|

काठमाडौं : कोरोना संक्रमणका दक्षिण एसियामा हालसम्म १५ जनाको ज्यान गएको छ। १३३७ जनामा संक्रमण भेटिएको छ। 

विश्वमा महामारीको रूप लिइरहेको कोरोना संक्रमणबारे ताजा तथ्याङ्क दिइरहेको वर्ल्डोमिटरका अनुसार दक्षिण एसियाली राष्ट्रहरूमध्ये भारतमा सबैभन्दा बढी सात जनाको मृत्यु भएको छ। भाइरस फैलिएपछि अहिलेसम्म भारतभर ३९६ जना संक्रमित पहिचान भएको छ।

संक्रमितको संख्या पाकिस्तानमा सबैभन्दा बढी ७७६ रहेको छ। त्यहाँ कोरोना संक्रमणका कारण पाँचजनाले ज्यान गुमाएका छन्‌। 

बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ। त्यहाँ कोरोना संक्रमित दुई जनाको ज्यान गएको छ भने २७ जना संक्रमित भेटिएका छन्‌। 

अफगानिस्तानमा संक्रमणका कारण एक जनाले ज्यान गुमाएका छन्‌ भने ४० जना संक्रमित भएका छन्‌। श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको छैन। अहिलेसम्म श्रीलङ्कामा ८२, माल्दिभ्समा १३, भुटानमा दुई र नेपालमा एक जना संक्रमित भेटिएका छन्‌। नेपालमा भेटिएका संक्रमित उपचारपछि घर फर्किसकेका छन्‌। यहाँ नयाँ संक्रमित भेटिएका छैनन्‌। 

भारतमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये २४ जनाको उपचार भइसकेको छ। पाकिस्तानमा १३, बंगलादेशमा तीन, अफगानिस्तानमा एक, श्रीलङ्कामा तीन, माल्दिभ्समा तीन जनाको उपचार भइसकेको छ। भुटान र नेपालमा संक्रमित भएका क्रमश: दुई र एकजनाको पनि उपचार भइसकेको छ। 

दक्षिण एसियाका आठ राष्ट्रहरूमध्ये भुटान र नेपालमा मात्र हालसम्म एकजना पनि उपचाररत संक्रमित छैनन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.