयमा नेकपाभित्र विवाद देखियो, अझै पनि केही विवाद रोकिएको छैन।

केन्द्रीय कमिटीको बैठकमा पनि पार्टी गुट-उपगुट मौलाएको, नेताहरुको अवैध सम्पत्ति, पार्टीको आगामी रणनीति, विधानअनुसारको चल्ने प्रणालीलगायतमा विषयमा तीव्र रुपमा विवाद भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.