भक्तपुर : जिल्लाको सूर्यविनायक नगरपालिका–९ नंखेलमा गत फागुन ३० गते मृत फेला परेका ३२ वर्षीया पवित्रा व्यान्जुको मृत्यु आफ्नै श्रीमानको कुटाइबाट भएको रहस्य खुलेको छ। खाना पकाउने र खाने विषयमा भएको झगडामा श्रीमान ३३ वर्षीय राजन व्यान्जुको कुटाइबाट पवित्राको मृत्यु भएको प्रहरी अनुसन्धानमा खुल्न आएको हो।
पवित्रा आफ्नै दुईतल्ले घरको माथिल्लो तल्लामा नाकबाट रगत बगेको र शरीरका अन्य भागमा समेत चोटपटक भएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनालगत्तै महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा अनुसन्धान अधिकृतसहितको टोली छानबिनका लागि घटनास्थल पुगेको थियो। टोलीको अनुसन्धानको क्रममा पवित्राको मृत्यु उनकै श्रीमान राजनको कुटाइबाट भएको खुल्न आएको हो।
घटनालगत्तै राजनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा श्रीमान-श्रीमती दुवैले सँगै बसी मादक पदार्थ सेवन गरेको र खाना पकाउने र खाने विषयमा विवाद हुँदा राजनले श्रीमती पवित्रालाई लात्ती, मुक्का र दाउरासमेतले कुटपिट गर्दा मुत्यु भएको खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अघिकृत प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।
मृतकका दाजु अर्जुन भन्ने प्रेमबहादुर घर्तीसमेतको किटानी जाहेरी दरखास्तको आधारमा राजनलाई पक्राउ गरी कानूनबमोजिम अनुसन्धान कार्य भइरहेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।