ताप्लेजुङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा आइतबार दिउँसो स्काभेटर मेशिन (डोजर) पल्टिँदा चालकको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ३ का २७ वर्षीय चित्रकुमार गुरुङको ज्यान गएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।
दोभान–ओलाङचुङगोला उत्तर–दक्षिण सडकअन्तर्गत लेलेपको स्काभेटर पल्टिएको हो। सडक खन्ने क्रममा माथिबाट झरेको ढुंगाले मेशिनमा लागेको र ढुंगासँगै पल्टिएको इलाडाँडाकी कविता लिम्बू शेर्पाले बताइन्। उनका अनुसार मेशिन फेदीखोला छेउमा पुगेको छ।
चालकको शव पुरिएको स्थानीयले बताए। घटनास्थलमा प्रहरी निरीक्षक विष्णुबहादुर खड्का नेतृत्वको टोली पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सदरमुकाम फुङलिङबाट ओलाङ्चुङगोलातर्फ जोड्ने सडक विस्तारको काम भइरहेको थियो। मानवीय बस्तीभन्दा एकान्तमा रहेको ठाउँमा निर्माण कार्य गरिएको थियो। सडक विस्तारको जिम्मा काठमाडौंको एलाइट कम्पनीले पाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।